२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नुवाकोटको मतगणना सकियो, ६ वटै पद गठबन्धनलाई

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेस सभा सदस्य निर्वाचनको मत गणना नुवाकोटमा सकिएको छ। जिल्लामा २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य गरी ६ पदको लागि निर्वाचन भएको थियो। निर्वाचित ६ जना नै सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ २६ हजार ५ सय ४८ मत सहित विजयी भएका छन्। उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)  का वद्री मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए।

यता निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन्। मूख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको अनुसार २८ हजार एक सय ७ मत प्राप्त गरी केसी विजयी भएका हुन्। उनको निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेकपा (माओवादी केन्द्र) की राधिका तामाङ विजयी भएकी छिन्। उनले १६ हजार १ सय ६९ मत प्राप्त गरी विजयी भएकी हुन्। उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का सुशील खड्काले ११ हजार ३ सय ५० मत प्राप्त गरेका थिए। क्षेत्र नम्बर १ कै (ख) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन्। महतले १३ जहार ७ सय २७ र उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का पूर्णलाल श्रेष्ठले ११ हजार ८ सय ३१ मत प्राप्त गरेका थिए।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को (क) मा नेकपा (माओवादी) केन्द्रका रामप्रसाद ढुंगाना निर्वाचित भएका छन्। ढुंगानाले १२ हजार १ सय १० र उनको निकटतम प्रष्पिर्धी नेकपा (एमाले) का केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए। निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ निर्वाचित भएका छन्। उनले १७ हजार २ सय ४९ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का विजयसिंह लामा तामाङले ९ हजार १ सय २४ मत प्राप्त गरेका हुन्।

विसं २०७४ सालमा सम्पन्न निर्वाचनमा बाम गठबन्धनले ६ वटै पदमा विजयी हासिल गरेको थियो। नेपाली कांग्रेसले हार व्यहोर्‍यो। यस निर्वाचनमा ६ वटै पदमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु विजयी हुँदा नेकपा (एमाले) पराजय हुन पुगेको छ।

प्रकाशित: १० मंसिर २०७९ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App