३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस कार्यसमिति फेसबुक लाइभमा: बहस होला त नेतृत्वप्रतिका प्रश्न र असन्तुष्टिहरूमा ?

नेपाली काँग्रेसले करिब एक वर्ष पछि हुन लागेको केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रसारण गरिरहेको छ। त्यो पनि फेसबुक पेजबाट। सामाजिक सञ्जालबाट किन बैठकको प्रत्यक्ष प्रसारण गरियो ? फेसबुक पेजमा केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्दैमा पार्टी भित्रका वर्षौँदेखिका समस्या र असन्तुष्टिहरू हल होलान् त ?  

पार्टी सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) को पदाधिकारी बैठकमा फेसबुक लाइभ गर्ने प्रस्ताव पेस गरेका थिए। त्यही अनुसार आज (मङ्गलवार) पार्टी केन्द्रीय कार्यालयबाट दिउँसो १ बजेदेखि बैठकको प्रत्यक्ष प्रसारण सुरु गर्ने भनिएको हो। तर बैठकको प्रत्यक्ष प्रसारण २ बजेबाट मात्र सुरु भयो।

केन्द्रिय कार्यसमिति बैठकको प्रत्यक्ष प्रसारण आवश्यक थियो त ? कि पार्टी भित्रका असन्तुष्ट पक्षलाई व्यङ्ग्य गर्न सभापति देउवाले यो सब गरेका त होइनन् वा सभापति देउवाले आफू असन्तुष्ट पक्षका सबै प्रश्नहरूको जवाफ दिन तयार रहेको सन्देश त दिएका होइनन् पार्टी नेतृत्वप्रतिको असन्तुष्टि नेपाली काँग्रेसको दीर्घ रोग हो। जसले नेतृत्व गरे पनि काँग्रेस भित्र एउटा खेमा र समूहले त्यसको विरोध गर्न सुरु गर्छ। 

यो काँग्रेसको परम्परा नै भइसकेको छ। फरक यत्ति हो, पहिले अलि थोरै विरोध हुन्थ्यो र असन्तुष्ट व्यक्त गरिन्थ्यो। अहिले धेरै विरोध हुन्छ र असन्तुष्टि धेरै र खुला रूपमा व्यक्त गरिन्छ। सायद सञ्चार माध्यमको पहुँचले पनि यस्तो देखिएको होला। तर यस्तो होइन। 

विगतमा राजनीतिक प्रतिस्पर्धा त्यति धेरै थिएन। त्यो चाहे पार्टी भित्र होस वा पार्टी बाहिर। तर अहिले पार्टी भित्र र बाहिर सबैतिर राजनीतिक दलहरू र दल भित्र पनि नेताहरूबिचको प्रतिस्पर्धा चुलिएको छ। यसले गर्दा पनि प्रतिस्पर्धामा खरो उत्रिन नसक्ने नेतृत्वको विरोध व्यापक भइरहेको छ। राजनीतिक क्षेत्रमा मात्र होइन, सबै क्षेत्रमा यो देखिँदै छ। दलका नेतृत्व पङ्क्तिहरूको कार्यसम्पादन क्षमतामा प्रश्न उठिरहेको छ। उनीहरूप्रतिको असन्तुष्टि चुलिएको छ । दलका नेता, कार्यकर्ता र आम मतदाता समेत दलका नेतृत्वहरूप्रति असन्तुष्ट छन्। उनीहरूले नेतृत्वको क्षमता र कार्यसम्पादनमा प्रश्न उठाइरहेका छन्।

यस्ता असन्तुष्टि र प्रश्न प्रायः पुराना दलका नेतृत्वहरूमा अझ बढी देखिन्छ । काँग्रेस अलि लोकतान्त्रिक र उदार भएकाले होला यस भित्रका विरोध, असन्तुष्टि र प्रश्नहरू छरपस्ट हुन्छन् र छन् पनि। आम नागरिकमा तुरुन्त पुगिसक्छन्।

तर यस्तै विरोध, असन्तुष्टि र प्रश्नहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति, नेकपा माओवादी केन्द्र«का अध्यक्ष पुष्पकमल दाहालप्रति पनि छ। देउवाको तुलनामा यी दलका नेताहरुप्रतिको असन्तुष्टि अझ बढी होला। तर पार्टी अनुशासनका नाममा नेतृत्वहरू प्रति उठेका विरोधका स्वर, असन्तुष्टि र प्रश्नहरू दबाउने प्रयास तुलनात्मक रूपमा यी दुई दलमा बढी देखिन्छ। त्यसैले गर्दा अरू दलको तुलनामा काँग्रेस र काँग्रेसीहरूका समस्याहरू बढी छताछुल्ल भइरहेका हुन्छन्।

नेपाली काँग्रेस भित्र अहिले पनि डा.शेखर कोइराला इतरका भनेर चिनिने महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टी नेतृत्वप्रति असन्तुष्ट व्यक्त गरिरहेका छन्। पार्टी नेतृत्व र इतर पक्षका नेताहरूप्रति यो समूह सधैँ असन्तुष्ट छ। 

पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा गएका आफ्नै दलका प्रतिनिधिहरूको कार्य सम्पादनमा पनि यो खेमाले पटक–पटक विरोध र असन्तुष्टि जनाउँदै आएको छ। चाहे त्यो सार्वजनिक कार्यक्रममा होस वा संसद्मा। सङ्गठनको नेतृत्व, विस्तार र परिचालनमा पार्टी नेतृत्व देउवा असफल भएको आरोप पनि उनीहरूले बेलाबेलामा लगाउँदै आएका छन्।

हेरौँ, काँग्रेस भित्रका यावत समस्या र असन्तुष्टिहरूको सम्बोधन गर्न यो प्रत्यक्ष प्रसारण भइरहेको कार्यसमिति बैठक सफल हुन्छ की हुँदैनरु केही दिनमै यसको उत्तर आउनेछ। यसको जवाफ फेरी पनि तिनै असन्तुष्ट नेताहरूले नै दिनेछन्।

असन्तुष्ट पक्षको पटक–पटकको अनुरोध र दबाब पछि मात्र देउवा केन्द्रीय कार्य समिति बैठक ढाक्न सहमत  भएका हुन। यसका लागि काँग्रेसका महामन्त्रीद्घयले अथक प्रयास नगरेका होइनन्। करिब एक वर्ष पछि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न पदाधिकारी बैठकले हिजो (सोमबार) १० बुँदे कार्यसूची तयार पारेको थियो। पदाधिकारी बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्य योजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ।

त्यस्तै विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरेको छ।

प्रकाशित: २ श्रावण २०८० ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App