१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

यो लज्जाबोध नभएको सरकार हो, यसले राष्ट्रघाती काम गर्छ: ओली

बागलुङमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर: संगम/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लज्जाबोध नभएको सरकार भएको आरोप लगाएका छन्। पुस्पला मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट—चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा—२०८० को बागलुङमा आयोजना गरिएको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिलो चौमासिकमै कर्मचारीलाई तलब खुवाउन ऋण उठाउनुपर्ने लाचार अवस्थामा सरकार पुगेको बताए।

‘सरकारसँग सबैभन्दा धेरै राजस्व संकलन भएर बसेको हुन्छ, त्यस्तो अवस्थामा पनि आन्तरिक ऋण उठाएर, कर्मचारीलाई तलब खुवाउनु परेको छ, प्रशासन चलाउन ऋण लिन परेको छ, त्यही पनि शिक्षक, प्रहरीको तलब दिन बाँकी छ,’ ओलीले भने, ‘यस्तो सरकारबाट के अपेक्षा राख्न सकिन्छ। त्यही पनि सरकार हुम भनेर बसेको छ। यो लज्जाबोध नभएको सरकार हो। राजीनामा दिएर घर जानुपर्ने सरकार हो।’ वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता कमजोर पारेको समेत बताए।

‘यसले राष्ट्रघाती काम गर्छ, यसले देशको इज्जत समाप्त पार्छ, स्वाधीनता कमजोर पार्छ, स्वतन्त्रताको प्रयोग गर्न सक्दैन, राष्ट्रहितको रक्षा गर्न सक्दैन, भूमिको बारेमा बोल्न सक्दैन, एमालेको सरकारले सुरु गरेका विकास कामहरू ठप्प छ त्यही पनि यो सरकार सरकार चलिरहेको छ,’ उनले भने,‘ सरकार हुम भनेर बसिरहेको छ, चल्न त के चल्थ्यो र बसिरहेको छ।’ अर्थतन्त्र ध्वस्त भएर युवा पलायन हुने यो सरकारको असफलता भएको ओलीको कथन थियो। ‘अर्थतन्त्र ध्वस्त भएर युवा पलायन भइरहेको छ, देश कमजोर भएको छ, बैंक र ऋणीहरूको सम्बन्ध तनावपूर्ण छ। बैंक बचतकर्ताले बचत गरेपछि बलियो हुने हो, उद्योगी व्यवसायीले ऋण लिएर बैंक बलियो हुने हो। तर बैङ्कहरूले बुझेका छैनन् आफूहरूलाई साहु महानजन ठानेका छन्,’ उनले भने।

बैङ्कहरू चर्को व्याज लिएर नागरिकलाई मारमा पारेको उनका भनाइ छ। ‘कोभिडलाई कारण देखाइएको छ, तर अहिले कोभिड छैन, हाम्रो छिमेकी देशले गरिबी हटाइसक्यो, छोटो अवधिमा उसले प्रगति ग¥यो, भारतले नयाँ आर्थिक शक्तिको रुपमा अगाडि बढ्ने अवस्था छ,’ओलीले भने, ‘हामी बिचमा दक्षिण एसियाको सबैभन्दा करिब किटान भएका छौँ।’ नेपाल जस्तो प्रकृति र खानीले भरिपूर्ण देश गरिब हुनु सुहाउने कुरा नभएको उनले बताए।

‘दुई अढाई सय वर्ष राजतन्त्रले आफ्नो बाहेक सोच्न, राजतन्त्र जनताको व्यवस्था पनि होइन र जनताको बारेमा सोच्ने पनि भएन,’ओलीले भने, ‘२०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारले मात्रै नेपाल पनि विकास हुन्छ भन्ने अनुभूति दिलाउन सकेको हो।’ एमालेको सरकारले गाउँ गाउँमा विकासको लहर चलाएको उनको दाबी छ। ‘मनमोहनको सरकारले आफ्नो गाउँ आफै बनाउँ भनेर गाउँ गाउँमा विद्यालय स्वास्थ्यचौकी, बाटाघाटा अनेक बनायौँ, ज्येष्ठ नागरिक भत्ता सुरुवात ग¥यौं,’ ओली भन्छन्, ‘मेरो नेतृत्वमा एमालेको सरका बनेपछि पहिलो र दोस्रो कालमा एमालेको एकल सरकार थिएन। अरूका पनि कुरा मान्नुपर्थ्यो, हामीलाई खुट्टा तान्ने अवस्था थियो। त्यस्तो अवस्थामा पनि एमालेले विकास ग¥यो।’

ओलीले बेनी—मुस्ताङ कोरला नाका आफ्नो सरकारले खोलेको, मुस्ताङमा युरेनियमको अध्ययन गराउने र त्यसको सुरक्षा गर्ने काम सेनालाई जिम्मा लगाएको बताए। ‘पोखरामा नयाँ एयरपोर्ट बनायौँ, अहिले पोखरामा आउने टुरिस्टहरूको लर्को लाग्न चाहन्छ तर यो हुतिहार लुटे सरकारले पोखरा एयरपोर्टमा प्लेन उडानको अनुमति दिन सक्दैन,’ ओलीले भने,‘को रिसाउँछ भनेर बसेको छ, हाम्रोमा एयरपोर्ट चल्दा टुरिस्ट आउँछ कोही किन रिसाउँछ भन्ने किन वास्ता गर्ने?’

वर्तमान सरकार जनताका लागि नभई विदेशीका लागि कम्फर्टेबल सरकार भएको टिप्पणी ओलीले गरे। ‘रिसाउन पनि रिसाउँछ कि रिसाउँदैन थाहा छैन, तर रिसाउँछ भनेर बसेको छ, किनकि यो कम्फर्टेबल सरकार हो, जनताका लागि होइन विदेशीका लागि,’ उनले भने। कालीगण्डकी करिडोर, पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायतका महत्त्वपूर्ण विकासका कार्यक्रमहरू एमालेले अगाडि सारेको उनले दाबी गरे। नेपालको राष्ट्रियताको रक्षाका लागि एमाले पार्टी रहेको एमालेले देशको रक्षा गर्ने ओलीको दाबी थियो। ‘जनता अहिले आत्तिइहाल्नुपर्ने अवस्था छैन, यो देशमा नेकपा एमाले छ, एमालेले देश र राष्ट्रियताको रक्षा गर्छ,’ उनले भने, ‘त्यसका लागि एमालेको बहुमतको सरकार आवश्यक पर्छ। त्यसैले हामीले मिसन ८४ भनेका छौँ।’

एमालेले भूगोल राष्ट्रियतामा सत्ता स्वार्थसँग सम्झौता नगर्ने ओलीले बताए। उक्त अवसरमा एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले मध्यपहाडी लोकमार्ग कालोपत्रे हुनुपर्ने, अक्षेते गलकोट सुरुङमार्ग निर्माण, कालीगण्डकी करिडोर पश्चिम किनारबाटै निर्माण सम्पन्न हुनुपर्ने, धौलागिरि अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने, उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनालाई समयमै निर्माण गर्नुपर्ने विषयमा पहल गर्न एमाले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: २१ मंसिर २०८० ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App