१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

गाँजा र घरेलु रक्सीबाट आर्थिक उन्नति: मुख्यमन्त्री पाण्डे

तेस्रो जैमिनी महोत्सवलाई बागलुङ कुस्मीसेरामा सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डे। तस्बिर: संगम/नागरिक

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गाँजा र लोकल रक्सीलाई वैधानिकता दिने अन्तिम तयारीमा रहेको बताएका छन्। जिल्लाको जैमिनी नगरपालिकाको कुश्मीसेरामा सञ्चालित तेस्रो जैमिनी महोत्सवको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यही हिउँदे अविधेसनमा गाँजा र स्थनीय रक्सीलाई वैधानिकता दिने विद्येयक पारित गर्ने बताए।

‘अहिले गाउँगाउँमा बाँदरले खेतीपातीमा निकै हैरानी दिइरहेको छ, गाँजा खेती बाँदरले नष्ट पनि नगर्ने र औषधिको रुपमा पनि बहुउपयोग गर्न सकिने देखिएको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यसको दुरुपयोग हुन्छ कि भन्ने पनि चिन्ता छ। यसलाई केवल औषधि र उद्योगमा कच्चा पदार्थको रुपमा उपयोग गर्नेगरी कानुन निर्माण गरेर गाँजालाई वैधानिक बनाउँदैछौं। यही हिउँदे अधिवेसनमा यो काम हुन्छ।’

उनले स्थनीय  रक्सीलाई ब्राण्डिङ गर्ने र वैधानिक बनाउन कानुन पनि अन्तिम तयारीमा पुगेको बताए। ‘विशेषगरी जनजाति बाहुल्य रहेको क्षेत्रमा स्थनीय  रक्सी लुकेर बनाउने र खाने अवस्था छ। गाउँघरमा दिदी बहिनीको आर्थिक उपार्जनको पाटो पनि बनेको छ,’ उनी भन्छन्, ‘यसलाई पनि संसद्को यही अधिवेशनबाट टुंग्याएर अगाडि बढ्ने तयारीमा छौं। यी कुराले हाम्रो प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास गरेका छौं।’

उनले स्थानीय मदिरा बन्द गरेर गाउँघरका महिलाहरूको दुई पैसा आर्जन गर्ने माध्यम रोक्ने पक्षमा नरहेको उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले गाँजा र लोकल रक्सीलाई वैधानिकता दिँदा हुन सक्ने दुरुपयोग रोक्नका लागि कानुनी पाटो बलियो बनाउन लागेको समेत सुनाए।

मुख्यमन्त्री पाण्डेले पछिल्लो समय गाउँ गाउँमा भएको विकास निर्माणले बसाइँ सरेर जानका लागि सहजता बनाएकोमा चिन्ता व्यक्त गरे।

‘हामी गाउँको विकासमा तल्लिन छौं, स्थानीय सरकार त्यसैमा चिन्ति छ र अहिले गाउँमा विकास पुगेको छ,’ उनले भने, ‘तर, गाउँमा पुगेको बाटो अहिले गाउँका मान्छे सहर झर्न र विदेश पलायन हुनका लागि मात्र उपयोग भएको छ। यो चिन्ताको विषय हो।’

उनले गाउँ गाउँमा स्थानीय उत्पादनमा उद्योगहरू सञ्चालन गरेर गाउँघरमै रोजगार स्थापना गर्ने कार्यमा प्रदेश सरकारले ध्यान दिनेसमेत उल्लेख गरे।

‘स्थानीय उत्पादन र कृषिजन्य उद्योगहरू गाउँमै स्थापना गरेर रोजगारीको वाताबरण कसरी सिर्जना गर्न सकिन्छ भन्नेमा हामी चिन्तित छौं, यति गर्न नसके गाउँको बसाइसराइँ रोक्न सकिने अवस्था छैन,’ मुख्यमन्त्री पाण्डेले भने।

त्यसका लागि आगामी नीति कार्यक्रममा प्राथमिकताका साथ समेट्ने तयारीमा रहेको सुनाए। बागलुङ धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेकाले ती क्षेत्रहरूको विकास गरेर पर्यटनमार्फत पनि आम्दानी गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उनले बताए।

‘यहाँको जैमिनीधाम, बलेको भैरवस्थान, कालिका मन्दिर पञ्चकोटलगायतका धार्मिक स्थलहरूको विकास र प्रचार प्रसारबाट यहाँ धार्मिक पर्यटक भित्र्याएर पनि राम्रो आम्दानी गर्न सकिन्छ। त्यस विषयमा प्रदेश सरकार लगानी गर्ने कुरालाई गम्भीर रुपमा लिएको छ,’ उनी भन्छन्। मुख्यमन्त्री पाण्डेले सीमित स्रोत साधनले असिमित आवश्यकताहरू पूरा गर्न कठिन भैरहेको बताए।

‘हाम्रा आवश्यकताहरू असिमित छन् तर स्रोत सिमित छ र त्यसैले हाम्रा आवश्यकता पूरा गर्नुपर्नेछ, हामीले सबै क्षेत्रलाई विस्तारै समेट्दै जाने गरी काम गरिरहेका छौं।’

उनले यस आर्थिक वर्षमा बागलुङमा मात्रै प्रदेश सरकारले दुई अर्बभन्दा बढीको योजना कार्यान्वयन गरिरहेको उनले बताए।

कार्यक्रममा गण्डकी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री दीपेन्द्रबहादुर थापाले वनको अधिकतम उपयोग गरी आयआर्जन गर्नेगरी प्रदेश सरकारले वन ऐन निर्माण गरिरहेको उल्लेख गरे।

‘वन पनि जोगाउँदै आयआर्जनका माध्यम पनि बनाउने विषयलाई ध्यानमा राखेर वन ऐन बनाउँदैछौं,’ उनले भने।  

प्रकाशित: २ माघ २०८० ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App