२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ गठबन्धनपछिको पहिलो संसद् बैठक: सत्तापक्ष र प्रतिपक्षबीच घोचपेच

नयाँ गठबन्धन बनेपछि बसेको पहिलो प्रतिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको घोचपेच चलेको छ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ उचित कदम भन्दै सम्बोधन गरे भने प्रतिपक्षले नयाँ गठबन्धनको विरोध गरेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री यही गतिमा हिँड्ने हो भने १३ पटक गठबन्धन फेरिने बताएको छ। कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिन चुनौती पनि दिएको छ। नयाँ गठबन्धनमा सहभागी एमालेले भने यसलाई स्वभाविक संसदीय परम्पराको रूपमा लिनुपर्ने बताएको छ।  

बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समय केही समय ढिला सुरु भएको थियो। शून्य समयको कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहालले भनाइ राखेका थिए। त्यसपछि दलीय आधारमा भनाइ राख्न समय दिइएको थियो।  

प्रधानमन्त्री दाहालले परिवर्तन, सुशासन र समृद्धि बोकेको प्रधानमन्त्रीप्रति जति न्याय गर्नुपर्दथ्यो त्यति न्याय नभएपछि आफूले जोखिम उठाएर नयाँ गठबन्धन गरेको बताए। उनले आफू फोटा झुण्ड्याउन मात्र उभिएको छैन भन्दै लक्ष्य अनुसार राष्ट्र निर्मणमा लाग्ने प्रतिबद्धताका साथ आफूले कदम चालेको स्पष्ट गरे। सरकारको स्थायित्व मात्रैका लागि गठबन्धन गर्नुको कुनै अर्थ नभएको उनको भनाइ थियो।  

आफूले परिणाम दिने तरिकाले सरकार चलाउन नसक्ने अवस्था आएपछि आफ्नो अगाडि दुई विकल्प आएको बताए। औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएर आफ्नो लक्ष्यअनुसार राष्ट्र निर्माणमा लाग्ने भन्ने विषय आफ्नो अगाडि आएको उनले बताए। उनले भने, ‘मैले दोस्रो विकल्प जोखिम उठाएर आफ्नो लक्ष्यअनुसार राष्ट्र निर्माणमा लाग्ने भन्ने रोजे। कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाए। आफूसँग हुँदासम्म इमान र अरूसँग जानेबित्तिकै बेइमान भन्न नहुने उनको तर्क थियो। ‘राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो,’ उनले भने। उनले आफ्नो कदमलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाका आधारमा हेर्न आग्रह गरे।  

कांग्रेसको बिहीबार नै बसेको संसदीय दलको बैठकले एकपक्षीय ढंगले प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको थियो। गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए। ‘हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ,’ प्रधानमन्त्री दाहालले भने। उनले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने बताए। ‘यो कदम मैले सोचेर विचार गरेर नै चालेको हो,’ उनले भने, ‘त्यो कति जोखिमपूर्ण थियो र छ। पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्। कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ।’  

प्रधानमन्त्री दाहालले कांग्रेससँग गठबन्धन तोडेर नेकपा (एमाले), रास्वपा र जसपा, एकीकृत समाजवादी सहित नयाँ समीकरण बनाएका थिए। तर, राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुँदा रहेछन्, अघिल्लो गठबन्धनमा पनि त्यही भयो,’ प्रधानमन्त्री दाहालले भने। प्रधानमन्त्री दाहालले चुनावमा कांग्रेसलाई माओवादीले जुन तहको सहयोग गर्‍यो सोही तहमा कांग्रेसबाट सहयोग नपाइएको बताए। कांग्रेसले गत माघ ११ मा भएको राष्ट्रियसभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्न भूमिका खेलेको उनको आरोप छ। साथै कांग्रेस नेता शेखर कोइरालानिकट सांसद केदार कार्कीले एमालेको समर्थनमा कोशी प्रदेशमा मुख्यमन्त्री बनेको विषयलाई पनि प्रधानमन्त्री दाहालले असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘दण्डित हुनुपर्ने ठाउँमा पुरस्कृत गरियो।’  

गत फागुन ७ देखि १० गतेसम्म ललितपुरमा भएको कांग्रेस महासमिति बैठकमा बिना सन्दर्भ त्यही गठबन्धनको निन्दा सुरू भयो, जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो भन्ने कुरा विर्सिएको प्रधानमन्त्री दाहालले बताए। निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन,’ महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्तावलाई लक्षित गर्दै प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहालले कांग्रेस महासमिति बैठकस्थलअगाडि धर्मका नाममा स्टल राखेर हस्ताक्षर चलाएको विषयलाई पनि जोडे। केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा हिन्दु राष्ट्र अभियानका लागि ४१ केन्द्रीय सदस्यसहित एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए। उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्दा उठाएको विषलाई पनि उनले आपत्ति जनाए। प्रधानमन्त्री दाहालले ‘२०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो,’ भन्दै यसबाट पनि गठबन्धनमा अविश्वासको वातावरण बनेको बताए।  

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भनाइमा प्रष्टिकरण पनि दिएका थिए। पार्टीमा विभिन्न विचारहरू उठ्ने भएपनि त्यसलाई नै आधार बनाएर आत्तिने काम प्रधानमन्त्रीले गरेको उनले बताए। विगतमा कांग्रेसलाई शत्रु ठान्ने माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्याउने काम गरेको बताए। प्रधानमन्त्रीले एकपक्षीय ढंगले गठबन्धन तोडेको उनले बताए। उनले भने, ‘सानातिना मुद्दा उठाएर गठबन्धन भत्काउनु जनमतको पनि अपमान हो।’ अब कांग्रेस प्रतिपक्षमा बस्ने निर्णय गरेकाले संविधानको धारा १०० को २ बमोजिम विश्वासको मत लिन उनले चुनौती दिए। उनले भने, ‘प्रतिपक्ष कस्तो हुन्छ त्यो पनि देखाउने छौं।’ उनले प्रधानमन्त्री यही गतिमा हिँड्ने हो भने २०८४ सम्ममा १३ पटक गठबन्धन फेरिने बताए। उनले प्रधानमन्त्रीले प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कने अभिव्यक्तिप्रति आपत्ति जनाए।  

एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानले सहकार्य गर्ने कुरा गरेकाले गठबन्धन नयाँ बन्नुलाई अन्यथा लिन नहुने बताए। उनले विगतको इतिहास जस्तो थियो अहिले पनि त्यस्तै हुन्छ भन्ने सोच नराख्न आग्रह गरे। उनले अहिले बनेको गठबन्धनले विगतको भन्दा फरक रूपमा जाने उनको दाबी थियो। उनले भने, ‘यो गठबन्धन दुर्घटनामा पर्छ भन्ने कुरा नगरे पनि हुन्छ।’ उनले यसलाई स्वभाविक संसदीय परम्पराको रूपमा लिन आग्रह गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०८० ०७:५३ शुक्रबार

नयाँ गठबन्धन प्रतिधिसभा