२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागमती सरकारमा एमालेको प्रवेश, थपलियाले लिए शपथ

एमाले नेता थपलियालाई मन्त्रीको शपथ गराउँदै।

बागमती प्रदेश सरकारमा नेकपा एमालेको पुनः प्रवेश भएको छ। केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनसँगै एमाले दोस्रो पटक बागमती प्रदेश सरकारमा सहभागी भएको हो।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमाले संसदीय दलका जगन्नाथ थपलिया (जेएन) लाई मन्त्री पदमा नियुक्त गरेका हुन्। थपलियालाई प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त थपलियालाई शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराइएको छ। मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले थपलियालाई शपथ ग्रहण गराएका छन्।

थपलिया बागमती प्रदेश सरकारमा दोस्रो पटक सहभागी भएका हुन्। उनी यसअघि पनि आर्थिक मामिला तथा योजना मन्त्री नै रहेका थिए। २०७९ पुस २६ मा पहिलो पटक मन्त्री बनेका उनी राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारबाट बाहिरिएका थिए।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।मुख्यमन्त्री जम्कट्टेलले यही चैत १९ गते सोमबार विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मतपछि एमालेका बाँकी मन्त्रिहरुको टुंगो लगाएर सरकारमा सहभागी हुने एमाले बागमती प्रदेका प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए।

फागुन २३ गते तत्कालीन सत्ता साझेदार दल कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियाे। कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको साथ लिएर विश्वास मत लिने तयारी गरेका छन्।

एमालेले कांग्रेसले छोडेको ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ। रिक्त ६ वटा मन्त्रालयमध्ये संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा हाम्रो नेपाली पार्टीका बज्राचार्य नियुक्त भइसकेका छन्।

प्रदेश सरकारमा २ सांसद सहित सहभागी हाम्रो नेपाली पार्टीमा समेत विवाद भएको छ। पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टीको निर्णय विरुद्धमा गएर मन्त्री बनेका बज्राचार्यलाई कारबाही गर्ने जानकारी समेत गराएको थियो।

एमाले र माओवादीले आफ्नो सांसदलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाएको पार्टीको आरोप थियो। केही दिन अघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै प्रतिपक्षमै बस्ने घोषणा गरेको हाम्रो नेपाली पार्टी अन्ततः मन्त्री पद लिएर सरकारमा सहभागी भएको थियो। परिवर्तित राजनीतिक अवस्थामा उसले मुख्यमन्त्रीमै दाबी समेत गरेको थियो।

प्रकाशित: १७ चैत्र २०८० २०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App