१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री नेकपा एसलाई दिने फेरि अर्को सहमति

लक्ष्मण किशोर चौधरिलाई दिएको समर्थन एकीकृत समाजवादीद्वारा फिर्ता

मुख्यमन्त्रीमा लक्ष्मण किशोर चौधरिलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउँदै सोडारी।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्न नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी) ले फिर्ता लिएको छ।

नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गठबन्धनको निर्णयपछि विद्रोह गर्दै एकीकृत समाजवादीका प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा चौधरीलाई समर्थन जनाएका थिए।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीको विषयले गठबन्धनमै समस्या आउने भएपछि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच छलफल भएको थियो।

गठबन्धनमा रहेका दलहरु मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन सहमत भएपछि प्रदेश प्रमुखको कार्यालय पुगेर सोडारीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्।

नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेपछि कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भनेर निर्णयमा पुगी नसकेका प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी रद्द गर्दै पुन: मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गर्ने प्रदेश प्रमुख निकट स्रोतले बताएको छ।

प्रदेश प्रमुखको आह्वान पर्खिरहेको सत्ता गठबन्धन पक्षधर दलका एक नेताले बताएका छन्। प्रदेश प्रमुखले आह्वान गरेपछि मुख्यमन्त्रीमा सत्ता गठबन्धन दलका तर्फबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने नेता सोडारीले बताए।

यस अघि आइतबार नागरिक उन्मुक्ति दुई सांसदले दाबी गरेका थिए। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउन आह्वान गरेको समय सीमाको अन्तिम दिन आइतबार प्रदेश प्रमुखको कार्यालयमा नागरिक उन्मुक्ति पार्टीका दुई जना सांसदले दाबी पेश गरेका थिए।

पार्टीका संरक्षक रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले बेग्ला बेग्लै दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

लक्ष्मणकिशोरले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए भने कैलाशले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गरेका थिए।

नागरिक उन्मुक्ति पार्टीका रेशम पक्षधरमा ५ जना र रञ्जिता पक्षमा २ सांसद रहेका छन्। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि चैत २३ गते संविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउन दस दिनको समय सीमा तोकेर प्रदेश प्रमुख मियाँले राजनीतिक दलहरुलाई आह्वान गरेका थिए।

दुई जनाको मुख्यमन्त्रीमा दाबी भएपछि प्रदेश प्रमुख मियाँले अध्ययन गरेर निर्क्योल गर्ने बताएका थिए। 

५३ प्रदेश सभा सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एक वटा सिट रिक्त छ।

प्रकाशित: ४ वैशाख २०८१ १५:५७ मंगलबार