१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले नफर्काएपछि पुनः रुसी सेनाकै कब्जामा नेपाली

फाइल तस्वीर

गत चैत ५ गते उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर आफ्नो सेनामा भर्ती नेपालीको करार रद्द गर्न रुस सरकार तयार भएको बताएका थिए।

‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकामध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ,’ सांसदले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले भनेका थिए, ‘तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ। युक्रेनमा बन्दी बनाइएकाको फोटो सार्वजनिक भएको छ। उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ।’

त्यसको केही दिनअघि परराष्ट्रमन्त्री श्रेष्ठले रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभसँग टेलिफोनमा कुराकानी गरेका थिए। उक्त कुराकानीमा सर्गेइले उक्त कुरा सुनाएको श्रेष्ठले बताउनेगरेका छन्।

परराष्ट्रमन्त्री श्रेष्ठले त्यसो भन्दैगर्दा तीन महिनाअघि नै रुस सरकारले करार रद्द गरेका सात जना नेपाली युक्रेनमा अलपत्र थिए। तीमध्ये केही आफ्नो उद्धारका लागि हारगुहार गर्दैथिए। नेपाली अधिकारीले नसुनेपछि भारत सरकारसँग पनि गुहार मागिरहेका थिए।

‘हामीलाई करार रद्दको पत्र थमाएर दोनेस्कबाट १० किलोमिटर वर ल्याएर राखिएको थियो। करार नै नरहेपछि न तलब, न खानेकुराको व्यवस्था,’ तीनैमध्येका एकले भने, ‘हामीले यो कुरा राजदूतावाससँग भन्यौं। उद्धारका लागि अनुनय ग¥यौं। दूतावासका अधिकारीले तपाईहरू सुरक्षित ठाउँमा हुनुहुन्छ बसिराख्नुस्। तपाईंभन्दा महŒवपूर्ण अन्यको काम छ भन्ने जवाफ दिए।’

यस्तोमा परराष्ट्रमन्त्री श्रेष्ठको सम्बोधनपछि उनीहरूमा केही आशा जागेको थियो। ती युवाले भने, ‘हामीले भिडिओमा देख्यौं, हाम्रा परराष्ट्रमन्त्रीको उक्त कुरा। त्यसले युद्धभूमिबाट जिवितै फर्किने आशा पलाएको थियो।’ उनीहरूको त्यो आशा महिनादिन पुग्दा निराशामा परिणत भएको छ। ‘युक्रेनको भूमिबाट रुस छिर्न बोर्डरपास डकुमेन्ट चाहिन्छ। त्यो हामीसँग छैन। त्यसका लागि पनि राजदूतावाससँग अनुनय ग¥यौं। अचेल त फोनसम्म उठ्दैन,’ केहीदिन अघिको कुराकानीमा उनले भनेका थिए।

अब त उनीहरूमा नेपाल जीवित फर्किने आशा नै समाप्त भएको छ। करार रद्द भएको तीन महिनासम्म पनि घर नफर्केपछि उनीहरूलाई रुसले धमाधम सेनामा फर्काउन थालेको छ। ‘हामीमध्येका चारजनालाई अस्ति नै सेनामा फर्काइसक्यो,’ बुधबार तीनैमध्येका एकजना युवाले भने, ‘हामी बाँकी तीनजनालाई पनि हिजो आएर पोसाक दिइसके। सरकारले लगातार हारगुहार गर्दा पनि सुन्दै सुनेन।’

उनीहरूबाहेक अरू पनि आठजना नेपाली रुस सरकारले करार रद्द गर्दा पनि नेपाल फर्किन सकेका छैनन्। जसमा दूतावास र सरकारका अधिकारीहरू गैह्रजिम्मेवार बनेको आरोप छ। उनीहरू मस्कोमा छन्। ‘करार रद्द भएपछि धन्न बाँचियो भन्ने लागेको थियो। तर, सरकारले हाम्रो उद्दारमा ध्यान नै दिएन। राजदूतावासले त हाम्रा गुनासा सुन्दै सुन्दैन,’ मस्कोमा रहेका युवाले भने, ‘अहिले करार रद्द भएकालाई फेरी सेनामै फर्काइरहेको सुनिन्छ। कतिबेला हामीलाई फेरि लग्छ थाहा छैन।’

करार रद्द हुँदा पनि आफन्त फर्किन नसक्दा नेपालमा रहेका परिवारमा पीडा बढेको बढ्यै छ। उनीहरू आफन्तको उद्धारका लागि सिंहदरबारदेखि कन्सुलर विभागसम्म दिनहुँ हारगुहार गरिरहेका छन्। ‘अवैध रूपमा जानुभो, उहाँको गल्ती भयो। यही भनेर आफ्ना नागरिकको जीवन रक्षाका लागि सरकारले पहल गर्नुपर्ने होइन र? करार  नै रद्द भइसकेपछि रुसले रोकेको पनि छैन। हाम्रो सरकारले ल्याउन सहयोग नै गर्दैन,’ करार रद्द भएका सेनाकी श्रीमती भन्छिन्, ‘यही कुरा हामीले गृहमन्त्री, परराष्ट्रमन्त्री, कन्सुलर विभागसम्म पुगेर राख्यौं। खै कसैले सुन्दैन।’

उनको भन्दा गहिरो पीडा रुसले फेरि सेनामा फर्काएका कैलालीका एक युवाकी पत्नीको छ। ‘उहाँको करार रद्द भएपछि अब त ज्यान जोगियो लागेको थियो। दोनेस्क नजिकै उहाँलाई लगेर केहीदिनमा मस्को लैजान्छौं भनिएको थियो,’ उनी भन्छिन्, ‘रुसी सेनाले त्यसपछि फर्केर हेरेन। हामीले नेपाली दूतावाससँग कुरा गर्दा सकारात्मक कुरा नै आएन। एकैचोटी अस्ती आएर उहाँलाई जबरजस्ती रुसी सेनाले फेरि काममा फर्काएको छ।

’अभियन्ता कृतु भण्डारी करार रद्द भएका नेपालीलाई फर्काउन मस्कोस्थित दूतावास र नेपालस्थित परराष्ट्र मन्त्रालय, कन्सुलर विभागसम्म दबाब दिइएको बताउँछिन्। ‘जति दबाब दिए पनि हाम्रो र परिवारका सदस्यको आवाज सरकारले सुन्दै सुनेको देखिएन,’ उनले भनिन्, ‘कार्यरत रहेकालाई करार रद्द गराउँछु भन्ने रुसले करार रद्द भएकालाई नै पुनः भर्ती गर्न थालेको छ।’

प्रकाशित: ६ वैशाख २०८१ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App