२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनमा अविश्वास: दुरी बढाउँदै नेपाल च्याँखे दाउमा देउवा

सत्ता गठबन्धन दलहरूबीच विश्वासको संकट देखिएको छ। नेकपा एमालेसहितको गठबन्धनमा आबद्ध दलहरूले भागबन्डा मिलाउने क्रममा एकअर्कालाई विश्वास गर्न सकिरहेका छैनन्। नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेपछि एमाले थप सशंकित हुँदै सुदुूरपश्चिम प्रदेशको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ।

काठमाडौं गोल्फुटारस्थित डा. नारायण खड्को घरमा माधव नेपालले बुधबार साँझ देउवालाई भेटेर वैकल्पिक गठबन्धन र सुदूरपश्चिम सरकार निर्माणबारे छलफल गरेका थिए। तर एमालेसँगको छलफललाई उनले सरोकारै राखेनन्। त्यसकारण एमालेले अहिले नै सुदूरपश्चिम सरकारमा सहभागी नहुने जनाएको हो।

एमालेले बिहीबार मुख्यमन्त्रीमा नियुक्त दीर्घ सोडारीको विकल्प खोज्न आग्रह गरेको थियो। तर नेकपा एस सचिवालय बैठकमार्फत सोडारीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री प्रस्ताव गरेर अध्यक्ष नेपाल देउवालाई भेट्न गएपछि एमाले चिढिएको थियो।

२०७५ कात्तिकमा तत्कालीन सामाजिक विकासमन्त्री सोडारीले महिलासँग अश्लील संवाद गरेको आरोपमा पद गुमाएका थिए। उनलाई एमालेले पनि कारबाही गरेको थियो। सोही कारणले उनलाई अहिले मुख्यमन्त्रीमा अस्वीकार गर्दै एमालेले विकल्प दिन आग्रह गरे पनि नेकपा एसको सचिवालय बैठकबाट उनलाई नै मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो।

एमालेले अप्ठेरो मान्दै समर्थन त ग¥यो तर तत्काल सरकारमा नजाने निर्णय लियो। यसबाट गठबन्धनमा अविश्वासको दुरी बढ्दै गएको आकलन छ। एमाले अध्यक्ष केपी शर्मा ओली नै रहेका बेला महिलासँग अश्लील बोलेको तथा उनको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद भएपछि उनलाई २०७५ कात्तिकमा बर्खास्त गरिएको थियो। उनीविरुद्ध पार्टीमा समेत आर्थिक तथा चारित्रिक विषयमा गम्भीर उजुरी परेपछि तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका थिए।

‘ओली सरकारकै पालामा बर्खास्तमा परेका कारण एमालेले उनलाई मुख्यमन्त्रीमा अस्वीकार गरेको हो। यो विषयले केन्द्रमा दुरी बढेको स्पष्ट हो,’ एमालेका एक पदाधिकारीले भने।

सुदूरपश्चिम सरकारको विषयमा गडबडी उत्पन्न भएपछि एमाले अध्यक्ष ओली बिहीबार सिधै प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थिए। उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो। उनीहरू कुराकानी गरिरहेकै बेला उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पनि सहभागी भएका थिए। कुराकानी गरेर बाहिरिने क्रममा लामिछानेले गठबन्धनमा कुनै पनि समस्या नभएको बताएका थिए।

नेकपा एसले एमालेसँगको सहकार्यलाई सुरुदेखि नै रुचिकर ठानेको छैन। ‘खास यो गठबन्धन माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री पद लम्ब्याउने हेतुले मात्रै बनेको हो। यसमा एमालेले साथ दिएको छ। एमालेलाई पनि कांग्रेससँगको सहकार्य तोड्नु थियो। त्यही भएर यो बनेको हो। यसमा प्रधानमन्त्रीको पद जोगाउनुबाहेक अर्को कुनै स्वार्थ देखिन्न,’ नेकपा एसका एक पदाधिकारीले भने।

सत्ता गठबन्धनमा खटपट र वैकल्पिक गठबन्धनको कुरा भइरहेका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन साथ दिने भन्दै सत्ता गठबन्धनलाई नेकपा एसले चुनौती दिएको थियो।

कांग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र केन्द्रमा वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल मात्र भएको छैन, कसरत नै गर्ने तयारी भएको छ। अहिले नेकपा एस सत्ता गठबन्धनबाट बाहिरिए प्रदेशतर्फ मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनबाहिरबाट सरकार बन्नेछन्। नेकपा एस एमाले, माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट बाहिरिए जनता समाजवादी पार्टी (जसपा) पनि बाहिरिन सक्ने कांग्रेसको बुझाइ छ।

वैकल्पिक गठबन्धन बने कांग्रेसका ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, जसपाका १२, नेकपा एसका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार र नाउपाका ४ सिट जोड्दा १३८ हुने देखिन्छ।

यी सबै मिलेको अवस्थामा केही स्वतन्त्र र चित्रबहादुर केसीलाई समेत जोड्दा कांग्रेसले वैकल्पिक गठबन्धन बनाउन सक्ने सम्भावना छ। यो विषयमा नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा एसले सहमति र सहकार्य तोड्न नखोजेको भनी प्रतिक्रिया दिए। ‘यसअघि भएका सबै सहमति च्यात्न खोजेपछि मात्रै हामीले हलुका असहमति प्रकट गरेका हौं, गठबन्धन टुटाउन खोजेका होइनौं,’ उनले भने।

अहिलेको सत्ता गठबन्धनमा माओवादी केन्द्रका ३२, एमालेका ७८, रास्वपाका २१, जसपाका १२, नेकपा एसका १० र नाउपा ४ गरी १५७ सांसद छन्। यसमध्ये नेकपा एस बाहिरिँदा गठबन्धनमा १४७ सांसद हुन्छन्। नाउपामा विवाद यथावत् छ।

गत फागुन २१ गते प्रधानमन्त्री दाहालले एमालेको साथमा सत्ता गठबन्धन बदलेपछि कांग्रेस प्रतिपक्षमा छ। कांग्रेस वैकल्पिक गठबन्धनको प्रयासमा छ। उसले केन्द्रमा दाहाल सरकारको विकल्प खोजिरहेको छ। यसका लागि कांग्रेसले प्रधानमन्त्री बन्न नेपाल प्रस्ताव गरे तर उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीको विषयमा गठबन्धनभित्र विवाद भए पनि कांग्रेस नेता रमेश लेखकले माधवकुमार नेपाललाई धोका भएको अभिव्यक्ति दिएर कांग्रेसतर्फ आकर्षित गर्न खोजेका थिए। त्यसपछि नेकपा एसले सुदूपश्चिम प्रदेश सरकार गठनमा नेपाली कांग्रेससँग मिल्ने चेतावनी दिएपछि मंगलबार बिहान वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री दाहाललाई भेटेर सहजीकरण गरेका थिए।

खनालको सहजीकरणपछि माओवादीसहितको सत्ता गठबन्धन नेकपा एसलाई मुख्यमन्त्री दिन सहमत भए पनि पात्रमा विवाद हुँदा ‘इगो’ उत्पन्न भएको छ। सुरुमा एमाले र माओवादीले नाउपालाई सुरुको दुई वर्ष मुख्यमन्त्री दिने सहमति गरेका थिए। तर नेकपा एसले विद्रोहले माओवादी र एमाले दुवैको विश्वास गुमाएको विश्लेषण गर्न थालिएको छ। नेकपा एसले सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा दाबी गरेसँगै सचिवालय बैठकबाट गठबन्धनभित्र सहमति कार्यान्वयन गर्ने विषयमा समस्या रहेको यस्तै भए सरकारमा बस्नुको औचित्य नहुने जनाएको थियो।

प्रकाशित: ७ वैशाख २०८१ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App