२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङको बाह्रौं जिल्ला अधिवेशन : पाँच पदाधिकारीमा दर्जन बढी आकांक्षी

यही महिनाको २४ र २५ मा हुने नेकपा एमाले ताप्लेजुङको १२ जिल्ला अधिवेशनमा अध्यक्षका लागि चारजना आकांक्षी देखिएका छन्। पाँच पदाधिकारीमा दर्जन बढी आकांक्षी देखिएका छन्।

अध्यक्षमा पूर्व जिल्ला अध्यक्ष तथा पूर्व प्रदेशमन्त्री बलबहादुर साम्सोहाङ, संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे, वर्तमान कार्य समिति उपाध्यक्ष सन्तोष खतिवडा र पूर्व प्रदेश कमिटी सदस्य गोपाल थोप्राले आकांक्षा देखाएका छन्।

उपाध्यक्षमा जिल्ला कमिटीका उपसचिव तथा आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु, फुङलिङ नगरपालिकाका पूर्व नगर प्रमुख छत्रपति प्याकुरेल र सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईको चर्चा छ। पोमु र प्याकुरेलले उपाध्यक्षमा आकांक्षा राखिसकेका छन् भने राईले मुख खोलेका छैनन्।

सचिवमा जिल्ला समन्वय समितिका पूर्व प्रमुख घनेन्द्र मादेन, वर्तमान जिल्ला कमिटी उपसचिव मणिशंकर पोमु र एमाले सिरिजङ्गा गाउँपालिका कमिटीका अध्यक्ष सन्तोष चाम्लिङको चर्चा छ। तीनैजनाले सचिवको आकाँक्षा राखेर कार्यकर्तालाई भन्न थालिसकेका छन्।

दुई उपसचिवमध्ये एकजना महिला निर्वाचित हुने पदमा मिनाकुमारी केदेम, शान्ताकुमारी आङबुहाङ र भीमादेवी ओझाको चर्चा छ। ओझा फुङलिङ नगर उपप्रमुख तथा आङबुहाङ आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष हुन्।

पुरुषतर्फ उपसचिवमा फक्ताङलुङ गाउँपालिका कमिटी अध्यक्ष सरोज एभेङ, युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इञ्चार्ज गोपाल न्यौपाने, एमाले जिल्ला सचिवालय सदस्य सन्तोष प्रसाईं र एमाले जिल्ला सदस्य दीपक धिताल आकांक्षी देखिएका छन्।्

एमाले जिल्ला अधिवेशनका प्रतिनिधिको टुंगो भने लाग्न बाँकी रहेकाले आकांक्षीको संख्या थपघट हुन सक्ने देखिएको छ। करिब साढे तीन सय बढी प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुन सक्ने देखिए पनि यकिन तथ्यांक भने आउन बाँकी रहेको एमाले ताप्लेजुङले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८१ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App