२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै

दुई साताअघि कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। उनले माओवादी केन्द्र र आफ्नो दल अर्थात् नेकपा एमालेबाट एक–एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्।

मन्त्रालय भागबण्डा नमिल्दा दुई सातासम्म मन्त्रिपरिषद् गठन नगर्न नसकेका कँडेलले माआवादी केन्द्रबाट रणसिंह परियार र एमालेबाट एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्। तर, एमालेबाट सरकारमा को जाने भन्ने नाम टुंगो लागिसकेको छैन।

माओवादी संसदीय दलको बुधवार बसेको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको थियो। ‘अहिलेलाई उहाँ (रणसिंह परियार)लाई विना विभागीय मन्त्रीका रुपमा पठाउने निर्णय भएको छ,’ सांसद कृष्ण जिसीले भने, ‘बाँकीको नाम टुंगो लागेपछि एकै पटक मन्त्रालयको जिम्मेवारी दिइनेछ।’ परियार माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हुन् । उनी हुम्लाबाट निर्वाचित प्रदेश सांसद हुन्।

मंगलबार भएको दुई दलका शीर्ष नेताबीच मन्त्रालयको भागबण्डाको टुंगो लागेको थियो। आठ सदस्यीय मन्त्रिपरिषद्मा माओवादी केन्द्रले महत्वपूर्ण चार मन्त्रालय पाउने टुंगो लागेको छ। माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उर्जा जलस्रोत विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति दुई दलबीच भएको छ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउनेछ। चैत २९ गते कँडेल मुख्यमन्त्री नियुक्त भएपनि मन्त्री नियुक्त गर्न नसक्दा अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन्।

प्रकाशित: १२ वैशाख २०८१ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App