२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनबाट टाढिन खोज्दै जसपा!

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट बनेका छन्। पछिल्ला केही घटनाले यादव प्रधानमन्त्री र सत्ता गठबन्धनबाट टाढिन खोजेको देखिन्छ। जसपाका नेताहरूले भने सत्ता गठबन्धन र प्रधानमन्त्री दाहालसँग पार्टी अन्सन्तुष्ट नभएको प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय यादव सत्ता गठबन्धनमै रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँग निकै निकट देखिन थालेका छन्।

सत्ता गठबन्धनमै रहेका नेपाल पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमदल दाहाल र गठबन्धनको ठुलो घटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट छैनन्। नेपालले सत्ता सञ्चालनमा दाहाल र ओलीले आफूसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन्। जसपा र नेकपा एसले वर्तमान सत्ता गठबन्धन छाडेमा सरकार ढल्ने सम्भावना रहन्छ।

प्रतिनिधिसभामा जसपाका १२ र नेकपा एसका १० सांसद छन्। पछिल्लो संसदीय निर्वाचनअघि जसपा र नेकपा (एस) बीच पार्टी एकतासम्मको चर्चा भएको थियो। यी दुई पार्टीबीच एकता नभए पनि शीर्ष नेतृत्व नेपाल र यादवबीचको सम्बन्ध निकै राम्रो छ।

प्रतिनिधिसभा सदस्यका लागि इलाममा हुन लागेको उपनिर्वाचनमा जसपाले एमालेका उम्मेदवारलाई सहयोग गरेका छैन। इलाम–२ मा एमाले विरोधी उम्मेदवारका रूपमा चिनिएका डकेन्द्रसिंह लिम्बूलाई जसपाले औपचारिक रूपमै सहयोग गरेको छ। जसपा प्रवक्ता मनीष सुमनले डकेन्द्र पहिचानवादी नेता भएकाले उपनिर्वाचनमा पार्टीले उनलाई साथ दिएको बताए। ‘जसपा पहिचानवादी पार्टी हो। त्यसैले हामीले पहिचानवादी नेता डकेन्द्रलाई सहयोग गरेका हौं,’ उनले भने।

माओवादी केन्द्रले नेतृत्व गरेको लुम्बनी प्रदेश सरकारमा सहभागी भएको जसपाले मन्त्रालय भागबन्डामा मुख्यमन्त्रीले उपेक्षा गरेको भन्दै सरकार छाड्ने निर्णय गरेको छ।

जसपाका मन्त्रीले राजीनामा दिएका छन्। जसपाले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाए सरकारलाई दिएको समर्थन भने कायमै राखेको जसपाका नेताहरूले बताएका छन्। ‘लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले हामीलाई दुईवटा मन्त्रालय दिने सहमति गर्नुभएको थियो। पछि उहाँले एउटा मात्र मन्त्रालय दिनु भयो,’ सुमनले भने, ‘त्यसैले हामीले लुम्बिनी प्रदेश सरकारबाट फिर्ता हुने निर्णय गरेका हौं।’

 जसपा लुम्बिनी प्रदेश समिति र माओवादी केन्द्रबीच भएको सहमति माओवादीका मुख्यमन्त्री महराले उल्लंघन गरेको उनको आरोप छ।

गत साउनमा प्रधानमन्त्री दाहालले गौर घटनापीडितसँग पाँचबुँदे सहमति गरेपछि यादव झस्किएका थिए। त्यतिबेला पाँचबुँदे सहमतिको विषयमा आन्दोलन गर्ने भन्दै जसपाले एकमहिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको थियो। कार्यकर्तालाई प्रशिक्षण दिन यादव आफै मधेसका सबै जिल्ला पुगेका थिए। केही समयपछि पाँचबुँदे सहमति सेलाएपछि यादव पनि शान्त भएका थिए।

अहिले फेरि गौर घटना ब्युँतिएको छ। अहिले सरकारले नभई अदालतले ब्युँताएको हो। केही दिनअघि सर्वोच्च अदालतले गौर घटनाका विषयमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। यसबाट यादव फेरि झस्किएको स्रोतको भनाइ छ। यादव गौर घटना ब्युँताउने पक्षमा छैनन्। अदातले गौर घटनाका विषयमा कारण देखाउ आदेश जारी गरेपछि यादव फेरि असन्तुष्ट बनेका छन्। ‘यो असन्तुष्टि प्रधानमन्त्रीतिरै लक्षित छ,’ जसपा स्रोतले बतायो।

अहिले यादव उप्रधानमन्त्रीसहित सरकारमा छन्। उनले रोजेको स्वास्थ्य मन्त्रालय पाएका छन्। पार्टीमा उनी निकट नवलकिशोर साह वनमन्त्री छन्। ‘तर पनि अरू केही कारण छन्, जसले अध्यक्षज्यू भित्री मनबाट प्रधानमन्त्री र वर्तमान गठबन्धनसँग सन्तुष्ट हुनुहुन्न,’ जसपाका एक केन्द्रीय सदस्यले भने। जेठ अन्तिम साता जसपाले महाधिवेशन गर्दैछ। महाधिवेशनबाट यादव पुनः अध्यक्षमा निर्वाचित हुने निश्चित जस्तै भएको एक नेताले बताए। ‘प्रधानमन्त्री दाहालसँग असन्तुष्ट भए पनि महाधिवेशनसम्म यादवले यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया नदिने रणनीति बनाएका छन्,’ जसपा स्रोतले भन्यो।

प्रकाशित: १५ वैशाख २०८१ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App