५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद्को बजेट अधिवेशन निर्बाध ढंगले अघि बढ्छ: सचिव भट्टराई

नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले यसै साता सुरु हुने संसद्को बजेट अधिवेशन निर्बाध ढंगले अघि बढ्ने विश्वास लिएका छन्।

उनले संसदीय छानबिन समिति अन्तिम हतियार भएको र सो भन्दा अघि राज्यका निकायमार्फत सहकारी तथा वित्तीय संस्थासँग सम्बन्धित सवालहरुको छानबिन हुनुपर्ने बताए।

पत्रकार महासंघ ताप्लेजुङले शनिबार फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत भट्टराईले आउँदो संसद् अधिवेशन सहज र निर्बाध ढंगले अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका राजनीतिक दलहरू सहमतिमा आउनुको विकल्प नभएको बताए।

‘सहकारी तथा विभिन्न वित्तीय संघसंस्थासँग सम्बन्धित विषयमा उठेका सवालहरू राज्यका निकायले छानबिन गरुन्, अदालतमा समेत रहेको यो प्रकरणलाई संसद्ले हस्तक्षेप गर्न मिल्दैन’ भट्टराईले भने।

उनले राज्यका निकायबाट सम्भव नभए छानबिनको अन्तिम अस्त्रको रुपमा संसदीय छानबिन समिति बनाउनुपर्ने समेत बताए।

गलत क्रियाकलाप माथि छानबिन र दण्डित हुनुपर्नेमा सबैको एकमत रहे पनि अन्तिम हतियारको रुपमा रहेको संसदीय छानबिन समितिलाई सुरुकै चरणमा प्रयोग गर्न त्यति उचित नहुने उनको भनाई थियो।

उनले अदालतमा रहेको विषयमा संसद्ले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नहुने बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो वैशाख २८ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्। नेता भट्टराईले अहिले तत्कालै वाम एकताको ध्रुवीकरण सुरु भई नसकेको बताए।

‘एमाले कम्युनिष्ट एकताको विषयमा हतारमा निर्णय गर्ने पक्षमा छैन, बिचार मिल्दै गए एकतातर्फ जान पनि सक्छ’ उनले भने।

अहिलेको सत्ता समीकरणमा तत्काल कुनै फेरबदल नआउने बताउँदै भट्टराईले २०८४ सालको निर्वाचन सम्म यही सरकार र समीकरण कायम रहनेमा एमाले दृढ रहेको उनको दाबी थियो।

एमालेकै सोचमा अहिलेको सत्ता समीकरण तयार भएकोले एमाले अहिलेको समीकरण अदलबदलको दिशामा नरहेको भट्टराईले बताए।

आगामी बजेटमार्फत जनपक्षीय नीति र कार्यक्रम ल्याइने समेत उनको भनाई थियो। बिग्रँदै गएको अर्थतन्त्रको सुधार, सुस्त हुँदै गएको विकास निर्माणलाई तीव्र गति, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार र सन्तुलन, संविधानको कार्यान्वयन र स्थिर राजनीतिक वातावरणका लागि अहिलेको सरकार र सत्ता समीकरण तीव्र सक्रिय हुने उनले बताए। 

‘सत्ता समीकरण बनाउँदा ड्राईभरलाई थाह थियो कि म सवारी कता लाँदै छु, तर प्यासेन्जरलाई थाह थिएन की हामी कहाँ जाँदै छौं’ सत्ता समीकरणका रहेका दलहरुका केही असन्तुष्टी बारे भट्टराईले यस्तो प्रतिक्रिया दिए।

केहि समय अघि सम्पन्न उप निर्वाचनको परिणामले देशका मुख्य शक्तिहरू भनेको एमाले–काँग्रेस नै हुन् र देश निर्माणमा उनीहरुकै जिम्मेवारी कायम छ भन्ने देखाएको बताउँदै भट्टराईले ‘मास सेन्टिमेन्ट’ को रुपमा कुनै शक्तिको उदय हुने भएपनि त्यो दीर्घकालीन नहुने सन्देश उप निर्वाचनमार्फत प्रकट भएको बताए।

पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुने केबलकारका विषयमा विमति राख्ने पक्षका अधिकांश सवालहरुको सम्बोधन भइसकेकोले अब केवलकार निर्माणको विरोध गर्न उपयुक्त नभएको समेत भट्टराईले बताए।

‘अझै केहि छ भने बसौँ, सार्थक समाधान खोजेर केवलकार निर्माणको प्रक्रिया तुरुन्त अघि बढाऔँ’ उनले केवलकार निर्माणमा विमति राख्ने पक्षलाई सार्थक छलफलका लागि आह्वान समेत गरेका छन्।

कोशी प्रदेश नामकरणको विरोधको प्रक्रिया समेत उप्काउँदै भट्टराईले प्रदेश नामकरणको सार्वभौम अधिकार सम्बन्धित प्रदेशसभामा निहित रहने दोहोर्‍याए। 

भट्टराईले एमाले ताप्लेजुङको जिल्ला अधिवेशनमार्फत पार्टीलाई बलियो र सुद्रिढ बनाउने नेतृत्व आउनुपर्ने आफ्नो भनाई रहेको बताए।

‘बिचारमा बहुदलीय जनवाद, देशभरका पार्टी सदस्यको दायित्व पार्टी बलियो बनाउने भन्ने र केपी ओलीको नेतृत्वमा विवाद छैन, पार्टी बलियो बनाउनेलाई नेतृत्व दिनुपर्छ’ भट्टराईले भने।

नयाँ नेतृत्व समेत चयन गर्नेगरी एमाले ताप्लेजुङको १२ औं अधिवेशन वैशाख २४ र २५ गते हुँदै छ। अध्यक्षका लागि ४ जना आकाँक्षी रहँदा दुईवटा समूहबीच पदाधिकारीमा प्यानलै बनाएर प्रतिश्पर्धामा उत्रने संकेत देखिएको छ।

प्रकाशित: २२ वैशाख २०८१ १६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App