७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

शुक्रबार सुरु हुँदै संसद्को बर्खे अधिवेशन, तयारी अन्तिम चरणमा

संसद्को बजेट अधिवेशन शुक्रबार सुरु हुँदैछ। बजेट प्रस्तुत हुनु कम्तीमा १५ दिनअघि अधिवेशन बोलाउने परम्पराअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गरेका हुन्। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि आयव्ययको अनुमानित विवरण संसदमा प्रस्तुत गर्नेछ।

शुक्रबार सुरु अधिवेशनका लागि संघिय संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको सिट व्यवस्थापनको काम सकिएको जानकारी दिँदै हल र प्राविधिक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको बताए।

उनले भने, ‘भोलि (शुक्रबार) दुई बजे बैठक छ। बैठकका लागि सभामा हुने सिट व्यवस्थापन, सरसफाइ र प्राविधिक कामहरु लगभग सकिसकेका छन्। अरु बेला केही नगर्ने भन्ने होइन। तर बैठकअघि गर्ने कामहरु गरेका हौं। दुवै सभाको सम्भावित कार्यसूची आज बेलुकासम्म आउने छ।’

दुवै सभाको कार्यव्यवस्था समितीको बैठक शुक्रबार बस्ने प्रवक्ता गिरीले जानकारी दिए। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितीको बैठक शुक्रबार अपरान्ह १२ः३० र राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान १० बजे बस्ने गरी तयारी भएको उनले बताए।  

संघीय संसद्को हिउँदे अधिवेशनमा तीन वटामात्र विधेयक परित भएको थियो। संसद्को अधिवेशन अन्त्य हुनुअघि केही विधेयक संसदीय समितिमा पठाउने कार्यसूची भए पनि प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अघि बढ्न सकेको थिएन।

सरकारले हिउँदे अधिवेशनमा संसद्मा ल्याएका विधेयकमध्ये तीन दर्जनजति विधेयक संसदीय समितिमा विचाराधीन छन्। 

गत वैशाखदेखि नै समितिमा पुगेर थन्किएका विधेयकमध्ये प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक, अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ छन्।

कानुन न्याय तथा मानव अधिकार समितिमा रहेका ७९ वटा कानुन संशोधन गर्नेगरी ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छलफलमै छ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पनि छलफलमै छ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक, विश्वविद्यालय विधेयक, विद्यालय शिक्षा विधेयक छलफलमा छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक २०७७ छलफलमा छन्।

अहिले पनि नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएकाले संसदीय छानविन समिति गठन हुनु पर्ने अडानमा कायम छ । कांग्रेस आफ्नो अडानबाट पछि नहट्दा यो अधिवेशन पनि प्रभावित हुन सक्ने आंशका गरिएको छ।

बर्खे अधिवेशनमा बजेट र नीति तथा कार्यक्रमले प्राथमिकता पाउने भएपनि अन्य दर्ता भएका विधेयक पनि अगाडि बढ्ने संसद सचिवालयका प्रवक्ता गिरी बताउँछन्।

उनले भने, ‘प्रतिनिधि सभामा अहिले १४ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा छन्। भने राष्ट्रिय सभातर्फ एउटा विधेयक समितिमा छलफलको क्रममा छ। अन्य विधेयकहरुको प्रतिवेदन आएको छैन। कतिपय विधेयकमाथि छलफल भइरहेको छ। कतिपय विधेयकहरु छलफलमा अलि बढी समय लाग्ने प्रकृतिका छन्। त्यसैले सबै विधेयकहरु पारित हुन्छ भन्ने छैन।’

अहिले तत्काल अघि बढ्न सक्ने विधेयक सुरक्षण मुद्रणसम्बन्धी विधेयक रहेको गिरीले बताए। समितिले प्रतिवेदनहरु पाएको खण्डमा अन्य विधेयकहरु अगाडि बढ्ने बताउँदै उनले कतिपय विधेयक समितिमा छलफल नै नभएको अवस्थामा रहेको जानकारी दिए।

संसद्मा बजेटमाथिको छलफल गर्ने समय भने कार्यव्यवस्था समितिले निर्णय गर्ने गिरीले जानकारी दिए। बजेटमाथिको छलफल, नीति तथा कार्यक्रम प्रस्तुत र त्यसमाथिको छलफलको विषयमा कार्यव्यवस्था समितिले कार्यतालिका बनाएर अगाडि बढ्ने उनको भनाइ छ। 

प्रकाशित: २७ वैशाख २०८१ १९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App