७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

जनप्रतिनिधि तानातानमा दुई जसपा

पार्टी विभाजन भएको हप्ता दिन हुनै लाग्यो। लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले अहिलेसम्म कुन जसपा रोज्ने भन्नेमा अनिर्णित छिन्। उपेन्द्र यादव नेतृत्वको पुरानै जसपामा अडिने वा अशोक राई नेतृत्वको नयाँ जसपासँग जोडिने भन्नेमा अनिर्णित उनी भन्छिन्, ‘अहिलेसम्म केही निर्णय गर्न सकेको छैन, साथीहरूसँग छलफल भइरहेको छ।’

उनी बाँकेकी हुन्। जसपा फुटाउन निर्णायक भूमिकामा रहेका मोहम्मद इस्तियाक राईको गृह जिल्लाकी अम्बिकालाई यादव र राई दुवै पक्षले आफ्नो पार्टीमा रहन लबिङ गरिरहेका छन्। ‘पक्कै पनि दुईवटा पार्टी भैसकेपछि हाम्रो तिर रहनुपर्‍यो भनेर लबिङ त स्वाभाविकै रूपमा हुने नै भयो नि!,’ उनले भनिन्, ‘जता सही लाग्छ, म त्यही पार्टीतिर लाग्छु।’

यसै प्रदेशका अर्का सांसद आदेशकुमार अग्रवालले पनि अहिले सम्म कुन जसपा रोज्ने भन्ने आधिकारिक निर्णय गरिसकेका छैनन्। बाँकेकै उनलाई पनि यादव नेतृत्वको जसपा शीर्ष तहबाट पुरानै पार्टीमा अडिग रहन लबिङ भइरहेको छ।’

 प्रदेश तहबाट भन्दा पनि यादव नेतृत्वको जसपा केन्द्रीय तहबाट पार्टी नछोड्न अनुरोध आइरहेको छ,’ सांसद अग्रवाल भन्छन्, ‘तर बाँकेको परिस्थति फरक छ।

इस्तियाक राईको प्रभाव बाँकेको जसपा राजनीतिमा निर्णायक बन्दै आइरहेको छ। फलतः तीनै जना बाँकेबाट सांसद बनेका जसपा सांसदहरू राईको फेरो नपकडे राजनीति समाप्त हुने जगजगीमा छन्। ‘जसपाको बाँकेको राजनीति इस्तियाक राईभन्दा बाहिर जान सक्दैन, यो सबैलाई जानकारी भएकै हो,’ सांसद अग्रवाल भन्छन्, ‘यसर्थ बाँकेको जसपाको राजनीतिक माहोल फरक बन्ने सम्भावना रहन्छ।’

त्यसो त, जसपा नयाँ र पुराना दुई दलले जनप्रतिनिधिलाई आफ्नो दलमा समावेश गर्न सक्रियता देखाइरहेका छन्। निर्वाचन आयोगले जसपाका सांसदलाई सनाखतका लागि आह्वान गरिसकेको छ। यसले गर्दा जनप्रतिनिधिहरू तानातानमा दुई जसपा सक्रिय देखिएका छन्। तर, बाँकेको हकमा भने यादव नेतृत्वको जसपा नीलको अवस्थामा रहने संकेत देखिएकाले यसको प्रभाव प्रदेश तहमा पनि पर्ने उच्च सम्भावना देखिएको छ। सांसद अग्रवालका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरमा ६ अध्यक्ष रहेको जसपाका सबै अध्यक्ष नयाँ दल जसपामा छन्।

यसैगरी, १४/१५ वडा सदस्यसमेत अशोक राई नेतृत्वको जसपामा प्रवेश गर्ने निर्णय गरेका छन्। यसैगरी, डुडुवा गाउँपालिकाका–३ का अध्यक्षसहित वडा सदस्य, जानकी गाउँपालिकाका दुई वडाध्यक्षसहित सदस्य नयाँ पार्टी जसपामा सनाखत गर्ने निर्णयमा पुगेका छन्।

‘बाँकेका स्थानीय तहमा यादव नेतृत्वको जसपा नील जस्तै भइसकेको छ,’ सांसद अग्रवालले भने, ‘यसरी हेर्दा बाँकेमा इस्तियाककै प्रभावमा जनप्रतिनिधि चल्ने वातावरण बनिसकेको छ।’

नेपालगन्ज उपमहानगरका उपप्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष पनि पुरानो जसपाबाट बाहिरिने सम्भावना देखिन्छ। ‘स्थानीय तहहरूमा याददव नेतृत्वको पार्टी निल हुने अवस्था बनेकाले अब हामी बाँकेकै सांसदहरू पनि फरक निर्णयमा पुग्ने सम्भावना त बढी हुने नै भयो,’ उनले भने, ‘तर सबै बसेर यसबारे निर्णय लिन्छौं, अहिलेसम्म निर्णय लिइसकेका छैनौं।’

इस्तियाकको प्रभाव रहेको बाँकेमा आफ्नो प्रभाव जोगाउन उपेन्द्र यादव समूहले पनि बढी चुनौती देखेको छ। उसले बाँकेका जनप्रतिनिधिलाई आफ्नै पार्टीमा जोगाउन बाँकेमा शक्ति केन्द्रित गरेको छ।

‘हामीलाई समस्या हुने देखिएको भनेको बाँकेको हो,’ यादव नेतृत्वको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले भने, ‘बाँकेमा जनप्रतिनिधि जोगाउनका लागि अहिले म नेपालगन्जमा छु।’

 केही वडाध्यक्षहरू नयाँ पार्टीमा सनाखतका लागि गएको भन्ने सुने पनि पालिकाका प्रमुख तथा उपप्रमुखहरू भने नयाँ पार्टीमा नजाने उनले दाबी गरे। ‘केही वडाध्यक्ष नयाँमा सामेल भएको भन्ने सुनिएको छ, तर पालिकाका प्रमुख उपप्रमुखहरू हामीसँगै हुनुहुन्छ, उहाँहरू कतै जानु हुन्न,’ यादवले भने, ‘हामी उहाँहरूसँग बसेर कुराकानी गरिरहेका छौं, उहाँहरू कतै पनि नजाने भनेर हामीलाई भनिरहनु भएको छ।’

इस्तियाक राईको गृह जिल्ला भएकाले जनप्रतिनिधि जोगाउन गारो देखेको यादव नेतृत्वको जसपाले अन्यत्र भने कुनै पनि समस्या नरहेको दाबी गर्छ। प्रदेशभर यो पार्टीका ६ स्थानीय तहका प्रमुख/उपप्रमुख छन्।

बाँकेको नरैनापुर गाउँपालिकामा प्रमुख तथा उपप्रमुख, नेपालगन्ज उपमहानगरपालिकामा उपप्रमुख, कपिलवस्तु नगरपालिकामा प्रमुख र उपप्रमुख तथा रूपन्देहीस्थित रोहीणी गाउँपालिकाका प्रमुख जसपाबाट निर्वाचित हुन्। बाँकेमा समस्या देखिएको भए पनि प्रदेशका अरू कुनै पनि जिल्लामा समस्या नभएको यादवले दाबी गरे।

‘बाँकेमा गाह्रो होला, तर अरू कुनै पनि जिल्लाका जनप्रतिनिधि कतै पनि जानुहुन्न,’ यादवले भने, ‘कपिलवस्तुका एकजना वडाध्यक्षको कुरा मात्रै नयाँमा जान खोजेको भन्ने हल्ला सुनेका छौं, हामीले उहाँलाई पनि सम्झाउने छौं, कतै जान दिँदैनौं।’

यता राई नेतृत्वको जसपाले यादव नेतृत्वको जसपालाई कमजोर पार्ने रणनीति अनुसार जनप्रतिनिधिलाई आफूमै समेट्ने रणनीति बनाइरहेको छ। यसै रणनीति स्वरूप पूर्वमन्त्री इस्तियाक केही दिनमै नेपालगन्ज झर्दैछन्।

प्रकाशित: २८ वैशाख २०८१ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App