२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारको लोभ देखाउँदै उम्मेदवार

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकएसँगै उम्मेदवारहरुले गाउँटोलमा चहलपहल बढाइरहेका छन्।

आफ्नो पक्षमा भोट बटुल्न स्थानीय स्तरको समस्या टिपोट गर्दै लोकप्रिय भावी योजनाहरुको बारेमा सपना देखाइरहेका छन्। आफू र आफ्नो पार्टीले नेतृत्व गरी सम्पन्न भएका विगतका विकासात्मक कार्यहरुलाई स्मरण समेत मतदाता समक्ष गराइरहेका छन्। त्यति मात्र होइन अवको प्रदेश र संघ सरकारको नेतृत्व आफू आवद्ध पार्टीले गर्ने जिकिर समेत उम्मेदवारहरुको रहेको छ।

'गठबन्धन दलहरुलाई विभाजित गराई दोश्रो पक्षले निर्वाचन जित्छु भन्नु मृगतृष्णा जस्तै हो। लोकतन्त्र र प्राप्त अधिकारको रक्षा गर्ने कि देशलाई प्रतिगमनकारीको हातमा सुम्पने त्यसको फैसला निर्वाचन मार्फत मतदाताले गर्नेछन्' सत्ता गठबन्धनको तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले भने, 'जनताहरु सत्ता गठबन्धनको पक्षमा छन्। मंसिर ४ पछि संघ र प्रदेशमा गठबन्धनकै नेतृत्वमा सरकार बन्नेछ।'

अघिल्लो निर्वाचनमा नुवाकोटको दुई वटै प्रतिनिधिसभा सदस्यमा र ४ वटै प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए। त्यस निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो। यस निर्वाचनमा ठीक विपरीत ढंगले चुनावी माहाेलअघि बढिरहेको छ। नेपाली काँग्रेस र माओवादी केन्द्रले एमालेलाई र एमालेले काँग्रेस र माओवादी केन्द्रलाई मुख्य प्रतिस्पर्धीको रुपमा लिएर खोचपेच गर्दै आइरहेका छन्।

'नेकपा एमालेको नेतृत्वमा अबको सरकार निर्माण हुन नसकेमा देश दुर्दशातर्फ धकेलिनेछ। गठबन्धनसँग पराजित हुने कल्पना समेत एमालेले गरेको छैन। नुवाकोटमा नेकपा एमालेको जित सुनिश्चित छ,' क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका नारायणप्रसाद खतिवडाले भने, 'जनताको नजिक रहेर काम गर्ने पार्टी नेकपा एमाले नै हो। अघिल्लो कार्यकालमा भएका कमजोरीलाई सुधार्दै नयाँ योजना र संकल्पसहित जनताको पक्षमा काम गर्न प्रतिबद्ध छु।'

यसअघिको निर्वाचनमा पनि नुवाकोट क्षेत्र नम्बर २ मा केसी र खतिवडाबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। यता क्षेत्र नम्बर १ मा पनि सत्ता गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका माओवादी केन्द्रका हितबहादुर तामाङ र नेकपा एमालेका बद्री मैनालीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट समकक्षी भइ तामाङ संघमा र मैनाली प्रदेशमा विजयी भएका थिए। यस पटक मुख्य प्रतिस्पर्धीकै रुपमा देखिएका छन्।

'भोली बन्ने भनेको पनि गठबन्धनकै सरकार हो। ठूलो कुरा गरेर जनताको माझमा अर्को व्यक्ति आउलान्। जत्ति ठूलो कुरा गरे पनि जित्ने होइन। एकाध व्यक्ति झुक्किएर विजयी भए पनि एमालेको नेतृत्वमा सरकार बन्दैन।' नुवाकोट क्षेत्र नम्बर १ मा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका तामाङले भने, 'अहिले सत्ता गठबन्धनमा भएकै दलहरुबाट मंसिर ४ पछि प्रदेश र संघको सरकार निर्माण हुन्छ। अधिकांश स्थानीय तहहरुमा पनि गठबन्धनकै नेतृत्व रहेको छ। तीन वटै तहको सरकार हाम्रै हुने भएकोले सहकार्य र समन्वयमा जनताको मन जित्ने गरी काम गर्न सहज हुनेछ।'

प्रतिनिधि सभा र प्रदेस सभा सदस्यको निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरुले ढुक्कको साथ विजयी हुने अभिव्यक्तिहरु दिइराखेका छन्। त्यस्ता अभिव्यक्तिलाई जनताको अत्याधिक मत प्राप्त गरी निर्वाचन जितेर जवाफ फर्काउने दाउमा नेकपा एमाले रहेको छ।

'नेकपा एमालेको अभियान भनेको रुपान्तरण हो। विकास र समृद्धि हो। केपी ओली नेतृत्वको सरकारबाट प्राप्त सिकाईलाई व्यवहारिकता दिदै र कमजोरीलाई सुधार्दै हामी अघि बढ्नेछौँ,' एमालेबाट क्षेत्र नम्बर १  मा उम्मेदवार रहेका मैनालीले भने, 'सत्ता गठबन्धनका उम्मेदवारले सजिलै जित्न सकिन्छ भनिरहेका छन्। मतदाता कहिल्यै स्थायी हुँदैन। गठबन्धनको नेतृत्वमा सरकार बनेसँगै अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रेको छ। भष्ट्राचार र महंगी बढेको छ। शुसासन बिग्रेको छ। सुरक्षामा चुनौती बढेको छ। जबसम्म एमालेले सरकारको नेतृत्व गर्दैन भत्किएका ट्रयाक सही मार्गमा आउँदैन। सरकारको नेतृत्व गर्ने अवसर मतदाता मार्फत एमालेलाई प्राप्त हुन्छ।'

मंसिर ४ पछि आफ्नो दलको नेतृत्वमा सरकार बन्ने, सकेसम्म मन्त्री मण्डलमा सहभागी हुने र जनताको नजिक रहेर काम गर्ने आश्वासनसहित उम्मेदवारहरुले मतदातालाई प्रभावित पारिरहेका छन्। यस निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेर चुनावी मावलमा होमिएका सत्ता गठबन्धन र एमाललेलाई मतदाताले पटकपटक जिताएर पठाए। यस पटक मतदाताले सरकारको नेतृत्व गर्ने अवसर कुन पार्टीलाई दिनेछ भन्ने प्रश्नको जवाफको लागि मंसिर चारलाई पर्खनुपर्नेछ।

प्रकाशित: २४ कार्तिक २०७९ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App