२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनुगमन टोली पुग्दा सामग्री गायब

गोरखा र तनहुँको बीचमा पर्ने मस्र्याङ्दी नदीमा आधारभूत मापदण्ड पनि पालना नगरी चरम उत्खनन भएको पाइएको छ। ढुंगा, गिटी, बालुवा उत्खननको मापदण्ड मिचेर पानीभित्रैबाट नदीजन्य पदार्थ उत्खनन गरेको समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समिति गोरखाले बुधबार अनुगमन गर्दा चरम दोहन भएको पाइएको हो।

गोरखाको शाहघाटमा अहिलेसम्म कति उत्खनन गरियो, नदीजन्य पदार्थ कति संकलन भयो, घाटगद्दी कहाँनिर हो भनेर निर्माण कम्पनीले देखाउन नसकेको जिल्ला समन्वय समिति (जिसस) का अधिकारी नानीबाबु पोखरेलले बताए। ‘नदीजन्य पदार्थ कहाँबाट कति झिक्ने भन्ने सीमांकन नै छैन,’ उनले भने, ‘सूचना पाटी पनि राखिएको पाइएन। नदीको बहाव नै परिवर्तन हुने गरी उत्खनन गरेको देखियो।’

बुधबार अनुगमन टोली पुग्दा पनि गोरखा नगरपालिका–१४ को शाहघाटमा तीनवटा एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन र चारवटा टिपरले निर्माण सामग्री संकलन गरिरहेकै थिए। नौ दिनदेखि यो काम चलिरहेको एक्साभेटर चालकले बताए। गोरखाको घाटबाट उत्खनन भएको ढुंगा, गिटी, बालुवा तनहुँतर्फ लगेर स्टोर गरिएको जनाइएको छ। निर्माण कम्पनीले अनुगमन समितिलाई घाटगद्दी नै नभएको र बुधबारबाट मात्रै संकलन सुरु गरेको भन्दै ढाँटेको छ। नारिम घाट, भैंसेटारलगायत ठाउँमा पनि उत्खनन भइरहेको र मापदण्ड पूरा नगरेको देखिएको जिसस अधिकारी पोखरेलले बताए। यी घाटमा गोरखा नगरपालिकाले ठेक्का लगाएको हो।  

१ लाख ४३ हजार ४६ घनफिट नदीजन्य पदार्थ उत्खनन गर्ने गरी शाहघाटको जिम्मा सुजन छिम्केश्वरी निर्माण सेवाले लिएको छ। उक्त कम्पनीले संकलन गरेको नदीजन्य सामग्री आँबुखैरेनी–पोखरा सडकखण्डको निर्माण जिम्मा लिएको चाइना कम्युनिकसेन एन्ड कन्ट्रक्सन कम्पनीलाई बिक्री गरेको छ। अनुगमनका क्रममा सम्झौताअनुसारका सर्तहरू निर्माण कम्पनीले पालना नगरेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले बताए। ‘अहिलेसम्म कति परिणाममा उत्खनन भयो, कति बाँकी छ भन्ने विवरण प्राविधिकलाई पेस गर्न भनेका छौं,’ उनले भने। विवरण आएपछि पुनः अनुगमन गरिने बताउँदै उनले तीनवटै घाटको जिम्मा लिएका निर्माण कम्पनीलाई सम्झौताअनुसार मात्रै उत्खनन गर्न भन्दै बुधबार पत्र काटिएको जानकारी दिए।  

नगरपालिकाको प्राविधिक नियमित रूपमा घाटमा नखटिँदा र सुरक्षाकर्मी नियमित रूपमा उपस्थित नहँुदा जिम्मा पाएको कम्पनीले मनोमानी गरेको अनुगमन समितिको निष्कर्ष छ। सोही क्रममा नारीघाट र गोरखा–१३ स्थित भेसेटार घाटमा पनि अनुगमन गरिएको थियो। भैंसेटार घाटमा पनि धमाधम नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। तर हालसम्म उत्खननका लागि चार किल्ला निर्धारण गरिएको छैन भने आयोजनाबारे सूचना बोर्डसमेत टाँसिएको छैन।  

प्रकाशित: ९ चैत्र २०७९ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App