२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखा–जितगढी पदयात्रा सुरु

गोरखा–जितगढी पदयात्रामा सहभागीहरु।

गोरखा जितगढी एकिकरण पदयात्रा २०७९ बुधवारदेखि सुरु भएको छ। गोरखादेखि तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी पुगेर बैशाख ७ गते यात्रा पुरा हुनेछ।

गोरखा दरबारबाट बुधबार विहान पृथ्वीनारायण शाहले एकीकरणको क्रममा स्थापना गरेका श्रीनाथ, कालिबक्स, बर्दबाणाी, सबुज, पुरानो गोरख, जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा र नेपालको राष्ट्रिय झण्डा सहित ४८ जना सेनाको टोलीलाई बिदाई गरिएको छ।

नेपालको इतिहासको जर्गेना गर्दै ऐतिहासिक महत्व बोकेका स्थानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यकाका साथ पदयात्रा गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए।

यो पदयात्रा नेपाली सेनाको आयोजना र स्थानीय तहहरुको सहयोगमा गोरखा–तनहुँ–स्याङजा–पाल्पा हुँदै रुपन्देहीको जितगढीसम्म पुग्नेछ। यात्रा दुई सय सात किलोमिटर दुरीको हुनेछ।  

नेपाली सेनाले कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने, इतिहास जोगाउने क्रममा पदयात्रा गर्न लागेको नेपाली सेनाका पश्चिम पृतनापति दिपक कुमार बानियाँले बताए।

नेपालको संविधानले सेनालाई राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्नुका साथै राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी सुम्पिएको बताउदै राष्ट्रियतालाई थप मजबुत बनाउन सेनाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको उनले बताए। जितगढीलाई युद्ध सग्रहालयका रुपमा विकास गर्न विभिन्न पुर्वाधाहरु निर्माण भइरहेको उनले बताए। नेपालको विगतको इतिहासको जर्गेना गर्दै वर्तमानलाई भविष्य सम्म जोड्ने विशुद्ध योजना अनुरुप पदयात्रा सुरु गरिएको उनको भनाइ छ।

यात्रा चैत २९ गते गोरखाको पालुङ्टार सतिघाटबाट तनहुँलाई हस्तान्तरण गरिनेछ। तनहुँमा चैत ३०, बैशाख १ र २ गते यात्रा रहनेछ भने बैशाख ३, ४, ५, ६ गते टोली पाल्पा पुग्नेछ। ७ गते सतिघाटमा यात्रा भब्यताका साथ समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ।

यात्रामा सहभागी नेपाली सेनाको टोलीलाई पश्चिम पृतनापति हेड क्वाटरका दिपक कुमार बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर रानामगर, गोरखा नगरपालिका प्रमुख कृष्ण राना, उपप्रमुख मसली माया थोकर, गोनपाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल लगायतले विदाई गरेका थिए।

त्यस्तै सेनाले यसअघि पनि पृथ्वीनारायण शाहले काठमाण्डौँसम्म यात्रा गरेको बाटो गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाण्डौँसम्म टर्च बालेर पदयात्रा गरेको थियो। नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने कार्यक्रम, गतिविधि पनि गोरखासँग जोडिएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताए।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले नेपाली सेनासँग जोडिएर गोरखा र त्यो पनि गोरखा नगरपालिकाले इतिहासको संरक्षण गर्ने काम गरिरहेको बताउँदै यो खुसीको कुरा भएको बताए। साथै उनले पर्यटन प्रर्वद्धनका लागि पनि फाईदा हुने बताए।

गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले सेनाको पदयात्राले नेपाल एकीकरणको उद्गमस्थलको महत्व अझै बढाएको बताइन्। नेपाल सेनाका ऐतिहासिक क्षेत्रको पदयात्राले नेपाली, नेपालीहरु बीचको सम्वन्धलाई झन नजिक बनाएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताए। सेनाले पदमार्गमा रहेको ऐतिहासिक महत्व तथा पुरातात्विक बस्तुहरुको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए।

यो पदयात्रा एकदुई दिन सेनाले मात्र नभइ सबै स्थानका स्थानीय र स्थानीय सरकारले पनि स्वामित्व लिएर काम गर्नुपर्ने सरोकारावालाहरुले बताएका छन्।  

प्रकाशित: २९ चैत्र २०७९ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App