३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

निलम्बित सांसद साहविरुद्ध भ्रष्टाचार मुद्दा, विगो र जरिवानासहित ६३ करोड असुल गर्न माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर बम काण्डको मुद्दामा थुनामा रहेका निलम्वित सभासद सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री समेत रहेका साहले अवैध रुपमा विभिन्न स्रोतहरुवाट पदको दुरुपयोग गरि ३१ करोड ५० लाख २६ बरावरको भ्रष्टाचार गरेको दावी अख्तियारको आरोपपत्रमा गरिएको छ। अख्तियारले विगो बरावरको जरिवाना समेत साहवाट असुल हुनुपर्ने दावी गरेको छ। ६३ करोड विगो र जरिवाना साहवाट असुल हुनुपर्ने अख्तियारको आरोपपत्रमा दावी गरिएको छ।

साहले सार्वजनिक पद धारण गरेको अवधिमा उनी तथा निजका परिवारका सदस्यहरुका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्महरुका कारोवार,ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीहरुका नामबाट भएका आर्थिक कारोवार तथा परिवारका सदस्य लगायतका नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्बन्धमा तथ्य प्रमाणहरुलाई छानविन एवं बिश्लेषण गरी हेर्दा उनले गरेको वैध आयको तुलनामा एकतीस करोड पचास लाख छब्बीस हजार पाँचसय उनान्साठी रुपैयाँ सत्ताईस पैसा बराबरको सम्पत्ति गैरकानूनी देखिएको अख्तियारले जनाएको छ।

साथै साहले बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार साह, र आफ्नो नामको कम्पनी तथा व्यवसायिक फर्मका कर्मचारीहरु राम मिलन राउत कुर्मी र मनोज कुमार सिंहको श्रीमती निलम सिंह समेतको नाममा आफूले गैर कानूनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको अख्तियारले बताएको छ।

सम्पत्ति लुकाएको भन्दै साधु साह सुडी, दुलारी देवी सुडी, रंगिला देवी, रामकुमार साह, राम मिलन राउत कुर्मी र निलम सिंह समेतलाई प्रतिवादी कायम गरी अदालतमा अख्तियारले आरोपपत्र दायर गरेको छ।

प्रकाशित: २५ पुस २०७३ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App