२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमै विकले गरे महिलाको हत्या

तस्बिर:जिल्ला प्रहरी कार्यालय रुकुम

देशैभर कैद मिनाहाको बहस चलिरहँदा रुकुममा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर रुकुम कारागारबाट कैदमुक्त भएका रुकुम पश्चिम सानी भेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले महिलाको हत्या गरेका हुन्। असल आचरण रहेको भन्दै रुकुम कारागारबाट मुक्त भएका ८ जना मध्य लोकबहादुर पनि एक हुन्। 

लोकबहादुरले मुसिकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना विकको हत्या गरेको रुकुम पश्चिम प्रहरी प्रहरी प्रमुख (डिएसपी) नमराज भट्टराईले बताए। ‘आरोपी लोकबहादुरले हत्या गरेको स्वीकार गरेको साथै प्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको छ। उनी संविधान दिवसका अवसरमा कैद मिनाहा पाएर छुटेका व्यक्ति हुन्,’ उनले भने।

बुधबार पत्रकार सम्मेलन गरेको प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत सहयोग लिएको थियो।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पछि कैदमुक्त भएकाले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसिकोट नगरपालिका –१ खलङ्गा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको भनाइ छ। अघिल्लो दिन होटेल पुगेका उनीहरुले श्रीमान् श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्बर १ मा बसेका थिए। 

होटेलको कोठा २ दिन देखि बन्द भएकोले होटेल सञ्चालकले प्रहरीको सहायतामा कोठा पुग्दा सिरकले छोपिएको अवस्थामा महिला भेटिएको थियो। घाँटीमा धारिलो चक्कु प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ। प्रहरीले दुई बिचमा सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको अनुमान गरेको छ। मृतकका श्रीमान् र हत्या आरोपीको श्रीमती हाल वैदेशिक रोजगारीमा छन्।

प्रतिवादी कारागार मुक्त भए यता २५ दिनमा १ सय २४ पटक दुई जना बिचमा मोबाइलमा कुराकानी भएको र कारागारमा रहँदा मृतक महिला दुई पटक भेट्न गएको कुरा समेत खुल्न आएको प्रहरीले बताएको छ। ‘संविधान दिवसमा कैद मिनाहा पाएका ८ जना मध्य लोकबहादुर पनि एक हुन्। यहाँ बस्दा उनको आचरण राम्रो थियो।’ निमित्त जेलर अकबर घर्तीले भने ‘मृतक महिला लोकबहादुरलाई बेलाबेलामा भेट्न आउनुहुन्थ्यो।’

हत्या आरोपी लोकबहादुरले बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए। उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाइएका लोकबहादुर २०७९ फागुन १४ गते कैद परेका थिए। अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए। २०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने उनलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो। कैद भुक्तान गर्न ३ महिना २३ दिन बाँकी रहँदै कैदमुक्त भएका उनले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन्। प्रहरीले लोकबहादुर विरुद्ध कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ। 

प्रकाशित: २ कार्तिक २०८० १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App