२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धरहराको पार्किङ नहटाउने पक्षमा मेयर बालेन

धरहरा क्षेत्रमा खुला गरिएको पार्किङको विषयलाई लिएर काठमाडौं महानगर र सहरी विकास मन्त्रालयबीच विवाद चुलिएको छ।

महानगरले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको अन्डर ग्राउन्डमा पार्किङको व्यवस्था गरेको थियो।

महानगरले आफूखुसी छलफलै नगरी पार्किङ खुला गरेको भन्दै सहरी विकास मन्त्रालयले असन्तुष्टि जनाइरहेको छ। धरहरा निर्माण कार्य सम्पन्न नभएको भन्दै महानगरलाई पत्र समेत लेखेको छ।

यति मात्र होइन मन्त्रालयले महानगरसँग समन्वय गर्न खोज्दा पनि महानगरले समन्वय नगरेको मन्त्रालयको आरोप छ।

पार्किङको विषयलाई लिएर सहरी विकास मन्त्रालयले महानगरलाई दुई वटा पत्र समेत पठाएको छ। मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते गरी दुई वटा चिठी पठाएको थियो। तर काठमाडौं महानगरका मेयर बालेन शाहले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन्।

दुई/दुई पटक पत्र पठाउँदा समेत मेयर शाहले त्यसको कुनै जवाफ नदिएको मन्त्रालयका उच्च पदाधिकारीहरू रुष्ट छन्। मन्त्रालयले मेयर बालेनसँग पनि यस विषयमा कुरा गर्न खोजेको थियो। तर मेयर सम्पर्कमै आउन नचाहेको मन्त्रालयको आरोप छ।

तर यता काठमाडौँ महानगरले भने धरहरा क्षेत्रमा खुला गरिएको पार्किङको विषयलाई लिएर पछि नहट्ने जनाएको छ। पार्किङबाट पाइरहेको सेवाबाट जनताहरूलाई वञ्चित नगर्ने पक्षमा महानगर छ।

महानगर स्रोतका अनुसार मेयर बालेन सहरी विकास मन्त्रालयले पठाएका दुई वटै पत्रको जवाफ पठाउने तयारीमा छन्। ‘हामीले १/२ दिन भित्रै पत्र पठाउँछौँ’, सचिवालयका एक सदस्यले नागरिकन्यूजसँग भने। उनले भने, ‘मन्त्रालयबाट पत्र आएका छन्। त्यसको जवाफ हामी एक, दुई दिनमै पठाउने छौँ।’

अहिले भइरहेको पार्किङ नहटाउने गरी मन्त्रालयको पत्रको जवाफ दिने तयारीमा मेयर बालेनको सचिवालय लागिरहेको छ।

धरहरा क्षेत्रको पार्किङ जनताहरूको सेवासँग जोडिएकाले मन्त्रालयले यो विषयलाई त्यति ठुलो बनाउन नपर्ने सचिवालय बताउँछ। यो विषयलाई महानगरले सामान्य रूपमा लिएको र धरहरामा पार्किङ नदिए अन्य विकल्प नभएको महानगर बताउँछ।

पार्किङ क्षेत्रमा व्यवस्थापन नभएको भन्ने विषयमा भने अहिले महानगरले त्यो व्यवस्थापन गरिसकेको सचिवालयले बताएको छ।

सचिवालय भन्छ, ‘उक्त क्षेत्रमा सबै संरचना बनिसकेको छ। त्यहाँ आगो निभाउने यन्त्र जडान र बत्तीको काम बाँकी थियो। त्यसमा आगो निभाउने यन्त्र महानगरले जोडिसकेको छ। बत्तीको अस्थायी व्यवस्थापन भइरहेको छ। त्यसलाई चाँडो सकाउने काम गरिरहेका छौँ।’

यता धरहराको काम गरिरहेको रमन कन्स्ट्रक्सनले अहिले पनि धरहरामा पार्किङको काम भइरहेको भन्दै काम भइरहेको बेला पार्किङ खुला गर्ने निर्णयले काममा अवरोध आएको जनाएको छ। यसबापत उक्त कम्पनीले मन्त्रालयसँग क्षति पूर्ति माग्ने बताएको छ।

तर धरहरा निर्माण कम्पनीले भने आफूहरूसँग केही नभनेको सचिवालयले जनाएको छ। ‘निर्माण कम्पनीले हामीहरूसँग केही भनेको छैन। हामीले कुरा गर्दा त्यस्तो केही प्रतिक्रिया दिनुभएको छैन। अन्यलाई भन्नुभएको भए हामीलाई जानकारी भएन,’ सचिवालय भन्छ।

गत माघ १४ गतेदेखि महानगरले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ खुला गरिदिएको थियो। महानगरले मन्त्रालयसँग समन्वय र जानकारी नगराई एकलौटी ढंगबाट पार्किङ खुला गरेको भन्दै सहरी विकास मन्त्रालयले आपत्ति जनाएको हो।

यसबाट सहरी विकास र काठमाडौँ महानगरबीच टकराब उत्पन्न भएको छ।

प्रकाशित: २९ माघ २०८० १९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App