२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन करोड लगानीमा विद्युतीय दाह संस्कारस्थल

इटहरीमा रहेको बुढीगंगा जमुना मुक्तिघाट। तस्बिर: नागरिक

दशकअघिसम्म इटहरीको बुढीखोला नदी जुन मसानघाटले परिचित थियो। मानिसको मृत्युपछि लास जलाउने ठाउँको नामले चिनिए पनि व्यवस्थित भने थिएन। जताततै फोहोर त थियो नै नदीछेउछाउ अनधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेर बस्ती कटानको उच्च खतरा थियो। तर, त्यो ठाउँ यति बेला आकाशपाताल फरकको अवस्थामा छ।

अहिले त्यो ठाउँ बुढीगंगा जमुना मुक्तिघाटले परिचित छ। धार्मिक पर्यटकीय स्थलको रूपमा पनि विकसित हुँदो छ। इटहरीकै समाजसेवी हेमप्रसाद घिमिरेको अगुवाइमा व्यवस्थित आर्यघाट निर्माण गर्ने योजनाका साथ १० करोड रूपैयाँ खर्चेर २०७१ सालतिर काम पूरा गरेपछि यसको पुरै परिचय फेरिएको हो।

यही स्थानमा यतिबेला सुनसरीको इटहरी, धरानसँगै उत्तरी मोरङको सुन्दर हरैंचालगायतका मानिसको मृत्यु हुँदा दाहसंस्कारका लागि ल्याउने गरिएको छ। यहाँ दाहसंस्कार गर्न जहिल्यै ठाउँ अभाव हुने गरेको छ। यस क्षेत्रमा यतिबेला चारवटा दाहसंस्कारस्थल छन्।

दाहसंस्कार गर्ने समस्या कम गर्न अब यस क्षेत्रमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ। करिब तीन करोड ५० लाख रूपैयाँ लागतमा विद्युतीय दाहसंस्कार स्थल बन्न लागेको हो।

इटहरी उपमहानगर र कोसी प्रदेश सरकारको साझेदारीमा विद्युतीय शवदाह निर्माण हुने पक्का भएको हो। यसका लागि बिहीबार कोसी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितिमा इटहरी–४ मा रहेको बुढीजमुना मुक्तिघाट किनारमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो।

विपन्न तथा गरिबहरूलाई दाउरा महँगो पर्ने र समय पनि धेरै लाग्ने भएपछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर पौडेलले बताए।

दाउराले जलाउँदा दुईतीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ। अहिले इटहरीको बुढी जमुना मुक्तिघाटमा सरदर पाँचवटा शवको दाहसंस्कार हुने गरेको छ। 

प्रकाशित: १९ फाल्गुन २०८० ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App