२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिका लागि भोट हाल्न पाउने

मार्च १५ देखि १७ सम्म हुने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालमा पनि मतदानस्थल रहने नेपालस्थित रसियाली दुतावासले बताएको छ। नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राख्ने रसियाली राजदुतावासले बताएको छ।  

दुतावास प्रतिनिधि अलेक्जेन्डर इभासेभका अनुसार पोखरामा मार्च १५ (चैत २) र काठमाडौंमा मार्च १७ (चैत४)का दिन निर्वाचन हुनेछ। नेपालस्थित रसियाली दुतावासका कर्मचारी तथा घुमघामका लागि आएका पर्यटकले पनि राष्ट्रपतिका लागि मत दिन सक्नेछन्। कर्मचारी र पर्यटकको सहजताका लागि मतदानस्थल राख्न लागेको उनले बताए।

नेपालमा स्थायी रुपमा बसेका करिब २ सय रसियाली कर्मचारीले भोट हाल्ने उनले बताए। त्यसबाहेक त्यो बेलासम्म घुम्न आउने रसियाली नागरिकले पनि आफ्नो अनुकुल पारेर पोखरा वा काठमाडौंबाट सिधै मत दिन पाउनेछन्। उनका अनुसार पोखरामा होटल बाराहीमा मतदानस्थल तय गरिएको छ। काठमाडौंमा भने दुतावासमै मतदानस्थल रहनेछ।

‘मार्च १५ का दिन बिहान ८ देखि मध्यान्ह १२ बजेसम्म पोखराबाट मतदाताले मत दिन पाउनेछन। तर, मत दिनका लागि मतदाताले अनिवार्य रुपमा राहदानी देखाउनुपर्नेछ,’ उनले भने । उनका अनुसार त्यो बेलासम्म नेपाल आउने रसियन पर्यटकको संख्या यकिन नहुने भएकोले कति मतदाताले मत दिनेछन् भन्ने यकिन छैन। ‘उमेर पुगेको अवस्थामा आएका जो कोही रसियाली मतदाताले मत दिन सक्छन,’ उनले भने, ‘तर, पासपोर्ट भने अनिवार्य रुपमा देखाउनुपर्नेछ।’

मतदानस्थलको व्यवस्थापन र सुरक्षाका लागि सरकारसँग अनुमति समेत लिईसकेको उनले बताए। उनका अनुसार देश बाहिर रहेका नागरिकलाई पनि मताधिकार दिनका लागि यो व्यवस्था लागु गरिएको हो। यसो गर्दा कोही पनि मतदाता मतदान गर्न बाट बञ्चित नहुने उनले बताए।

‘सिधै राष्ट्रपतिका लागि मत दिन पाउने भएकोले मतदाता भएको ठाउँमा यो व्यवस्था गरिएको हो। नेपालमा रसियाली नागरिक रहने सम्भावित ठाउँमा मात्र मतदातको व्यवस्था गरिएको हो,’ उनले भने, ‘घुमघामका लागि आएका पर्यटक मतदातका दिनसम्म पोखरा वा काठमाडौं पुगिसक्नुपर्नेछ।’ नेपाल बाहेक अन्य मुलुकमा पनि मतदानस्थल रहनेछन। करिब १९ लाख रसियाली मतदाताले रसिया भन्दा बाहिरका मुलुकबाट मतदान गर्नेछन।

रसियाले आफ्ना नागरिकका लागि मतदानको लागि गरेको यो नयाँ अभ्यास भने होईन। यसअघि सन् २०२१ मा भएको संसदीय निर्वाचनमा पनि पोखरा र काठमाडौंमा मतदानस्थल राखेर मतदातालाई मत दिन सहजीकरण गराएको थियो।  

रसियाली राष्ट्रपतिको निर्वाचनमा चारजना उम्मेद्वार चुनावी मैदानमा छन। वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन। पाँचौपटकको कार्यकालका लागि पुटिन निर्वाचनमा होमिएका छन। पुटिन् २००४ मा पहिलोपटक रसियाको राष्ट्रपति निर्वाचित भएका थिए। उनी सन् २००८ मा प्रधानमन्त्रीका लागि निर्वाचित भएका थिए। उनका अनुसार चारवर्षको राष्ट्रपतिय कार्यकाल यो पटक बढाएर ६ वर्ष पुर्याइएको छ। पुटिनसँगै न्यू पिपल पार्टीका भ्लादिस्लाभ डाभान्कोट, नेशनलिष्ट लिवरल डेमोक्रयाटिक पार्टीका लिओनिड स्लुत्स्की, कम्यूनिष्ट पार्टीका निकोलाइ खरितोलोभ रहेका छन्।  

प्रकाशित: २२ फाल्गुन २०८० १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App