२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्यान्सरपछि साइकलमा सुरु ध्रुवप्रसादको जीवनयात्रा

सिक्किम यात्राको क्रममा कात्तिकको दोस्रो साता दार्जिलिङमा दुर्घटनामा परेपछि ध्रुवबहादुर हुमागाईं। उनले त्यतिबेला यात्रा बीचैमा छाड्नुपरेको थियो। तस्बिर : नागरिक

हिम्मत नहारे आँटेको काम पूरा हुन्छ। यो कथनलाई चार वर्षदेखि फोक्सोको क्यान्सरसँग लड्दै आएका जोरपाटीका ५३ वर्षीय ध्रुवप्रसाद हुमागाईंले पुनः यथार्थमा बदलेका छन्। क्यान्सरपीडितलाई जीवनप्रति उत्साह जगाउने अभियानमा लागेका उनले विभिन्न अवरोध पार गर्दै भर्खरै काठमाडौंदेखि सिक्किमसँगको साइकल यात्रा पूरा गरेका छन्।  

कात्तिकको दोस्रो साता साइकल यात्रामा निस्केका उनले भारतीय सहर दार्जिलिङमा दुर्घटनामा परेपछि यात्रा बीचमै त्याग्नुपरेको थियो। लामो समयको उपचारपछि निको भएका उनले उक्त यात्रा पूरा गरेका हुन्। उनको अनुहारमा र हातमा गम्भीर चोट लागेको थियो। हातको औंलाको उपचारका लागि उनले नियमित फिजियोथेरापी गराए। साइकल चलाउन सक्ने भए पनि उनले पुनः यात्रा सुरु गरे।

शुक्रबारबाट यात्रा सुरु गरेका उनले सोमबार सिक्किम पुगेर खुसी साटे। ‘आँटेको काम पूरा गर्न नसक्दा बीचका केही महिना असहज महसुस भयो,’ सिक्किमको गान्तोक पुगेका उनले नागरिकसँग भने, ‘अहिले म निकै खुसी छु।’

यो उनको पहिलो यात्रा होइन। यसअघि पनि उनले काठमाडौं–भरतपुर, मेची–महाकाली, काठमाडौं–त्रिशूली पूरा गरिसकेका थिए। तर यो यात्रा भने उनका लागि निकै चुनौतीपूर्ण रह्यो। ‘केही महिनाअगाडि दार्जिलिङमा लडेर यात्रालाई पूरा गर्न सकिनँ। आज म गान्तोकसम्म आउन सफल भएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो यात्रामा साथ दिनुहुने सबैलाई नमस्कार !’ 

क्यान्सरसँग लड्दै आएका ध्रुवप्रसाद अहिले आफ्नो जीवन जोगाउन मात्र होइन, अरूको जीवन बचाउनसमेत लागिपरेका छन्। क्यान्सर जीवनको अन्त्य होइन, नयाँ जीवनको सुरुआत पनि हो भन्ने भनाइलाई यथार्थतामा बदल्दै गरेका उनले आफूलाई हेरेर अन्यले हिम्मत बटुलेको सुनाए। सुरुमा क्यान्सर लागेपछि उनलाई चिकित्सकले तीन महिनाको समय दिएका थिए। तर उनले हिम्मत हारेनन्। अहिले उनको जीवनप्रतिको उत्साह झनै बढेको छ।

फोक्सोको क्यान्सरसँग लडिरहेका उनी सिक्किम यात्रा पूरा गरेसँगै विजयी योद्धाजस्तै देखिन्थे। काठमाडौंदेखि सिक्किमसम्म साइकल यात्राका क्रममा भेटिएका क्यान्सर बिरामीहरूलाई हौसला बढाउने काम गरे। अस्पतालमा पुगेर त्यहाँ रहेका बिरामीलाई भेट्थे। आफ्नो यात्राबारे सुनाउँथे। उनले हरेकलाई आफ्नो विगत र अहिलेको अवस्था सुनाउँदै गए। जसका कारण बेडमा रहेका निराश बिरामीमा पनि उत्साह देखिएको उनले बताए।

क्यान्सर भन्नेबित्तिकै धेरैले जीवनको अन्त्य ठान्ने गरेको बुझेर त्यो धारणा बदल्न आफू लागिपरेको उनी बताउँछन्। पारिवारिक साथ, नियमित औषधि र राम्रो अस्पतालमा उपचार गराए अन्य रोगजस्तै क्यान्सर पनि निको हुने उनको बुझाइ छ। क्यान्सर लागेको थाहा पाएपछि सुरुका केही दिन निराश बनेका उनले हिम्मत नहारे क्यान्सरलाई पनि पराजित गर्न सकिने बताए। ‘नेपालमा जाँच गराउँदा अन्तिम अवस्था हो, बढीमा तीन महिना भन्ने खबर परिवारलाई दिएको थाहा पाएँ,’ उनले भने, ‘केही समय निराश बनें तर पछि हिम्मतका साथ अगाडि बढें।’

राज्यले क्यान्सर रोगीलाई दिने गरेका मासिक ५ हजार उपचार खर्चभन्दा पनि उपचारका विधि–प्रविधि सहज र प्रभावकारी बनाइदिए अझ राम्रो हुने उनको धारणा छ। ‘पैसाभन्दा पनि प्रभावकारी उपचार चाहियो,’ उनी थप्छन्, ‘यसो भयो भने स्वदेशमै उपचार पाउनेछन्।’ क्यान्सर बिरामीलाई उपचारसँगै उत्साहको पनि आवश्यकता भएको भन्दै सरकारले उत्साह जगाउने कार्यक्रम ल्याउनुपर्ने बताए। ‘बा“च्नलाई प्रेरित गर्ने कार्यक्रम ल्याउनुप¥यो,’ उनी भन्छन्, ‘त्यसो गर्न सके निराश रहेका क्यान्सर बिरामीलाई उत्साह जगाउने काम गथ्र्यो।’

किन साइकल ?  

घरमा गाडी र मोटरसाइकल भए पनि सबैसँग सजिलो भेटघाट होस् भन्ने मनशायले साइकल चढ्न थालेको उनले बताए। साइकल चढ्दा व्यायाम पनि हुने अनि सबै वर्गमा पुग्न सकिने उनले सुनाए। अन्य समयमा पनि दैनिक दुई घण्टा साइकल चढ्ने गरेको उनले बताए। साइकलले जमिनसँग पनि जोड्ने अनि धेरै जनामाझ पुर्‍याउने गरेको उनले बताए।

‘साइकलमा जीवन माटोसँग जोडिँदै गतिशील हुन्छ,’ उनले भने, ‘साइकलले खेतको आलीदेखि राजमार्गका लेन सजिलै पार गराउँछ।’ साइकल यात्राले जीवनयात्रामा थप सहजता दिएको उनको बुझाइ छ। ‘सफलतासँगै जीवनमा थप ऊर्जा थपिएको छ,’ उनले भने, ‘यस्तै सफलताको ऊर्जाले मेरो जीवनयात्रा साइकलजस्तै निरन्तर चलिरहनेछ।’

प्रकाशित: ३० फाल्गुन २०८० ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App