१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पोखरादेखि काठमाडौं पुग्न २० घण्टा !

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको सकस। तस्बिरः नागरिक

विहीबार बिहान साढे ७ बजे पोखराबाट छुटेको ग्लोबल भ्याकेसन कम्पनिको पर्यटक बस शुक्रबार बिहान ३ बजे मात्र काठमाडौं पुग्यो। सामान्य अवस्थामा सातघण्टामा पुरा हुने पोखरा–काठमाडौं (२ सय किमि) यात्रा पुरा गर्न विहीबार करिब २० घण्टा लाग्यो। सरासर जान पाएको भए त्यो बस विहीबार दिउँसो २ बजे नै काठमाडौं पुगिसक्थ्यो।  

त्यस्तै त्यही कम्पनिको बस काठमाडौंबाट पोखरा आउँदै गर्दा १३ घण्टा लाग्यो। बिहान ७ बजे काठमाडौंबाट छुटेको बस पोखरा आइपुग्दा बेलुकी ८ बजेको थियो। खासमा त्यो बस दिँउसो ३ बजेभित्रै पोखरा आईपुग्नुपर्ने हो। तर, सडकको हैरानीले गर्दा घन्टौ बढी समय लागेको थियो।

दुईसाता अघि मात्र सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो। पर्यटकीय राजधानी घोषणा भएपछि अघिल्ला वर्ष भन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने अपेक्षा पोखरेली व्यावसायीको छ। तर, विदेशी र स्वदेशी दुवैखाले पर्यटक आउने मुख्य सिजनमा राजमार्गमा आइपरेको सास्तीले पर्यटन क्षेत्र खुसी छैन।  

बालबालिकाको वार्षिक परीक्षा सकेर यो बेला आन्तरिक पाहुना पोखरा आउने व्यावसायीको अपेक्षा थियो। तर, राजमार्गको सास्तीले सिजनका आन्तरिक पाहुना पनि प्रभावित हुने चिन्ता व्यावसायीको छ। पर्यटकीय राजधानीलाई गिज्याउँने गरि अहिले राजमार्गको यात्रा सास्तीपूर्ण बनेको व्यावसायीको गुनासो छ।  

पछिल्लो पटकको वर्षाले बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग यतिबेला हिलाम्य छ। राजमार्ग यतिसम्म जोखिमपूर्ण बनेको छ की कुनैपनि ठाउँमा गाडी चिप्लिने र भाँसिने त्रास छ। हिलोमा फस्ने पनि उत्तिकै समस्या छ। साँघुरा डाईभर्सनमा भारी सवारीलाई गुड्न झनै सकस छ। त्यसले गर्दा अहिले पोखरा आउजाउ गर्ने सवारीले राजमार्गमा सकस खेपेका छन । त्यसको मार यात्रुलाई छ। 

‘पर्यटक आउने त कुरै छाडौं गन्तव्य तय गरेका र आइसकेका पर्यटकलाई फर्किन पनि सकस छ। यात्रुलाई कसरी गन्तव्य पुर्याउन सकिन्छ भन्ने चिन्ता थपिएको छ,’ ग्लोलब भ्याकेसन बस कम्पनिका संचालक समेत रहेका नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष हरिराम अधिकारी भन्छन, ‘यो बेला आन्तरिक पाहुना पोखरा भित्रिने समय हो। विदेशीका लागि पनि मुख्य सिजन हो। तर, राजमार्गको हैरानीले गर्दा पर्यटकीय सिजन प्रभावित हुने अवस्था देखिएको छ।’

बस चढेका यात्रुलाई बेलैमा गन्तव्यमा पुर्याउन नपाउँदा यात्रुले त सास्ती खेप्छन, नै त्यसको मार व्यावसायीलाई पनि पर्ने उनले बताए। उनका अनुसार झन्डै १२ घण्टा ढिलागरि शुक्रबार बिहान ३ बजे काठमाडौं पुगेका यात्रुलाई उज्यालो नहुन्जेल बसमै राखेर उज्यालो भएपछि मात्र गन्तव्यमा पठाइएको थियो। सहज हुने यात्रु आफै ओर्लेर गएपनि केही यात्रु उज्यालोको पर्खाइमा बसमै स्ुतेका थिए। त्यत्तिमात्र नभई विहीबार दिउँसो काठमाडौं पुगेर शुक्रबार बिहान पोखराका लागि छुट्नुपर्ने बसका लागि अर्कै चालक व्यवस्थापन गर्नुपरेको थियो।

‘करिब २० घण्टासम्म जागै रहेर शुक्रबार बिहान ३ बजे काठमाडौं पुगेका चालकलाई बिहान ७ बजे यात्रु लिएर पोखरा फर्क भन्न सकिने अवस्था रहेन,’ उनले भने, ‘त्यो अवस्थामा अर्काे चालक व्यावस्थापन गर्नुपर्यो। त्यो पनि जटिल पक्ष हो।’

उनका अनुसार अहिले राजमार्गको अवस्था यति दयनीय छ की कताबाट गाडी गुडाउने भन्ने पनि यकिन छैन। हिलो र भेलले गर्दा कहाँ गाडी चिप्लिने भन्ने यकिन छैन। चालकलाई सडकको ट्रयाक पहिचान गर्न पनि समस्या पर्ने गरेको उनले बताए। ‘हिलोमा फँसेर गाडी नै निकाल्न सकस हुने अवस्था छ। कतिपय ठाउँमा त चिप्लिएर दुर्घटनामा पर्ने हो की भन्ने त्रास छ,’ उनले भने, ‘राजमार्गमा पानीको निकास नहुँदा यो समस्या बढेको हो। यसलाई सहज नबनाएसम्म गाडी चलाउन हम्मेहम्मे पर्छ।’

यही अवस्था रहिरहेमा सिजनको पर्यटन प्रभावित हुने पक्का रहेको उनले बताए। ‘अहिले हिलोको सकस छ। केहीदिनपछि त्यही हिलो सुकेर धुलो बन्दा त्यो बेला पनि उत्तिकै सकस थपिनेछ,’ अधिकारीले भने, ‘पोखरा–मुग्लिन मात्र नभई मुग्लिन–काठमाडौं खण्डमा पनि उत्तिकै सकस छ।’  

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सडक अहिले दुई खण्डमा बाँडेर बिस्तार भईरहेको छ। पूर्विखण्ड(आँबुखैरेनी–जामुने ४१ किलोमिटर) र पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पर्छ। पश्चिमको तुलनामा पूर्वी खण्डको काम धेरै नै सम्पन्न भईसकेको छ। पूर्वी खण्डमा अहिलेसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको त्यस खण्डका प्राविधिकले बताएका छन।

पोखरा–मुग्लिनको पूर्वी खण्डका सूचना अधिकारी विष्णु पाण्डेका अनुसार पूर्वी खण्डमा राजमार्गको धेरै भाग कालोपत्रे पनि भईसकेको छ। केही खण्ड कालोपत्रेका लागि तयारी अवस्थामा छ। तर, वर्षादले गर्दा केहीदिन पखिर्नुपर्ने अवस्था छ । कालोपत्रे नभइसकेपनि सतह समथर बनाइएकोले पूर्वी खण्डमा उत्ति सकस छैन।  

‘कालोपत्रे नभइसकेपनि समथर मिलेकोले पूर्वी भेगमा उत्तिसारो सकस छैन,’ उनले भने। उनका अनुसार अहिले पूर्वी भेगमा १४ किलोमिटर दुइतर्फी र १२ किलोमिटर एकतर्फी कालोपत्रे भईसकेको छ। एकतर्फी १२ किलोमिटरमा पनि दोहोरो गाडी चलाउन मिल्छ, जुन पहिलेको भन्दा पनि फराकिलो छ। पूर्वी खण्डमा पर्ने ४१ किलोमिटर मध्ये २६ किलोमिटरको कालोपत्रे खण्डमा गाडी गुड्ने हुँदा सहज भएको उनले बताए।  

‘बजार क्षेत्र, कालोपत्रे हुन नसकेको खण्ड, डाईभर्सन, पहिरो खस्ने र हिलोमा फस्ने सम्भावना भएको ठाउँमा उपकरण तयारी अवस्थामा राखेर सडक अवरुद्ध हुन नदिने गरि तयारी गरेका छौं,’ पाण्डेले भने, ‘अनुमान गरे भन्दा पानी बढी प¥यो। त्यसले गर्दा पनि केही समस्या भएकै हो।’ वर्षाका कारण अहिले काम प्रभावित भएको पनि उनले बताए। कालोपत्रे गर्नका लागि तयार पारिएको खण्डमा पनि काम गर्न नसकेको उनले बताए। वर्षाको प्रभाव अझै केहीदिन रहने भएकोले काम पनि प्रभावित हुने पाण्डेको भनाई छ।  

पश्चिम खण्डका आयोजना प्रमुख इन्जिनियर राजेश पौडेलका अनुसार अहिलेसम्म पश्चिम खण्डमा ७ किलोमिटर मात्र कालोपत्रे भएको छ। केही दूरी कालोपत्रेका लागि तयारी अवस्थामा छ। ‘अहिलेजस्तै समस्या वर्षायाममा नपरोस भनेर हामीले पश्चिम खण्डमा पनि कालोपत्रेमा जोड दिएका छौं,’ पौडेलले भने, ‘आगामि वर्षा अघि नै एकतर्फी भएपनि केही दूरी कालोपत्रे गर्न सकियो भने राजमार्गको यात्रा सहज हुनेछ।’  

उनका अनुसार अबको वर्षासम्ममा जामुनेदेखि तल्लो गगनगौंडासम्म एकतर्फी दुईलेन कालोपत्रे गर्ने तयारी छ। कालोपत्रे गर्नका लागि ठेकेदार कम्पनिसँग एकदिनमा एककिलोमिटर मात्र कालोपत्रे गर्न सक्ने प्लान्ट रहेको उनले बताए।  

‘दिनको एककिलोमिटरका दरले कालोपत्रे गर्न पाइयो भने एकमहिनामा धेरै भाग सकिनेछ, त्यसो भयो भने आगामि वर्षाको यात्रा सहज हुनेछ,’ पौडेलले भने, ‘कालोपत्रे हुनुअघि नाला बनाएर वर्षाको पानीलाई बगाउने गरि कामलाई तिब्रता दिएका छौ।’ वर्षामा आउने पानी व्यवस्थापन गर्न सके समस्या हल हुने उनले बताए। त्यसका लागि नाला र कालोपत्रे प्राथमिकतामा रहेको उनले बताए।  

‘यो पटक यतिधेरै वर्षा होला भन्ने थिएन। झरि लागेर पहिरो नै खस्ला भन्ने त्रास भयो। त्यसबाहेक भवितव्य परेमा हामीसँग हरेक दुईसय मिटरको फरकमा रहेका उपकरण पनि परिचालन गर्न सकिन्छ। तत्काललाई एकतर्फी भएपनि सडक कालोपत्रे गर्ने प्रयासमा छौ,’ उनले भने। ठेकेदार कम्पनिले जताततैबाट सडकमा काम थाल्दा यो समस्या निम्तिएको उनले बताए। ‘अहिले हिलोको सकस छ। वर्षा रोकियो भने अबको केहीदिनपछि धुलोको सकस हुनेछ,’ उनले भने।  

पर्यटन व्यावसायीले पोखरा भित्रिने मूल राजमार्गले समग्र गण्डकी प्रदेशलाई गिज्याँइरहेको बताउँछन। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘अहिले हिलोको सकस छ। अबका केहीदिनमा धुलोको सकस हुनेछ। पर्यटकीय सिजनका बेला पोखरालाई राजमार्गले धोका दिएको छ,’ उनले भने, ‘सरकारले उपकरण परिचालन गरेर भएपनि राजमार्गको यात्रा सहज बनाउन पहल गर्नुपर्छ।’

प्रकाशित: १६ चैत्र २०८० १६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App