४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

छोरीमाथि बलात्कार भएको ५ वर्षपछि न्याय पाउने आसमा बाबु

२०७६ साल असोज ७ गते सर्लाहीको चक्रघटना गाउँपालिका-८ की १४ वर्षीय एक अबोध बालिकामाथि स्थानीय २३ वर्षीय शम्भु राउतले जबरजस्ती करणी गरी फरार भए।

बालिकामाथि बलात्कार भएको भनी पीडित पक्षले असोज १४ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिए। जबरजस्ती करणीमा मुद्दा दर्ता भई प्रहरीले अनुसन्धान थाल्यो। तर पिडकलाई पक्राउ गर्न सकेन।

घटना भएको २० दिनपछि गाँउलेहरु नै पीडित पक्षमाथि हाभि हुन थाले। उनीहरुले उक्त घटना मिलाउने कोसिस गरे। साे अनुरूप गाउँका स्थानीय, शिक्षक, वडाध्यक्ष, लगायत ९ जनाले घटना मिलाउने दुवै पक्षलाई राखेर पञ्चायत गरे।

पञ्चायतमा बालिका बलात्कार गर्ने शम्भु राउत र बलात्कृत बालिकाबिच विवाह गराइदिने र पीडित बालिकाको र सो परिवाको पनि इज्जत जोगिने आश्वासन पिडक पक्षले दिए पछि वडाध्यक्ष रामकैलाश राउतको जोडबलमा बालिकाका पिता राजी भए।

पंचयतमा दुवै बिच विवाह गराइदिने र पीडितको नाममा ४ कठा जग्गा पिडक पक्षले पास गर्ने सहमति भयो। दुवै पक्षको विश्वासको लागी ५/५ लाखको कपाली तमसुक कागज भयो। पञ्चायतीमा बसेका मध्येका एक सर्लाही विष्णु गाउँपालिका-२ पकरी बस्ने मास्टर भनिने रामदेव राउतको जिम्मामा साे कागज राख्ने निर्णय भयो।

बलात्कृत छोरीको विवाह गराइदिने आश्वासन पाएका बालिकाका पितालाई आफू फसेको त्यत्ति बेला थाहा भयो जब खेत लिलामीको सूचना अदालतबाट आयो।

पंचयतमा भएको सहमति तमसुक राखेका मास्टरले पीडितको पक्षबाट गरिएको उक्त तमसुक पीडकलाई जिम्मा लगाइसकेका थिए। तमसुकमा उल्लेख भएको रकमको माग गर्दै सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरी मुद्दाको फैसला समेत भइसकेर अदालतबाट खेत लिलामीको पत्र आएपछि पीडित परिवारले चारैतिरबाट षड्यन्त्रको बज्र प्रहार भएको बल्ल थाहा पाए।

बलात्कृत छोरीका पिता न्यायको लागि प्रहरी, प्रशासन तथा जनप्रतिनिधिलाई गर्नुसमेत हारगुहार गरे। तर उनको केही सिप लागेन। उनले संसारबाट न्याय नै उठिसकेको मानेका थिए। हरेस नखाई जहाँबाट न्यायको आस देखिन्थ्यो, रोई कराई गरेर हार गुहार गरेर सुनाउँदै हिँड्ने पीडित पक्षको कुरा एक दिन माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलसम्म पुग्यो।

नेता पोखरेलले माओवादी केन्द्रको विधान सम्मेलनमा घटनाबारे विस्तृत रुपमा बोलेपछि कार्यक्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत भावुक भए। घटनाको गम्भीरताको विषयमा प्रधानमन्त्री कार्यालयले चासो राखेपछि पुनः जिल्ला प्रहरी कार्यालय सर्लाहीको ध्यान आकृष्ट भयो।

अदालत प्रक्रियाबाट ढाकछोप भइसकेको घटनाबारे सर्लाही प्रहरीका नयाँ प्रमुख एसपी दयानिधि ज्ञवालीले आफैँ सक्रिय भई घटनाको अनुसन्धान पुनः शून्यबाटै थाले।

बालिका बलात्कारजस्तो घटनालाई गाउँघरमै मिलाउन मध्यस्थता गर्ने तथा पीडितको तमसुकलाई पीडकको हातमा दिएर उल्टै जग्गाजमिन लिलाम गराउनमा मुख्य भूमिका खेल्ने मास्टर भन्ने रामदेव राउत पक्राउ परे। तबसम्म घटनामा संलग्न अन्य व्यक्तिहरू फरार भइसकेको थिए। हाल प्रहरीले सबैको खोजी गरिरहेको छ।

घटनाका पीडितले आफूमाथि घोर अन्याय भइरहेको र नलिएको पैसाको तमसुकको कारण जग्गाजमिन लिलाम भइसकेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा गत चैत १ गते मुद्दा दर्ता गराए। त्यसपछि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढायो।

एसपी दयानिधि ज्ञवालीको सक्रियतामा गत १४ चैतमा तमसुक सम्बन्धी विवाद पनि समाधान भएको छ। लेनदेनको मुद्दा नै नभएकोले दुवै पक्षमा उक्त मिलापत्र गराई पीडितको जग्गा सोही दिन प्रहरीले फिर्ता गरायो।

बल्ल न्याय मिल्नेमा पीडित पक्ष आसावादी बनेको छ। घटना भएदेखि अहिलेसम्म जिल्ला प्रहरीको नेतृत्व सात जना एसपीले गरिसकेका छन् तर एसपी ज्ञवालीले भने घटनाबारे आफैँ अग्रसरता लिए र केही हदसम्म पीडितलाई न्याय दिलाउन सफल भए।

एसपी ज्ञवालीले कानुनले दिएसम्मको अधिकार प्रयोग गरी आफूहरूसँग न्याय दिलाउने वाचा गरेको पीडित पक्षले सुनाए।

चक्रघटा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादवले अत्यन्त दुःखद घटनामा पनि राजनीति भएको बताउँदै पीडितलाई झन् पीडित बनाउने काम भएकोमा दुःख व्यक्त गरे।

सबैले न्यायको आस मारिसकेको अवस्थामा एसपी ज्ञवालीले आफ्नो नामजस्तै पीडितका लागि दयानिधि बन्न सफल भएकोमा जनजनमा सकारात्मक चर्चा रहेको पूर्व अध्यक्ष यादवको भनाइ छ।

प्रहरीले सर्वसाधारण जनताको कुरा नै नसुन्ने अवस्था रहेकोमा अब गरिबले पनि न्याय पाउन सक्ने एसपी ज्ञवालीले साबित गरेको यादवको भनाइ छ।

प्रकाशित: १७ चैत्र २०८० १९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App