२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्या आरोपित भारतीय युवा आठ महिनापछि पक्राउ

भारतीय युवकको हत्या गर्ने एक भारतीय युवकलाई सर्लाही प्रहरीले आठ महिनापछि पक्राउ गरेको छ। सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखनदेही नदीको पुलमुनि एक भारतीय युवकको हत्या भएको थियो। हत्या भएक युवक र त्यसमा संलग्नको पहिचान भएसँगै फरार अभियुक्तको खोजीमा रहेको सर्लाही प्रहरीलाई आठ महिनापछि सफलता प्राप्त भएको हो।

गत साउन २५ गते बिहान ८ बजेको समयमा हरिवन नगरपालिका–४ लखनदेही पुलमुनि पुरुष व्यक्तिको टाउको मात्रै फेला परेकोमा सोको आवश्यक अनुसन्धानसहित शरीरको बाँकी भाग खोजतलास गर्ने क्रममा दुई दिनपछि साउन २७ गते साँझ ६.१५ बजेतिर लालबन्दी नगरपालिका–१७ कालिन्जोर पुलनजिकैको पूर्व–पश्चिम लोकमार्गदेखि २० मिटर दक्षिणमा शरीर फेला परेको थियो।

शवको टाउको र शरीर एकै व्यक्तिको भएको यकिन भएपछि भारत सीतामढी जिल्ला पुनौरा गाउँ पोस्ट मनियार–५ का २३ वर्षीय गोलु भन्ने अभिषेक राज भनी मृतकको सनाखत भएको थियो।

राजको हत्या भारत बिहारकै सीतामढी जिल्ला सोनवर्षा थाना पुरनदहा राजवाडा पश्चिम–५ का २७ वर्षीय रञ्जितकुमार बैठाले घाँटी छिनाएर गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

सोही समयदेखि सर्लाही प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका बैठालाई करिब आठ महिनापछि सर्लाही प्रहरीले मलंगवा नगरपालिका–८ सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो। सीमावर्ती क्षेत्रको गोरखकालीमा लागेको महायज्ञ मेलामा अभियुक्त बैठा घुमिरहेको जानकारी पाउनासाथ नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।

पक्राउ परेका बैठालाई प्रहरी हिरासतमा राखेर कर्तव्य ज्यान कसुर मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ७ वैशाख २०८१ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App