२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतमा लागेको आगो नेपालसम्म फैलिँदा १२ घर जले

भारत तर्फको गहुँ खेतमा लगाइएको आगो फैलिएर कपिलवस्तुको सुद्धोदन गाउँपालिकासम्म आइपुग्दा यहाँका १२ घर गोठ जलेर नष्ट भएका छन्।

सुरुवाती आगो सुद्धोदन-५ घेराउजोतसम्म आइपुगेको थियो। जसले स्थानीय आकाश यादव, जान मोहमद, पराग बरई, कासिराम बरई, सौकतअलि, एलियास मोहमद गद्दी, मोहमद हुसेन, जवाहिर मुसलमान, हरिहर प्रसाद यादव र धमल यादवको घर गोठ नष्ट बनाएको छ।

प्रहरीका अनुसार आकाश यादवको घरगोठ सहित ३ बाख्रा र ३ साइकलसमेत जलेर खरानी भएको छ। स्थानीय वीर बहादुर यादवकाे भने एक मोटरसाइकल जलेर नष्ट भएको छ। साे आगाे कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, सुरक्षाकर्मी स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको थियो।

यसैगरी जिल्लाको यसोधरा गाउँपालिका–१ पकडिमा पनि सोही प्रकारको आगलागी शुक्रबार दिउँसो देखिएकाे थियाे। यहाँ पनि गहुँको खेतबाटै सल्किएको आगो बस्ती बस्दा ३० घर गोठ जलेर नष्ट भएका छन्।

स्थानीय विक्रम बारी, सिताराम रैदाश ,चनिका बारी, राम लखन चौधरी, भागु चामार लगायतको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट एक करोड भन्दा माथिसम्मको क्षति भएको हुनसक्ने यसोधरा-१ का वडा अध्यक्ष अबदुल कयुम खानको अनुमान छ। आगोले स्थानीयको घरसहित लत्ताकपडा, खाद्यान्न ,पैसा र गरगहना समेत जलेर नष्ट भएको उनले सुनाए।

कपिलवस्तु नगरपालिकाको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको प्रयासबाट साे आगो नियन्त्रणमा लिइएको थियो। 

यस्तै जिल्लाकै मादेयावी गाउँपालिका-२ अविरावकामा पनि जयसराफ पासी र गुरुदयाल पासीको घरगोठ जलेर नष्ट भएको छ। केही दिन यता तीव्र बेगमा चलेको हावाहुरीका कारण जिल्लामा आगलागीका घटना बढ्दो छन्।

प्रकाशित: ८ वैशाख २०८१ १८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App