२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिक नायक माकजु: त्यो ‘रामवाण’ यो ‘राममन्दिर’

त्यो बेला हामी विदेशमा अवसर पाएर पनि नेपालमा आएर केही गरिरहेका पात्रहरूको खोजी गरिरहेका थियौँ। एकजना डाक्टर स्वदेश फर्केर धुलिखेलमै अस्पताल बनाउन र चलाउन लागिपरेको जानकारी पायौँ। हामी उनलाई भेट्न गयौं। उनलाई भेटेपछि यो नेपालको स्वास्थ्य सेवाका निम्ति अचुक औषधि नै हुने ठानेपछि मैले लेखेको थिएँ– डाक्टर रामवाण।

हो, हामी कुरा गर्दैछौं धुलिखेल अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रामकण्ठ माकजु श्रेष्ठको। ‘डाक्टर रामवाण’ छापिएको समय थियो– २०५८ फागुन ७। बितेका यी २३ वर्षमा वाग्मतीमा धेरै पानी बगिसकेको छ। उनले त्यही बेला पनि वाग्मती सफाइ गर्न भनेका थिए। त्यसो भन्नु पछाडिको कारण पनि थियो– त्यहीबेला अस्पतालले निकालेको फोहर पानी सफा गरेर मात्र खोलामा हाल्ने गरिएको थियो।

देशमा केही भएन भन्ने निराशा छ। कैयनले अब केही हुँदैन भनेर देश छाडिरहेका पनि छन्। तर, डा. रामको उद्देश्यमा कुनै फरकपन आएको छैन। बरु यो दिनानुदिन बढिरहेको छ। यी वर्षहरूमा उनलाई बीच–बीचमा मैले भेटिरहेँ। धुलिखेल अस्पतालको पहिलो तलामा रहेको उनको कार्यालय कहिल्यै फेरिएन। त्यही ठाउँमा बसेर उनले आफ्नो एउटै सपनाका कुरा गरिरहे। उनले त्यही बेला भनेका थिए, ‘म एउटा बुद्धिले त सुत्न सकेको छैन, यतिका बुद्धि भएकाहरू कसरी सुतेका होलान् ?’

उनले यस्ता कुरा गरी गरी हौस्याएका मानिसहरू मात्र ज्ञान र सीपले अग्लिएका छैनन्, उनको कार्यालयको छेवैमा उभिएर कुरा सुनिरहेका रुखहरूसमेत अग्ला भइसकेका छन्। यही वैशाख ७ गते शुक्रबार बिहानै हामी फेरि उनलाई भेट्न पुग्यौं धुलिखेल अस्पताल। उनी आफ्नो कार्यकक्षमा पुगिसकेका थिएनन्। बिगत २७ वर्षदेखिको आफ्नो नियमिततालाई निरन्तरता दिँदै बिहान ८ बजेको बैठकका निम्ति उनी सीधै गइसकेका थिए।

त्यहीबेला डा. रामको कार्यालय र वरिपरि फूलका गुच्छा राख्दै आइपुगे ६३ वर्षीय वसन्त फत्तेजू। उनको दिनचर्या बिहानैबाट सुरु हुन्छ र सकिँदा पनि झमक्कै रात पर्छ। जसरी डा. राम आफ्ना काममा मरिमेट्छन्, त्यस्तै त्यहाँका माली वा अन्य कामदारमा पनि आफ्नो सेवाको मन्दिर सजाउने बानी बसेको छ। त्यही भएर अन्यत्रका अस्पतालमा जाँदा जस्तो फिनेलको हर्को नाकमा ठोकिन आइपुग्दैन। त्यसैले यसलाई रिजोर्ट टाउनको एउटा ‘रिजोर्ट हस्पिटल’ भन्न सुहाउँछ।

नेता त्यही हो, जसले आफ्नो अटुट उद्देश्यका निम्ति ठूलो समुदायलाई आफूमा समाहित गराउन सक्छ। नेतृत्वकर्ता त्यही हो, जसले यथार्थमै आफ्नो सशक्त विचारबाट अरुलाई अगुवाइ दिन्छ। धुलिखेलको स्याल कराउँने डाँडामा यतिबेला डा. रामले देखेका सपना यथार्थ भइरहेका छन्। २०५२ सालमा धुलिखेल अस्पताल स्थापनाका निम्ति मेहनत गरिरहेका बेला कसैलाई लागेको थिएन यो अहिलेको रुपमा विस्तारित हुन्छ। मैले २३ वर्षअघि लेखेको ‘रामवाण’ अहिले ‘राम मन्दिर’मा अनुदित हुँदै गरेको देखेँ।

राम्रो कमाइ हुने र आरामको जिन्दगी जिउने ईच्छालाई तिलाञ्जली दिँदै उनी स्वदेश फर्किएका थिए। अस्ट्रियाको भियनाबाट आफ्नो १५ वर्षे बसाइ पूरा गरेर उनी मात्र आएनन्, साथमा थिए उनकी पत्नी आन्द्रेया र छोरी। रामको मिसनलाई साथ दिन पत्नी तत्पर हुनु आफैंमा ठूलो उपलब्धि थियो। लाग्छ, रामसँगै सीता वनवास गएकी थिइँन्, यहाँ आन्द्रेया रामसँग नेपाल आएकी छन्।

सामुदायिक अस्पताल भनेको एउटा सानो समुदायले चलाउने स्वास्थ्य संस्था हो भन्ने साँघुरो सोच अहिले पनि धेरैमा देखिन्छ। झन् त्यो बेलाको कुरै अर्को थियो। दैनिक महँगा सुट फेरेर अस्ट्रियामा बस्न सक्ने चिकित्सकले यहाँ अलि ठूलो गाडी चढ्दासमेत सरकारी कर्मचारीले सोध्थे– सामुदायिक अस्पतालमा यस्तो गाडी चाहिन्छ र ?

सामुदायिक भनेर सानो सोच मात्रै राखेको भए आज धुलिखेल अस्पताल आफैंमा मुलुकका उम्दा स्वास्थ्य संस्थामध्येमा एक हुने थिएन। त्यति मात्र होइन यसले देशभरि सुरु गरेका १८ वटा ‘आउटरिच’ अस्पताल आफैंमा एकएकवटा अस्पताल हुन्। यसअर्थमा धुलिखेल अस्पताल भनेको १९ वटा अस्पतालको सञ्जाल हो।

राम १० वर्षको उमेरमा पुग्दा उनकी ममतामयी आमाको निधन भएको थियो। त्यो बेला आमाको निधन के कारणले भयो भन्ने उनलाई थाहा थिएन। तर, पछि कसैले पनि उपचार नपाई मृत्युको मुखमा पर्नु नपरोस् भन्ने महान् भावनाले प्रेरित भई यो अभियानमा लागेका हुन्। सानैदेखि प्रतीभाशाली रामले आफ्नो बाटो निरन्तर अगाडि समातिरहे।

गरिबका निम्ति स्वास्थ्य सेवा भन्ने भावनाले उनी यस क्षेत्रमा लागे। अहिले यो सबैका निम्ति सुलभ स्वास्थ्य सेवा हो। ‘के धनी र गरिबको फोक्सो उही हुँदैन ? डा. राम भन्ने गर्छन्, ‘हामीले गरिबका निम्ति पनि उत्कृष्ट स्वास्थ्य सेवा ल्याउन सकेका छौं।’

त्यही भएर धुलिखेल अस्पताल आउने जोसुकैका निम्ति एउटै सेवा छ। अस्पतालका सबैभन्दा माथिल्ला पदाधिकारीदेखि बिरामीसम्मले खाने खाना एउटै हो। त्यो पनि अहिलेको नेपालको मूल्यका आधारमा नाम मात्रको। ६० रुपैयाँमा बिहान, दिउँसो, अपरान्ह र रातिको खाना यो अस्पताले बिरामीलाई उपलब्ध गराउँछ।

यो अस्पतालमा कुनै पनि बिरामी पैसा नभएर फर्केर जाँदैनन्। सित्तैमा उपचार दिने भनेर अस्पतालले प्रचार गर्दैन। तर, परिआउँदा पछि पनि हट्दैन। तर, यो अस्पतालको संस्थागत विकास र सेवाभाव देखेर सहयोग गर्न चाहने पनि उत्तिकै छ। देशभित्रै पनि यसमा लागिपरेका व्यक्ति छन् भने विदेशबाट पनि यसका निम्ति बर्षेनिजसो स्रोत संकलनको काम हुन्छ। विभिन्न मुलुकमा ‘फ्रेन्ड्स अफ धुलिखेल अस्पताल’ रहेका छन्।

देशका नामी अस्पतालले समेत धुलिखेल अस्पतालको सेवाका निम्ति बिरामी पठाउने गरेका छन्। मुलुकको यही अस्पतालको पदचिह्नमा हिँड्दै अहिले सयौंको संख्यामा अस्पताल खुलेका छन्। धुलिखेल अस्पतालको थालनी नै उत्कृष्ट भएका कारण अहिले देशभरि सात सयभन्दा बढी सामुदायिक अस्पताल खुलेका छन्।

देशविदेशबाट यो अस्पतालको काम हेर्न, सेवा गर्न र अन्य सहयोग गर्न आउने धेरै छन्। राम्रो कामको थालनी भएपछि सबैको साथ पाइँन्छ भन्ने अनुपम उदाहरण बन्न पुगेको छ– धुलिखेल अस्पताल।

सुरुमा २८ शड्ढयाको यो अस्पताल अब बन्ने ट्रमा सेन्टरसँगै सात सयभन्दा बढीको हुनेछ। एक्लै सुरु गरेको यो अभियानमा अहिले १५ सयभन्दा बढी चिकित्साकर्मी र अन्य सहकर्मीका कारण हराभरा भएको छ। दैनिक २५ सयभन्दा बढी बिरामी अस्पतालमा आउँदा पनि कुनै तनाब छैन। बरु बिरामीलाई कसरी सेवा दिने भन्नेमा सम्पूर्ण सेवाकर्मी दत्तचित्त भएका छन्।  

‘यो मेरो जागिर होइन,’ डा राम भन्छन्, ‘कसैले यो काम गर भनेको भए अहिलेसम्ममा ‘रिटायर्ड’ भइसकिन्थ्यो। यस्तो काममा कोही पनि ‘टायर्ड’ (थकानमा) हुँदैन भने ‘रिटायर्ड’ (अवकास) हुने कुरै हुँदैन।’

डा. राम अस्पताल निर्माणमा आउँदा सुरुमै साथ दिने स्थानीय डा. राजेन्द्र कोजू हुन्। यी दुईले बिरामी जाँचेर अस्पतालको सेवा सुरु गरेका हुन्। आज डा. राम र डा. राजेन्द्रजस्ता सयौं डाक्टर र नर्स अफ्नो सेवामा लागेका छन्। सेवामा लागेका मात्र छैनन्, यस क्षेत्रमा केही भिन्न काम गरेर देखाउने रहर तिनमा छ।

‘उहाँ (डा. राम) मेरो दाजुको साथी हो,’ डा कोजू अस्पतालमा काम गर्न आउँदाको क्षण सम्झिदै भन्छन्, ‘उहाँले मलाई एक दिन बोलाएर सोध्नु भयो– ‘बाबु तिमी मसँग काम गर्ने हो ? उहाँ हाम्रो बाल्यकालदेखिको आदर्श हो। उहाँले राम्रो कामको थालनी गर्नु भएकोले स्वतः हुन्छ भन्ने जवाफ मुखबाट आयो।’

सरकारी सेवामा प्रवेश गर्न खोजेका वा विदेश जान खोज्नेहरू एकपछि अर्को गर्दै डा. रामको अभियानमा मिसिन थाले। कुनैबेला आसपासमा राम्रो उपचार नपाइने यो सुन्दर मध्यपहाडी गाउँ बिस्तारै मानिसहरूबाट बिरानिन थालेको थियो। धुलिखेल अस्पतालले यसलाई पुनर्जीवन दिएको हो।

धेरैजसो अस्पतालले रोगको मात्र उपचार गर्न खोज्छन्। तिनले बिरामी कहाँबाट आउँछन् ? बिरामीको कारण के हो ? जस्ता प्रश्नमा खासै ध्यान दिँदैनन्। सामुदायिक अस्पतालले समुदायकाबारेमा बुझेन भने अपेक्षित परिणाम दिन सक्दैन। अझ तिनका निम्ति स्रोतसाधनसमेत जुटाउन कोसिस गर्नुपर्छ। त्यसैले यो अस्पताल केबल उपचारको थलो मात्र होइन सामुदायिक विकासका अनेकन विकल्पसमेत सोचेर बस्ने संस्था हो।

‘रोगको मात्र उपचार गर्ने होइन,’ सार्वजनिक सम्बन्ध विभाग प्रमुख डा. आभा श्रेष्ठ भन्छिन्, ‘रोग लाग्नुमा घर, खानपिन, काम, समाज सबैको भूमिका हुनसक्छ। त्यही भएर हामी रोगको मात्र उपचार गरेर पुग्दैन भन्नेमा छौं।’

यसैकारण यो अस्पताल केबल बिरामीको मात्र उपचार गर्दैन, समुदायलाई समेत सँगै हिँडाउन चाहन्छ। स्वास्थ्योपचारको कुरा गरेर मात्र पुग्दैन, तिनलाई लाग्ने रोगको कारण र निदान खोज्नतिर लाग्नु एउटा स्वास्थ्य संस्थाको भूमिका हुन्छ। त्यसैले उनीहरू रोगको मात्र होइन मानिसको पनि उचार गर्नुपर्छ भन्नेमा लागेका छन्।

समुदायमा कृषि उत्पादन बढाउने कार्यक्रमसमेत अस्पतालले बनाएको छ। कृषि व्यवसाय हेर्ने छुट्टै विशेषज्ञ र निकायलाई यसले परिचालन गरेको छ। समुदायबाटै उत्पादन गरिएका दैनिक ‘स्याहार’ सामाग्रीको समेत यसले बजारीकरण गरिरहेको छ। साबुन, फेसवास, लोसनलगायतका सामग्री अस्पतालको स्वास्थ्य जाँचसहित बजारमा पु¥याएको छ। यसले समेत अस्पतालका लागि स्रोत व्यवस्थापन गर्छ।

धुलिखेल अस्पताल व्यवस्थापनको समेत उत्कृष्ट नमूना हो। सञ्चारलाई यसले पहिलो प्राथमिकतामा राखेको छ। शनिबारबाहेक हरेक दिन बिहान ८ बजे धुलिखेल अस्पतालमा विभागीय प्रमुखहरूको बैठक बस्छ। त्यही बैठकबाट ८० प्रतिशत समस्या समाधान हुन्छन्। राति दुई बजेसम्म अस्पतालमा काम गरिरहेका चिकित्साकर्मी पनि त्यो बैठकमा उपस्थित हुन्छन्। यसको अर्थ हो– यो अस्पतालमा काम मात्र होइन कामसँगै जिम्मेवारीवोध र आनन्दसमेत जोडिएको छ।

डा. रामका निम्ति अस्पताल आउनु भनेको मन्दिरमा आउनु जस्तो हो। यस्तै भावना सबैमा देखिन्छ। यो सेवाको मन्दिरमा सबैले सबैलाई साथ दिएका छन्। एउटै उद्देश्यका लागि सबै हिँडेका छन्। बिरामीका निम्ति यहाँ आएपछि पैसा नभएर फर्किनु पर्ने अवस्था समेत आउँदैन। पहिले उपचार गरेर मात्र अन्य कुरा हेरिन्छ। मुलुकको यही अस्पताल हो, जसले सरकारको स्वास्थ्य बिमाको कार्यान्वयन अग्रपंक्तिमा रहेर गर्छ। त्यति मात्र होइन स्वास्थ्य शिक्षा र तालिमका निम्ति पनि यसले आफूलाई अग्रणी बनाएको छ। सरकारले दिने कैयन तालिम समेत यहीबाट सञ्चालित हुन्छन्।

राम्रो काम गर्दै जान कुनै पनि संस्थाको नेतृत्व ठीक हुनुपर्छ। डा. रामले गरेको कामले सबैलाई प्रेरित गरेको छ। भर्खरै विश्वविद्यालयको पढाइ सकेर फर्केका युवा चिकित्सकले समेत रामकैजस्तो भावना अभिव्यक्त गर्छन्।

‘मैले यो अस्पतालमा जीवनको उद्देश्य फेला पारेकी छु,’ अमेरिकाको प्रशिद्ध हार्वर्ड विश्वविद्यालयबाट ‘औषधि विज्ञानमा नेतृत्व’ विषयको अध्ययन पूरा गरी फर्केकी डा. श्रीया श्रेष्ठ भन्छिन्, ‘म धुलिखेलमै जन्मेकी हुँ। मेरो सम्पूर्ण जीवन यही अस्पतालमा सेवाका निम्ति समर्पित छ।

सपना हुनु मात्र ठूलो कुरा होइन। आफूले देखेको सपनालाई जीवनभन्दा ठूलो अर्थ दिनु सबैभन्दा सार्थक हो। डा. रामकण्ठले आज त्यही असम्भवलाई सम्भव बनाउने लक्ष्य हासिल गरेका छन्। यो अस्पताल खोलेर आफूसम्म बिरामी आउन भन्ने उद्देश्य मात्र राखिएन, बरु दूरदराजसम्म पुग्न आवश्यक संरचना विकास गरियो।

अस्पतालमा विरामीको भीड बढ्न थालेपछि अचेल यसको रजिस्ट्रेसन र सेवाको समय अगाडि सारिएको छ। जतिसक्दो समय तन्काएर भए पनि बिरामीको सेवा गर्नुपर्छ भन्ने भावना यहाँ देखिन्छ। कतिपय सेवाका निम्ति बिरामी अस्पताल आउँनै पर्दैन बरु अस्पताल बिरामीको घर जान्छ। नियमितरुपमा रगतको तह हेर्नुपर्ने बिरामीका निम्ति प्राविधिक बिरामीको घरको सुत्नेकोठासम्म पुग्छन्। भोकै बसेको र खाना खाएपछिको रक्त तह हेर्ने र त्यसका निम्ति आवश्यक औषधिसमेत घरैमा पुग्नु स्वास्थ्य क्षेत्रका निम्ति चमत्कार हो। यसले अस्पतालमा बिरामीको भीड कम गर्ने मात्र होइन घरैमा सेवासमेत पु¥याउँछ।

बितेका २७ वर्षमा धुलिखेल अस्पताल यथार्थमै बिरामीका निम्ति ‘राम मन्दिर’ जस्तै पवित्र बनेको छ। त्यो बेला ठीकै अनुमान गरिएको रहेछ। धुलिखेल अस्पतालबाट फर्कनेबेला मनले भनिरहेको थियो, यथार्थमै एउटा मौन क्रान्ति यहाँ घटित भइरहेको छ। देशमा २०५२ सालमा ‘सशस्त्र विद्रोह’ भएको थियो। त्यसले गरेको जनधनको क्षतिभन्दा त्यही वर्ष सुरु भएको यो शान्त उद्विकासले मानिसको मन छोएको छ।  

प्रकाशित: ११ वैशाख २०८१ १९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App