२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

किर्ते लाइसेन्स पेस गरी ड्राइभर नियुक्ति

नरहरिनाथ गाउँपालिकाले किर्ते कागजात पेस गरेका स्काभेटर चालकलाई तलब दिँदै आएको छ। गाउँपालिकाले विगत दुई वर्षदेखि स्थानीय अनिल सहकारीको लाइसेन्स पेस गरी लाइसेन्स नभएका पुष्प विष्टलाई तलब दिने गरेको हो। गाउँपालिकाबाट अनिल सहकारीको खातामा अनिलको खातामार्फत पुष्पलाई दिने गरेको पाइएको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगालीले किर्ते कागजात पेस गरी पुष्प विष्टलाई नियुक्त गरेका थिए। उनलाई वर्तमान प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पनि म्याद थप गरी विष्टलाई रकम भुक्तानी गरिरहेको तथ्य फेला परेको छ।

अहिले पनि अनिल सहकारीको खातामार्फत पुष्प तलब विष्टले बुझ्ने गरेका छन्। नियमअनुसार कागजात हेरेर नियुक्ति पत्र दिनुपर्नेमा किर्ते कागजका भरमा गाउँपालिकाले उनलाई भुक्तानी दिइरहेको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनिल सहकारीको खातामार्फत रकम भुक्तानी भइरहेको जानकारी दिए। उनले विष्टको नियुक्तिका बारेमा आफूलाई जानकारी नभएको बताए। ऐन र नियमको वकालत गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत किर्ते कागजात पेस गरी तलब खाएको  टुलुटुलु हेरिरहेका छन्।

अनिल सहकारीले आफ्नो खातामा आएको पैसा विष्टलाई दिने गरेको बताए। उनले भने, ‘अहिले पुष्पले आफ्नो लाइसेन्स नभएकाले मेरो लाइसेन्स प्रयोग गरी जागिर खाइरहेका छन्। उनको तलब मेरो खातामा आउने गरेको छ।’ उनी दहीखोलामा स्काभेटर चलाउँछन्।

यस विषयमा विष्टसँग बुझ्दा जागिर खान्न भन्दाभन्दै गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट र उपाध्यक्ष  कमलकुमार शाहले जबर्जस्त किर्ते कागजात पेस गराउन लगाई जागिर दिलाएको बताए। 

गाउँपालिका अध्यक्ष विष्टले आफ्ना भान्जा नाता पर्ने पुष्पलाई बिनालाइसेन्स जागिर खुवाएका छन्। पुष्पले वार्षिक  एक लाख ५६ हजार नक्कली डकुमेन्टका आधारमा जागिर खाँदै आएका छन्।

यसअघि सोही गाउँपालिका ८ का अध्यक्ष लालबहादुर विष्टले आफ्नी पत्नी निर्मला विष्टलाई किर्ते कागजात पेस गरी जागिर खुवाएका थिए। कानुनविपरीत नियुक्ति पत्र दिएर जागिर खुवाउने कसैमाथि कानुनी कारबाही भएको छैन।

प्रकाशित: १४ वैशाख २०८१ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App