२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

‘सिधा कुरा’ विरुद्ध अवहेलना मुद्दा दर्ता

अदालतको अवहेलना भएको भन्दै ‘सीधा कुरा’ नामक युट्युब च्यानलसहितलाई सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले न्यायपालिकालाई बदनाम गराउन भ्रामक सामग्री प्रसारण गरिएको भन्दै अवहेलनाको निवेदन दर्ता गरेका हुन्। निवेदनमाथि सोमबार सुनुवाइ हुने बताइएको छ।  

युट्युबमा प्रशारित भ्रामक एवं झुट्टा सामग्री युट्युबलगायतका सामाजिक सञ्जालबाट तत्काल हटाउनु भनी आदेश माग गरिएको छ। ‘यस प्रकारको भ्रामक, कपोलकल्पित र नियोजित झुट्टा सामग्री तयार गर्ने, प्रसारण गर्ने व्यक्तिलाई यस अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गरी भविष्यमा समेत न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतामा कहीँकतैबाट हुनसक्ने आक्रमण रोकी पाऊँ,’ निवेदनमा माग छ।

गलत मनसायबाट तयार भएका र प्रसारण गरिएका कार्यहरू अन्य फौजदारी कसुरसमेत भएकाले आवश्यक अनुसन्धान गरी कारबाही गर्न-गराउन आदेश माग भएको छ।

राज्यका सम्बन्धित निकायबाट भएको कारबाहीको नियमित रूपमा लिखित प्रतिवेदन सर्वोच्च अदालतसमक्ष पेस गर्न आदेश माग गरिएको छ।

‘सिधाकुरा’ नामक युट्यसबलगायतका सामाजिक सञ्जालबाट वैशाख १४ गते र शृंखलाबद्ध रूपमा अपलोड गरी प्रसारित ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्ट्रिङ अपरेसन’ समेतका शीर्षक राखी प्रसारण गरेको थियो।

सर्वोच्चले यसलाई कपोलकल्पित भ्रामक तथा नियोजित ढंगले प्रसारित सामग्रीले संविधानको धारा १२८ (४), न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरेको भन्दै अदालतको अवहेलना गरेको निवेदनमा उल्लेख छ।

‘स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्‍याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९(३) वमोजिम प्रस्तुत प्रतिवेदन पेश गरेको छु’, निवेदनमा भनिएको छ, ‘सो कार्यमा संलग्न काठमाडौं महानगरपालिका ४ बालुवाटारमा कार्यालय रहेको सिधा कुरा डटकम अनलाइनका प्रकाशक युवराज कँडेल कार्यकारी सम्पादक नवीन ढुंगानालगायत संलग्न सबैलाई अदालतको अवहेलनामा हदैसम्म सजाय गरी पाऊँ।’

प्रकाशित: १७ वैशाख २०८१ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App