४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

दाङमा ५९ हजार हेक्टर क्षेत्रमा डढेलो, सखाप बन्दै चुरे

जिल्लाको चुरे क्षेत्रमा पर्ने राजपुर स्थितहाडबास गाउँमा लागेको डढेलो।

लामो खडेरीका कारण जिल्लाका वनहरूमा आगलागी (डढेलो) बढ्दो क्रममा छ। वनमा लागेको आगो बस्तीमा सर्दा दर्जनौँ घरहरू समेत जलेका छन्। आइतबार मात्रै जिल्लाको राजपुर गाउँपालिका ७ स्थित हाडबास गाउँमा वनमा लागेको आगो सल्किँदा बस्तीमा रहेका २५ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्।

जिल्ला वन डिभिजनहरूका अनुसार लामो समय पछि यसबर्ष आगोको अवस्था निकै भयावह बनेको छ। वन डिभिजन कार्यालय देउखुरी डिभिजनका प्रमुख राजु क्षेत्री भन्छन् ‘यस वर्षको आगलागी मेरो अनुभवमै अधिक धेरै हो।’ कार्यालयका अनुसार केही दिन यताको सुख्खा मौसममा फैलिएको आगोबाट देउखुरी वन डिभिजन क्षेत्रको ५० हजार हेक्टर क्षेत्रफलमा आगलागी भएको छ। यो डिभिजनको कुल क्षेत्रफल १ लाख ९ हजार हेक्टर हो।

केही दिन यता जिल्लामा निकै बढेको आगलागीबाट जिल्लाको चुरे क्षेत्र निकै असुरक्षित बनेको छ। चुरेको माथिल्लो क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न नसक्दा चुरे क्षेत्र सखाप बन्न थालेको छ। ‘चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण भन्दा बाहिरै हुन्छ, यसर्थ चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण असम्भव छ,’ क्षेत्रीले भने, ‘किनकि चुरेको माथिल्लो भेकमा लागेको आगो नियन्त्रणका लागि नत दमकल पुर्‍याउने बाटो नै छ, नत तलतलैया नै छन्।’

चुरेको माथिल्लो क्षेत्रमा लागेको आगो नियन्त्रणमा आउन नसक्दा चुरे क्षेत्रमा सुख्खा बढ्दै गइरहेको छ। यसले चुरे क्षेत्रको बोटबिरुवा जल्नु सँगै चुरेको पानीको मुहानको स्रोतलाई समेत सुख्खा पार्छ। ‘चुरे क्षेत्रमा लागेको आगोले चुरेका वनस्पति, बोटबिरुवा त सखाप भइहाल्ने नै भए,’ क्षेत्री भन्छन्, ‘आगोले चुरेको कमलो जमिन सुख्खा बन्छ र पानीको मुहानमा असर पार्छ।’ पानीको मुहान सुक्दा चुरे क्षेत्रको जमिनमा सिँचाई सँगै पिउने पानीको समेत समस्या पार्ने क्षेत्री बताउँछन्।

चुरे क्षेत्रमा आगलागी जोडतोडले फैलिरहनुको कारण चुरे क्षेत्रमा रहेका काठ दाउरा, तथा घाँस थन्किएर बस्नु हो। ढलापडा काठ दाउरा तथा घाँस ( बनकस) चुरे क्षेत्रमा लामो समय देखि थुप्रिएर बसेका कारण आगो चाँडै भयावह रुपमा फैलिइरहेको क्षेत्री बताउँछन्। ‘चुरे क्षेत्रमा काठ दाउरा लामो समय देखि थुप्रिएर बसेको छ, अनि वनकस पनि उस्तै बढी छ,’ क्षेत्री भन्छन् ‘आगो लाग्ना साथ यो थुप्रिएर बसेको सुख्खा दाउरा र घाँसमा तत्कालै फैलने गर्छ, यसबर्ष चुरे क्षेत्रमा देखिएको आगोको भयावह रूप यही नै हो।’ 

चुरे क्षेत्रमा देखिने आगलागीको यो भयावहलाई कम गर्न काठ दाउरा र वनकस समय समयमा निकालिनु पर्ने उनी देख्छन्। त्यसोत, पशुपालन पेसा प्रति आम नागरिकको चासो घट्दै गएका कारण पनि वनबाट घाँस काट्ने क्रम घटिरहेको छ। फलतः वनकस लामो समय देखि चुरेमै थुप्रिएर बसेको छ । 

‘समय समयमा काठ दाउरा वनबाट निकालिनु पर्छ, अनि वनमा थुप्रिएर बसेको वनकस त झन निकाल्नै पर्ने हुन्छ,’ क्षेत्री भन्छन्, ‘यसो गरिएन भने आगोले बर्षोनी चुरेलाई सखाप बनाउँदै लैजाने देखिन्छ।’ यसै गरी चुरे क्षेत्रको फेँदहरुमा ठूला ठूला पोखरी समेत निर्माण गर्ने र आगलागी नियन्त्रणका लागि पानीको उपयोग गर्न तथा पानीको अभाव रोक्ने खालका कार्यक्रमहरू गर्ने योजनामा डिभिजन रहेको समेत उनले सुनाए।

जिल्लामा रहेका दुई वन डिभिजन अन्तर्गत घोराही डिभिजन अन्तर्गतको ८८ हजार हेक्टर वन क्षेत्र मध्य अहिले सम्म ९ हजार हेक्टर जमिनमा आगलागी भएको छ। यो डिभिजन अन्तर्गतको क्षेत्र मध्य सामुदायिक वनहरूमा बढी आगलागी भएको छ। केही दिन यता हावाको तीव्र वेग कम भएपछि आगलागी पनि कम भएको घोराही वन डिभिजनका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

‘केही दिन अघि सम्म आगलागी एकदमै फैलिएको थियो, तर हावाको उच्च वेग रोकिएपछि अहिले आगो धेरै नियन्त्रणमा आएको छ,’श्रेष्ठले भने, ‘छिटपुट केही सामुदायिक वनहरूमा मात्रै अहिले आगो लागेको छ।’ उनका अनुसार पनि चुरे क्षेत्रलाई आगोले निकै प्रभावित बनाइरहेको छ। आगोका कारण चुरेमा पानीको मुहान सुख्खा हुने बताउँछन्।

चुरेविज्ञ डा. विजय सिंहले चुरे क्षेत्रमा आगो लाग्दा चुरे जोगाउने झाडीहरू ध्वस्त हुने र चुरेलाई ठूलो क्षति पुग्ने बताउँछन्। उनका अनुसार चुरे क्षेत्रको छालाको रुपमा झाडीहरू हुन्। ‘हाम्रो शरीरको छाला जस्तै चुरेको छालाको रुपमा झाडीहरू रहेका हुन्छन्, आगोबाट जल्ने भनेको झाडीहरू नै हो,’ उनले भने, ‘चुरेको कमलो जमिनलाई यसले पकडेर राखेको हुन्छ, तर झाडी नै सखाप भएपछि चुरेको जमिन झनै कमजोर बन्छ।’ झाडी जल्दा चुरेको जमिन कमजोर बन्ने र पहिरोको जोखिम अधिक रहने उनले बताए। पहिरो जाँदा त्यसको असर सिधै बस्ती क्षेत्रमा पर्छ। ‘चुरेको जमिन कमजोर भयो भने चुरेमा पहिरो बढी जान्छ,’ डा. सिंहले भने ‘पहिरो गयो भने त्यसको क्षति बस्तीमा निम्तन्छ।’

यसै गरी चुरे क्षेत्रमा लाग्ने डढेलोका कारण तराईको पानीको मुहान रहेको चुरे क्षेत्र सुख्खा बन्ने र सुख्खा याममा पानीको अभाव हुँदै जाने सिंह बताउँछन्। ‘अहिले मधेसमा पानीको हाहाकारको स्थिति छ , यसको एउटा कारण यो पनि हो, सुख्खा हुनु र चुरे क्षेत्रमा आगलागी हुनु हो,’ उनले भने, ‘चुरेमा आगो लाग्यो भने जमिनमा चिस्यान पैदा गर्ने झाडीहरू जलेर सखाप हुन्छन्, अनि पानीको मुहान सुख्खा बन्दै जान्छन्।’ 

यसै गरी आगलागीबाट साना रुखहरूमा समेत पूर्ण रुपमा क्षति पुग्ने भएकाले यो चुरेमा हुने अर्को क्षेत्री भएको बताए। साथै वन्यजन्तुको आश्रय स्थल खोसिनुका साथै वन्यजन्तु मर्ने समेत गरेकाले चुरे माथि भएको अर्को क्षतीका रुपमा यसलाई लिन सकिने सिंहले बताए।

‘चुरेमा भएका झाडी सँगै साना रुखहरू समेत डढेर नष्ट हुन्छन्, चुरेमा रहेका साना रुखहरू जलेर नष्ट हुनु चुरेको जमिनलाई थप कमजोर हुनु हो,’ उनले भने ‘यसका साथै विभिन्न वन्य जन्तुहरू जलेर मर्छन्, यो पनि अर्को ठूलो नोक्सानी हो।’ उनका अनुसार वनमा डढेलो लाग्नुको कारण मानवीय नै हो। जङ्गलमा नयाँ घाँस पलाउने भन्दै स्थानीयहरूले नै जङ्गलमा आगो लगाउनु डढेलोको प्रमुख कारण रहेको उनले सिंहले बताए।

‘चुरे प्रति मानवीय संवेदनाको कमी छ, चुरेमा घाँस पलाउँछ भन्ने मानसिकताले आगो झोस्ने र चुरे सिध्याउने गलत काम गर्ने गरिन्छ,’ चुरे विज्ञ डा. सिंह भन्छन्, ‘यसर्थ चुरेको महत्त्व र यसको आवश्यकताका बारेमा मानवीय सचेतना नै प्रमुख आवश्यकता देखिन्छ।’

प्रकाशित: १७ वैशाख २०८१ १७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App