४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमतीको हत्या गरेर श्रीमान फरार

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा महिलाको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको छ।

सुन्दरहरैँचा–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव बिहीबार बिहान उनै घरभित्र भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार मनमायाको शव बिहान कोठाभित्र देखेपछि उनी छोरीले प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरी घटनास्थल पुग्दा मृत अवस्थामा मनमाया भेटिएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘घरको कोठाभित्र मनमायाको शव फेला परेको थियो। श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्। प्रारम्भिक अनुसन्धानबाट उनका श्रीमान ५० वर्षीय पदमबहादुर तामाङले गरेको खुल्छ। घटना लगत्तै श्रीमान बेपत्ता हुनुले पनि थप शंका उब्जाएको छ । बुधबार राति हत्या गरेको हुनुपर्छ।’

घटनापछि फरार रहेका पदमबहादुरको खोजी भइरहेको बताइएको छ। सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘कम्मरदेखि माथिको भागमा कपडा थिएन। हात र शरीरका विभिन्न भागमा चोटपटक देखिन्छ। घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरे जस्तो देखिन्छ।’

छोरा वैदेशिक रोजगारमा गएका छन् भने छोरीको बिहे भइसकेको छ। घरमा श्रीमान श्रीमती मात्रै बस्दै आएका थिए। प्रहरीका अनुसार पदमबहादुरले राति ८ बजेतिर छोरीलाई फोन गरेर ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भनेर फोन गरेका थिए। बिहान घर गएर हेर्दा मृत अवस्थतामा आमालाई भेटेकी थिइन्। बुवा भने फरार भइसकेका थिए। यसअघि पनि पदमबहादुरले मदिरा सेवन गरेर पत्नी मनमायालाई कुटपिट गर्ने गरेको स्थानीयले बताएका छन्।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २० वैशाख २०८१ १८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App