५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

जापान पठाउने प्रलोभनमा २१९ जनाबाट झन्डै तीन करोड ठगी

भेट्टाएको नागरिकता प्रयोग गरी काठमाडौं पुतलीसडकमा नियोनी एडुकेसन कन्सल्टेसी खोलेर कामदार भिसामा जापान पठाउने भन्दै करिब ३ करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ विष्टगाउँ बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरादह नगरपालिका–१ घर भई ललितपुरको भैंसेपाटी बस्ने ४६ वर्षीय ईश्वरी पाण्डे छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई पेप्सीकोलाबाट र पाण्डेलाई अनामनगरबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा जान चाहने २१९ जनाबाट २ करोड ७८ लाख रूपैयाँ ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि पीडितको संख्या अहिले थपिएको विभागले जनाएको छ।

उनीहरूले उदयपुरका नारायणबहादुर राई र बाजुराका पर्वराज पाण्डेको नागरिकता भेट्टाएका थिए र त्यसमार्फत नै कन्सल्टेन्सी खोलेर करिब ३ करोड रूपैयाँ ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

भेट्टाएको नागरिकताबाटै उक्त कन्सल्टेसी खोली कामदार भिसामा जापान पठाउने भन्दै उनीहरूले ठगी गरेको आरोप छ। एडुकेसन कन्सल्टेन्सी खोल्न पनि भेट्टाएकै नागरिकता उनीहरूले प्रयोग गरेका थिए भने रकम लिन कामना विकास बैंकमा समेत भेट्टाएकै नागरिकताबाट खाता खोलेको पाइएको छ।

प्रहरी सम्पर्कमा आएकाहरूको विवरण र यसअघि वैदेशिक रोजगारीमा परेको उजुरीलाई आधार मान्दा अहिलेसम्म करिब ३ करोड रूपैयाँ ठगी भएको खुलेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीले उनीहरूबाट विभिन्न कागजात बरामद गरेको छ। नारायणबहादुर राईको सक्कल नागरिकता राजनका साथबाट बरामद भएको छ। नारायणबहादुर राईकै नामको सानिमा बैंकको एटिएम, चेकबुक, नारायणबहादुरलाई नियोनीको म्यानेजिङ डाइरेक्टर भनेर बनाइएको कार्ड, भिजिटिङ कार्ड पनि बरामद भएका छन्।

त्यसैगरी राजन श्रेष्ठको सक्कली नागरिकता, चेकबुकहरू, पाँच थान मोबाइल, राहदानी, शैक्षिक प्रमाणपत्रहरू बरामद भएका छन्। ईश्वरी पाण्डेबाट भने विभिन्न व्यक्तिका ११ थान राहदानी, पर्वराज पाण्डेको सक्कली नागरिकता, पर्वराज पाण्डेको नामको कामना विकास बैंकको चेक बुक बरामद भएको अपराध अनुसन्धान कार्यालयले खुलाएको छ।

वेदेशिक रोजगार विभागमा उदयपुरका नारायणबहादुर राईविरुद्ध करिब तीन करोड ठगीको पक्राउ पुर्जी जारी भएको छ। भैंसेपाटीबाट नारायणस्थानमा काम गर्न साइकलमा जाँदा उनको नागरिकतासहितको पर्स हराएको थियो। नागरिकता हराएपछि उनले केही समयमै प्रतिलिपिसमेत बनाएका थिए।

अहिले पठाओ चलाएर दैनिक गुजारा चलाउँदै आएका उनै राईविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई बोलाएर सोधपुछ गरेको थियो। २१९ जनाबाट करिब तीन करोड रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका राईमाथि प्रहरीले अनुसन्धान अघि बढाएका पनि थिए।

सोही क्रममा उनलाई सोधपुछ गरेपछि थाहा भयो उनी घटनामा संलग्न नभई उनको नागरिकता प्रयोग भएको रहेछ। यसअघि बाजुराका पर्वराज पाण्डेलाई प्रहरीले पक्राउ गरेर एक दिन हिरासतमै राखेको थियो।

अनुसन्धनका क्रममा उनकै नागरिकता प्रयोग भएर बैंक खाता खोलिएको र जापान जानेहरूले सोही बैंक खातामा रकम जम्मा गरेका थिए। त्यस्तै पर्वराजको पनि हराएको नागकिरता प्रयोग गरेर बैंक खाता खोलेर ठगी गरेको खुलेपछि अनुसन्धान अघि बढेको प्रवक्ता रेग्मीले बताए। अहिले भने प्रहरीले नारायणबहादुर राई बनेर ठगी गरेका राजन र पर्वराज बनेका ईश्वरीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

प्रकाशित: २२ वैशाख २०८१ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App