५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धुलाम्य सडकले जनजीवन कष्टकर बनेपछि स्थानीय आन्दोलित

सूर्यविनायक-धुलिखेल सडक

धूलो सडकका कारण जनजीवन कष्टकर बनेपछि चाबहिल–साँखु सडक खण्डका स्थानीयहरु आन्दोलित <div><br></div>

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक घुलो र धुवाँले कुहिरीमण्डल बनेपछि स्थानीय आन्दोलित बनेका छन्।

विस्तारको क्रममा सूर्यविनायकदेखि जगातीसम्मको सडक वरिपरि दिनरात धुलो र धुवाँ उड्दा यस खण्डका यात्रु तथा स्थानीयलाई लामो समयदेखि मारमा परेका छन्।

सडक वारपार दुवैतिर घरहरू बनिसकेको घना बस्तीमा पनि अत्यधिक ढिलाइका साथ काम भएको भन्दै छिटो काम सक्नुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

स्थानीयका अनुसार झण्डै तीन महिना बढी समयदेखि सो खण्डमा निरन्तर काम भइरहेको छ। तर पनि काम पुरा हुने कुनै टुङ्गो छैन। ‘यस्तो घना बस्तीको सडकमा त दिनरात काम गरेर चाँडो सकाउनुपर्छ नि, स्थानीय युवा नरेश प्रजापति भन्छन्, ‘अल्पकालीन रुपमा पनि धुलो उड्न नदिन केही गतिलो काम भएन।’

अरनिको राजमार्गको सूर्यविनायकदेखि जगातीसम्मको एक किलोमिटर सडक खण्डमा विकसित क्षेत्र रहेकोले यहाँ राजमार्ग वरिपरि दुवैतिर घरहरू ठडिएका छन्। घरधनीहरु सधैजसाे धुलोकाे चपेटामा बस्नुपर्ने बाध्यतामा छन्।

यसैबीच राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोकमा चारदोबाटो कायम गर्न माग गरिएको छ। शनिबार आदर्श चोकमा खुल्ला जानकारी सभा गरी यसबारे सरोकारवालाहरुले यो मागसहित आन्दोलन थालेका हुन्।

यसअघि स्थानीय पीडितहरूले आदर्श डाँगाचा चार दोबाटो कायम गर्न माग समिति २०८१ डाँगाचा आदर्श भक्तपुर गठन गरेका थिए। भक्तपुर नगरपालिका वडा नं-४ का पूर्व वडा अध्यक्ष कुमार चवालको अध्यक्षतामा १५ सदस्यीय समिति स्थानीयले बनाएका थिए।

सिपाडोल मूलबाटो र भक्तपुर नगरपालिका वडा नं-५ र ७ बीचको चार दोबाटो खुल्ला राख्नुपर्ने उनीहरूको माग छ। आदर्श चोकलाई चार दोबाटो नै कायम गरिराख्न उनीहरु निरन्तर आन्दोलित हुँदै आइरहेका छन्।

आदर्श चोकलाई राजमार्ग विस्तारपछि चोक नभई बार लगाएर आवतजावत गर्न तीन/तीन सय मिटर यताउता जानुपर्ने बनाई आवतजावत बन्दको योजना बनाएपछि चोक बन्द नगर्न पनि उनीहरुकाे‍ माग मध्यको एक हो।

समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं-४ का निवर्तमान वडा अध्यक्ष कुमार चवालले सूर्यविनायकदेखि जगातीकोबीचमा रहेको आदर्श चोकमा चारदोवोटो बन्द गरी आवतजावत गर्न नदिने गरी बार लगाउने इष्टमेट भएको जानकारी आएकोले आफूहरु आन्दोलित हुनुपरेको बताए।

अध्यक्ष चवालका अनुसार चार दोबाटो बन्द नगर्न माग गर्दै सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाको कार्यालय धुलिखेल, भक्तपुर र सूर्यविनायक नगरपालिकाका नगर प्रमुखहरुलगायतका सरोकारवालाहरुलाई ध्यानाकर्षण पत्र बुझाइसकिएको छ। साथै सांसद प्रेम सुवालमार्फत् संसद्मा पनि यस विषयमा आवाज उठिसकेको छ।

सङ्घर्ष समितिका सचिव मणिरत्न बज्राचार्यले १५ सदस्यीय सङ्घर्ष समिति गठन गरी विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएका जानकारी दिए।

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायदेखि धुलिखेलसम्मको सडक विस्तार कार्य हाल जारी छ। यही क्रममा सडक विस्तारपछि हाल चालू रहेको चार दोवोटोलाई बार लगाई आवतजावत बन्द गर्ने योजना रहेको जनाइएको छ।

प्रकाशित: २२ वैशाख २०८१ १७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App