५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

जडीबुटीबाट आफ्नो उपचार आफैं गर्छ ओराङ्गुटान

उपचारका विभिन्न चरणमा ओराङ्गुटान प्रजातिको राकुस। तस्बिर स्रोत : नेचर डट कम

मानव प्रजातिको नजिकको नातेदार मानिने नरवानर ओराङ्गुटानले आफ्नो अनुहारमा लागेको घाउ निको पार्न जडीबुटी प्रयोग गरेको पाइएको छ। इन्डोनेसियाको सुमात्रामा रहेको जंगलमा एक पुरुष ओराङगुटनले मानिसले समेत औषधिका रूपमा प्रयोग गर्दै आएको लहरे बिरुवाको पात चपाएर घाउमा लगाएको एक अनुसन्धानले देखाएको छ।

वैज्ञानिक जर्नल साइन्टिफिक रिपोर्ट्समा र प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार जंगली जनावरले औषधीय गुण भएका प्राकृतिक पदार्थको प्रयोग गरेर आफ्नै उपचार गरेको यो पहिलो घटना हो। राकुस नाम गरेको उक्त ओराङ्गुटानले अकार कुनिङ नाम गरेको औषधिजन्य लहरेदार वनस्पतिको पात प्रयोग गरेको थियो।  

मलेय भाषामा ‘ओराङ’ भनेको मानिस हो भने ‘गुटान’ भनेको जंगल हो। जंगलमा बस्ने चम्किला आँखा तथा झुप्प दारीजुँगा भएकाले यो प्रजातिको नाम ओराङगुटान राखिएको हो। यो प्राणी आफ्नो संज्ञानात्मक क्षमता र अवलोकनमार्फत हुने सिकाइका लागि परिचित छ।

सन् २०२२ को जुन २५ मा फिल्ड जीवशास्त्री उलिल अझारीले गुनुङ ल्युसर राष्ट्रिय निकुञ्जमा रहेको तथा ओराङगुटान (पोगाें अवेली) प्रजातिमा पर्ने राकुसले उक्त जडीबुटी चपाएर दाहिने गालामा रहेको गहिरो घाउमा लगाएको देखेका थिए। अर्काे कुनै सजातीय पुरुषसँगको लडाइँका कारण सो घाउ भएको थियो।

राकुसले सो जडीबुटीको पेस्ट बनाएर केही दिनसम्म कैयौं पटक सात मिनेटभन्दा बढी समय घाउमा पट्टी (ब्यान्डेज) लगाएझैं गथ्र्यो। सो वनस्पतिको पात चपाएर ननिलीकन उसले पेस्ट बनाएको थियो र हातका औंलाले त्यसलाई घाउमा लगाएको थियो। उसले सो पेस्ट शरीरको अन्य भागमा भने लगाएको थिएन।

‘यसले मानिस र ओराङगुटानले ज्ञानको साझेदारी गर्ने देखिएको छ। एउटै बासस्थान साझेदारी गर्ने यी प्राणीले यसो गरेको मान्न सकिन्छ तर यो चाखलाग्दो घटना हो,’ अध्ययनका सहलेखकसमेत रहेकी म्याक्स प्ल्यान्क इन्स्च्यिुट अफ एनिमल बिहेबियरका विज्ञ क्यारोलिन चुप्लीले नेचर जर्नलको अनलाइनलाई भनेकी छन्।

आफ्नो क्षेत्रीय प्रभुत्व जमाउने उद्देश्यले भएको लडाइँमा अर्का पुरुष ओराङगुटानको कुकुर दात (क्यानिन्स) को टोकाइले राकुस घाइते भएको थियो। आफ्नो घाउ आफैंले उपचार गरिरहेको सो ओराङगुटानले जडीबुटीको डाँठ र पात खाएको पाइएको थियो। स्थानीयले उक्त जडीबुटीको प्रयोग मधुमेह, पखाला र मलेरिया रोगको उपचारमा गर्छन्।

उक्त क्षेत्रका ओराङगुटानले यो वनस्पति खाने गर्छन्। राकुसले एक दिन मात्र नभई अर्काे दिन पनि उक्त वनस्पतिको डाठ र पात खाएको देखिएको थियो। घाइते भएको आठ दिनमा उक्त घाउ पूर्ण रूपमा पुरिएको थियो। 

अनुसन्धानकर्ताले गरेको दुई दशकभन्दा लामो अवधिसम्म सो क्षेत्रमा गरेको लगातारको अध्ययनमा भेटिएको यो पहिलो घटना हो। यो क्षेत्रमा रहेका जंगली ओराङ्गुटान बिरलै घाइते हुने भएकाले त्यसो भएको हुन सक्ने अनुसन्धानकर्ताको आकलन छ। अथवा यो उपचारका बारेमा राकुसले मात्र थाहा पाएको हुन सक्ने उनीहरूको तर्क छ।

‘वैज्ञानिक रूपमा जंगली जीवले खास अवधिसम्म घाउको आफैंले उपचार गरेको यो पहिलो घटना हो,’ जापानको नागासाकी विश्वविद्यालयका वैज्ञानिक माइकल होफम्यानले नेचर जर्नललाई भनेका छन्। होफम्यानका अनुसार क्यानडामा पाइने स्नो गिजले पेटका जुका फाल्न जडीबुटीको पात खाने गरेको पाइएको छ।

यसैगरी डस्की फुटेड उड रयाट्स नाम गरेको जंगली मुसाको एक प्रजातिले परजीवी भगाउन बास्नादार बिरुवाको पात प्रयोग गर्ने गर्छ। यसैगरी चिम्पान्जीले उपचारका लागि घाउनजिक किरा रगड्ने गरेको पाइएको होफम्यान बताउँछन्।

‘हाम्रा पूर्वजले जनावरको अवलोकन गरेर उपचार पत्ता लगाएको हुन सक्छ। सामाजिक प्राणीले यो ज्ञानलाई प्रवाह गरेर अन्य पिँढीलाई हस्तान्तरण गर्ने गर्छन्,’ उनले भने। राकुसको प्रसंग उद्धृत गर्दै उनले थपे, ‘वनस्पतिको रासायनिक गुण र उपचारको प्रगति विवरणसहित गरिएको यो अध्ययन हालसम्मकै पहिलो हो।’

ओराङगुटान (पोगाें अवेली) सहित इन्डोनेसियामा पाइने तीनथरीका ओराङगुटानका प्रजाति अत्यन्त लोपोन्मुख मानिन्छन्।

प्रकाशित: २३ वैशाख २०८१ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App