६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

आँगनमा धारा छ, पानी छैन

फाइल तस्बिर

म्याग्दीको बेनी नगरपालिका– ६, छाप गाउँकी ७६ वर्षीया देवकुमारी बानियाँलाई जहिले पनि पानीको चिन्ता हुन्छ। आँगनमै धारा जडान गरेपछि लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्ने उनको आशा निराशामा परिणत भएको छ। आँगनमा धारा जडान गरेको दुई वर्ष हुँदा पनि पानी आएको छैन।

देवकुमारी जस्तै ६८ वर्षीया कोपिला बानियाँले घरकै छेउमा धारा बने पनि पानीका लागि दुःखका दिन अन्त्य भएको महसुस गर्न पाएकी छैनन्।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट तीन वर्षअगाडि सुरू भएको काउँले खानेपानी आयोजना पर्याप्त बजेट अभावका कारण अझै पूरा हुन सकेको छैन।

आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका छापवासी निराश बनेका छन्। ‘धारामा पानी आउँछ भनेर कुर्न थालेको पनि धेरै भइसक्यो,’ स्थानीय लक्ष्मी केसीले भनिन्। उनले पानी नआउँदै जडान गरेको धारा बिग्रिने अवस्थामा पुगेको बताइन्।

स्थानीय पूर्णकुमारी बानियाँले भनिन्, ‘दुईचार महिनामै आउँछ भनेको पानी दुई वर्ष बित्दा पनि आउने सुरसारै छैन।’ धारामा पानी छिट्टै आउने आश्वासन मात्रै पाइरहेको उनले बताइन्। अहिले गाउँमा भएको पुरानो धारामा पनि निकै कम पानी आउने गर्दा समस्या भएको उनले बताइन्।

वडाध्यक्ष कृष्णसिंह बानियाँले भने, ‘अहिले गाउँमा नयाँ धारा छन् तर पानी आउँदैन। खाना पकाउनका लागि पनि पर्याप्त पानी छैन, क्रमागत बजेटको नाममा कनिका छर्केजस्तै बजेट दिएर स्थानीयलाई सास्ती दिने काम भइरहेको छ।’

उनले समुदायमै खानेपानीको हाहाकार हुदाँ समेत वार्षिक न्यून बजेट विनियोजनले समस्या भएको बताए। २० हजार घनमिटरको १ वटा र ५ हजार घनमिटरको २ वटा ट्यांकीसहित धारा निर्माण गरिए पनि पाइप लाइन धारामा जडान र गाड्ने काम बाँकी छ।

कार्यालय प्रमुख इन्जिनियर झलकमोहन ओझाले क्रमागत बजेटका कारण खानेपानी आयोजनाले पूर्णता पाउन नसकेको बताए। ‘टुक्रे योजनाले समस्या भएको छ, ‘खानेपानीको बाँकी कामलाई समयै सम्पन्न गर्न ताकेता गर्छु,’ उनले भने।

आयोजनाका लागि गत आवमा ८ लाख र चालु आवमा १० लाख रूपैयाँ विनियोजन भएको छ। हालसम्म २५ लाख खर्च भएको आयोजनाको मूलबाट ट्यांकीसम्मको दूरी १५ सय मिटर छ। काँउले–१ मुहान सुकेको छ भने अर्कोमा पहिरो छ।

काउले खानेपानी उपभोक्ता समितिले ८४ घरधुरीमध्ये १६ घरमा धारा जडान गर्न बाँकी रहेको जनाएको छ। खानेपानी उपभोक्ता समितिका अध्यक्ष मनोज कार्कीले पर्याप्त बजेट उपलब्ध गराए ६ महिनाभित्रै आयोजना सम्पन्न गर्ने दाबी गरे।

प्रकाशित: २५ वैशाख २०८१ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App