६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मोरङमा बस पल्टिँदा १८ जना घाइते

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगामा बस पल्टिँदा १८ जना घाइते भएका छन्।

सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस बुढीगंगा–३ बाँसबारी चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ।

सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि अचानक मोटरसाइकल आएपछि बचाउन खोज्दा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।

ट्राफिक प्रमुख न्यौपानेले भने, ‘को १८ प ५२९ नम्बरको मोटरसाइकल अचानक पश्चिमबाट दक्षिणतर्फ मोड्ने क्रममा बसले ठक्कर दिँदा दुर्घटना भयो। प्रहरीले तत्काल दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल पठाएको छ।’

दुर्घटनामा परी १८ जना घाइते भएको उनले जानकारी दिए। मोटरसाइकल चालक सुनसरी देवानगञ्जका ४६ वर्षीय समाउद्दिन खानको छातीमा चोट लागेको छ। दुर्घटनामा परी घाइते भएका बसका यात्रु सिराहाकी ३७ वर्षीया निलम सिंह, सिराहाकै कल्याणपुर–१ की ६४ वर्षीय परमेश्वरी कापेटको टाउको र हातमा चोट लागेको छ।

त्यस्तै, कल्याणपुर–४ का १९ वर्षीय नन्दकिशोर यादव, लहान–१३ की ५२ वर्षीय रुकमदेवी पासवान, कल्याणपुर–११ की ३५ वर्षीय सुनिता यादव, धनुषाको हंसपुरका शंकर मण्डलका छोरा ५ वर्षीय आरुष मण्डल, कल्याणपुर–११ की ७० वर्षीय रामपरी ठाकुर, कल्याणपुर–११ का ४२ वर्षीय सुकोकुमार साह, कल्याणपुर–११ का प्रमोद यादवकी छोरी ४ वर्षीय कृतिका यादव घाइते छन्।

त्यसैगरी, कल्याणपुर– ११ की १८ वर्षीय मनिषाकुमारी यादव, सिराहा बरियारपट्टी–२ का २९ वर्षीय ओमप्रकाश दास, नडाहा–२ की १८ वर्षीय एलिसा सिंह, कल्याणपुर–११ का ६८ वर्षीय मो. सहिद मियाँ, ओरी–१ का १६ वर्षीय प्रवीण सिंह, कल्याणपुर–११ का १८ वर्षीय विवेक यादव, कल्याणपुर–१ का ६४ वर्षीय मखन कामती र सप्तरी बोदेबरसाइन–१ का ५४ वर्षीय श्रवणकुमार चौधरी घाइते भएको ट्राफिक प्रमुख न्यौपानेले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले जनाए।

घाइतेहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको शरीरका विभिन्न भागमा चोटपटक लागे पनि खतरामुक्त रहेको चिकित्सकलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८१ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App