७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सिकारीबाट बच्न मृत्युमञ्चन!

सिकारीबाट बच्न मुखभरि रगत निकालेर मरेको अभिनय गर्दै डाइस सर्प। तस्बिर : गेट्टी इमेजेज प्लस

सिकार हुनबाट बच्न केही जीवले अनौठो व्यवहार प्रदर्शन गर्छन्। केही अनाकर्षक वस्तुको प्रयोगसहित मृत्युको नाटकमञ्चन गर्दा त यो प्रहसन झन् प्रभावकारी हुन जान्छ।

‘डाइस स्नेक’ भनेर चिनिने पानी सर्पको एक प्रजातिले मुखभर रगत निकालेर, आफूलाई गन्ध र मलमूत्रले ढाकेर मरेको अभिनय गर्ने एक अध्ययनले देखाएको छ।

बायोलोजी लेटर्स वैज्ञानिक जर्नलमा बुधबार प्रकाशित एक अनुसन्धान प्रतिवेदनका अनुसार समन्वयात्मक हिसाबमा हुने सर्पका ती क्रियाकलापले उक्त प्रहसनको प्रभाव बढाउन र सिकारीबाट यथाशक्य चाँडो बच्न सहयोग पुग्ने गरेको देखिएको छ।

जीव वैज्ञानिकका अनुसार सिकारीबाट बच्न कतिपय जीव नचल्बलाईकन स्थिर रहन्छन्। यसो गर्दा उनीहरूले मलमूत्र, नमिठो गन्ध र मुखबाट रगत निकाल्नेसमेत गर्छन्। कतिपय सिकारी जन्तुले मृत जीवलाई छुँदैनन्। वैज्ञानिकका अनुसार मृत जीवमा परजीवी हुनसक्ने अथवा गतिहीनताका कारण सिकारी आकर्षित नभएको हुन सक्छ।

सर्भियाको वेलग्रेड विश्वविद्यालयका जीवशास्त्री भाकुसिन जेलिका र अना गोलुवोभिकले डाइस स्नेक्स (नाट्रिक्स टेसेलेटा) नामक सर्पका प्रजातिमा गरेको अध्ययनले उक्त सर्पले बाँच्न अनेक छद्म उपाय गर्ने पाइएको छ।

सामान्यतया यो सर्पलाई समात्यो भने उसले आफूलाई आफ्नै दिशा र गन्धले ढाक्नुअघि छटपटाउने र आवाज दिने गर्छ। यो क्रमको अन्त्यतिर यो सर्पले पुरै मुख खोलेर मुखभरी रगत निकाल्छ।

अध्ययनको क्रममा ती दुई जीवशास्त्रीले उत्तरी म्यासेडोनियाको गोलेम ग्राड टापुबाट २६३ वटा जंगली डायस सर्प पक्रेर तिनको मलमूत्र र गन्धको स्तर रेकर्ड गरेका थिए।

त्यसपछि ती सर्पलाई खुला स्थानमा छाडिएको थियो र सिकारी जन्तुले गर्ने कार्यको नक्कल गरेर ती सर्पले देखाउने व्यवहारको रेकर्ड राखिएको थियो। अध्ययनका क्रममा आधाजसो सर्पले आफूलाई मल र गन्धले लतपत पारेका थिए। १० प्रतिशत सर्पले मुखबाट रगत निकालेका थिए।

गन्ध, मलमूत्र अथवा रगतबिना नै मृत्युमञ्चन गर्नेले यो कार्य ४० सेकेन्डसम्म जारी राखेका थिए। मलमूत्र, गन्ध र रगतको संयुक्त रणनीति अवलम्बन गरेका ११ वटा सर्पले दुई सेकेन्ड जति मृत्यु भएको नाटक गरेका थिए।

‘दुई सेकेन्ड धेरै ठूलो समय होइन तर सर्पका लागि सिकारीबाट उम्कन यो समय पर्याप्त हुन सक्छ,’ अनुसन्धानकर्ता जेलिका भन्छिन्। अत्यन्त थोरै अवसरले सिकार हुने अथवा नहुने कुराको निर्धारण गर्ने उनको भनाइ छ।

क्यानडाको ओटावामा रहेको कार्लटन विश्वविद्यालयका इभोलुसनरी इकोलोजिस्ट टम सेराट यी जीवले गर्ने प्रतिकार्यलाई एकल रूपमा बुझ्न नहुने तर्क गर्छन्। ‘किन सबैले रगत निकाल्ने अथवा मलमूत्रले लतपत हुने व्यवहार गरेनन्। उनीहरूको व्यहारमा किन फरक आयो भन्ने विषयमा नयाँ खोज आवश्यक देखिन्छ,’ सेराट भन्छन्।  

यसैगरी हेलसिंकी विश्वविद्यालयका इकोलोजिस्ट काट्जा रोन्का सिकारी पक्षको पनि अध्ययन हुनुपर्ने बताउँछिन्। ‘सिकारीहरू किन मरेका जनावरप्रति निरुत्साहित हुन्छन् भन्ने विषयलाई अध्ययनको अर्को चरणमा समावेश गर्नुपर्छ,’ रोन्का भन्छिन्।

–सभार :  साइन्स न्युज

प्रकाशित: २७ वैशाख २०८१ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App