७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

विश्वमञ्चमा देश चिनाउने महिला

नेपाल नेतृत्व

नेपालमा पछिल्लो दुई दशकमा यस्ता महिलाहरू उदाए, जसले नेपाल र विश्वसामु आफू मात्र चिनिएनन्, देशलाई समेत चिनाए। यसको आधार थियो– उनीहरूले उत्पीडनमा परेका महिला, जातजाति तथा बालबालिकाको अधिकार र सुरक्षाका लागि भिन्नै काम गर्नु। जुन विश्वमै उदाहरणीय काम बन्यो।

अनुराधा कोइराला

कुनै बेलाकी शिक्षिका अनुराधा कोइराला स्वेदशमा मात्र चर्चित रहिनन्। उनको कामको अन्तर्राष्ट्रिय जगत्मै कदर भयो। शिक्षकपछिको समाजसेवाले कोेइराला चर्चित बनेकी हुन्।

सन् १९४९ मा ओखलढुंगाको रुम्जाटारमा गुरुङ परिवारमा जन्मिएकी उनी दिनेशप्रसाद कोइरालासँगको पे्रमविवाहपछि कोइराला बनेकी हुन्। अहिले ती शिक्षिकालाई नचिन्ने नेपाली बिरलै छन् भने अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनिसकेकी छिन्। नेपालमा विशेष समाजसेवीदेखि बागमती प्रदेशको प्रदेशप्रमुखसमेत बनिन्।

अनुराधाका हजुरबुबा राणाकालमै कालापानी पुर्‍याइएका थिए। बुबा भारतीय सेनामा जागिर खान्थे। अनुराधा पनि पितासँगै भारत बस्न थालिन्। विद्यालय तहको शिक्षा भारतको कालिम्पोङबाट र स्नातक तहसम्मको शिक्षा कलकत्ताबाट पूरा गरिन्। त्यसपछि नेपाल फर्किन् र डिल्लीबजारमा त्रिशक्ति नामको विद्यालय खोलिन्। उनको २० वर्ष शिक्षक पेसामै बित्यो। सानैदेखि मदर टेरेसाबाट प्रभावित उनी कसैको दुःखमा आँखा चिम्लिन सक्दिनथिन्।

यो समय कोइराला नियमित पशुपति जान्थिन्। पशुपतिमा बच्चा काखमा लिएर माग्न बसेका महिलाहरू देख्दा करुणा जाग्थ्यो। आफ्नो तलबबाट एक÷एक हजार दिएर नाङ्लो पसल खोलिदिइन्। यो पसलबाट दैनिक दुई रुपैयाँ संकलन गर्थिन्। संकलन भएको पैसा १० जना बालबालिकालाई सहयोग गरिन्।

समाजसेवाको इच्छा बढ्दै गयो। त्यसपछि पद्मकन्या क्याम्पसका विद्यार्थी र प्रहरी लिएर चेलीबेटी बेचबिखन प्रभावित जिल्लाहरूमा घुम्न थालिन्। सन् १९९३ मा ‘माइती नेपाल’ नामक संंस्था खोलिन् र बेचबिखनमा परेका महिलाहरूको उद्धार गर्न सुरु गरिन्। संस्थामा सुरुमा पैसा थिएन।

सन् १९९४ मा नेपाल घुम्न आएका बेलायती युवराज चाल्र्सले माइती नेपालको फोटो खिचे र केही रकम दिएर गए। त्यो पैसा यो संस्थाको कामका लागि राहत बन्यो। यो पैसाले बेचबिखनमा परेका चेलीबेटीको उद्धारमा लागिन्।

माइती नेपालकी प्रमुख कोइरालाको समाजसेवाको यात्रा तीन दशक नाघेको छ। यो अवधिमा ५५ हजार चेलीबेटीको उद्धार गरिसकेकी छिन्। बेचबिखनमा परेका महिलाहरूको शारीरिक तथा मानसिक उपचार, एचआइभी तथा एड्सविरुद्ध एन्टिरेक्ट्रोभाइरल थेरापी, पुनर्स्थापना, पारिवारिक मिलन, उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका सेवा एकद्वार प्रणालीबाटै गर्दै आएकी छिन्।

चेलीबेटीका साथै बालबालिकालाई शिक्षा, पालनपोषणको काम माइती नेपालले नै गर्‍यो। साथै संस्थाले ३७ हजारको पुनस्र्थापना र २५ हजारलाई कानुनी सेवा प्रदान गरेको छ। चेलीबेटीको पुनस्र्थापनाका लागि तीन आवास, १६ ट्रान्जिट होम, दुई पुनस्र्थापना गृह, एउटा बालबालिका संरक्षण गृह, दुई माध्यमिक विद्यालय, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई हस्पिस सेन्टर सञ्चालनमा छन्। उनको योगदानको कदर गर्दै सरकारले ५ सेप्टेम्बरलाई चेलीबेटी बेचबिखनविरुद्धको दिवस घोषणा ग¥यो।

अनुराधाको लामो संघर्ष र योगदानको राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बनेको छ। चेलीबेटीका लागि सचेतना, उनका लागि सम्मान र देशका लागि पहिचान बनाउन सफल भइन्।

सन् २०१० मा अमेरिकी समाचार संस्था सिएनएनले सिएनएन हिरो घोषणा ग¥योे। २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पद्मश्री पुरस्कार प्रदान गरे। सन् २०१४ मा मदर टेरेसा सम्मानबाट सम्मानित भइन्।  नेपाल सरकारले समेत उनलाई गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्टलगायतका थुप्रै पुरस्कार प्रदान गरिसकेको छ।

इन्दिरा रानामगर

हाल प्रतिनिधि सभाकी उपसभामुख झापा अर्जुनधाराकी ५३ वर्षीय इन्दिरा रानामगर कर्मद्वारा छाप छोड्ने महिला हुन्। कुनै बेला स्कुल जान नपाएकी रानामगर अहिले पाठ्यपुस्तकमै पढिन्छिन् र संसद्मा बैठक सञ्चालन गर्छिन्। ‘आफै पाठ्यक्रम बनूँला भन्ने त कत्ति पनि सोचेकी थिइनँ,’ प्रतिनिधि सभाकी उपसभामुख राना मगरले भनिन्।

रानामगरले सन् २००५ मा विश्व चर्चित ‘अशोका फेलो’, सन् २००९ मा ‘एसिया जनसेवा अवार्ड’, सन् २०१४ मा वल्र्ड चिल्ड्रेन जनसेवा अवार्ड’ प्राप्त गरिन्। त्यसैगरी सन् २०१७ मा बिबिसीले विश्वको सिर्जनशील महिलाहरूको सूचीमा रानाको नाम समेटेको थियो।

यी उपाधि तथा पुरस्कारहरू रानामगरले जेलका कैदीबन्दी, उनीहरूको बालबालिकाको संरक्षण र अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानबापत दिइएको हो। मगरले ओशाका फेलोमार्फत नै विश्वका धेरै देशमा पुगेर कैदीबन्दी बालअधिकारका बारेमा प्रस्तुति दिइसकेकी छिन्। ‘पहिला जेलका छोराछोरीलाई अपराधीका छोराछोरी भन्थे, मैले चलनविरुद्ध लडेकी थिएँ,’ उनले भनिन्।

२०२७ सालमा झापाको शनिश्चरेमा जन्मिएकी मगरको सिंगो जीवन संघर्षमय छ। सानो छँदा दाइहरू स्कुल जान्थे। उनी घाँसदाउराको काम गर्थिन्। इन्दिरा दाइहरू स्कुल गएको दृश्य हेरिरहन्थिन्।

दाइहरूले पढेको सुनेकोभरमा अक्षर चिनेकी मगरलाई हस्त परियार भन्ने प्रधानाध्यापक घरमा पुगेका थिए। उनले सरलाई म स्कुल नगए पनि पढ्न सक्छु भनिन्? भनेर सोधिन्। यो सुनेका प्रधानाध्यापकले  १२ वर्षको उमेर हुँदा शनिश्चरेको महारानीगन्ज स्कुलमा  कक्षा ४ मा भर्ना गरिदिए। २०४५ सालमा एसएलसी गरेपछि आइए झापामै पढिन्।

२०४७ सालमा उच्च शिक्षाका लागि काठमाडौं प्रवेश गरिन्। जागिर खाँदै पढाइमा निरन्तर दिइन्। जागिरको सिलसिलामा पारिजातकी बहिनीको विद्यालयमा पुगिन्। त्यहीं पारिजातसँग भेट भयो। पारिजात ह्युरिन नामक मानव अधिकारवादी संस्थाकी उपाध्यक्ष थिइन्। मगर त्यही संस्थाको सदस्य बनेर राजनीतिक बन्दीहरूको अधिकारको माग गर्थिन्।

जेलमा आमाबुबासँगै जेल जीवन बिताएका बालबालिका देखेपछि त्योे दिन उनलाई दुःख लाग्यो। ‘मभन्दा पीडित त बालबालिका पोे रहेछन् भन्ने लाग्यो,’ पुराना दिन सम्झेर भनी। त्यसपछि सन् २००० मा ‘बन्दी सहायता नेपाल’ संस्था खोलेर जेलका बालबालिकाका लागि समर्पित बनिन्। पैसा थिएन तर दुईवटा बच्चा लिएर हेरचाह सुरु गरिन्। उनले हालसम्म पाँच हजारभन्दा बढी बालबालिकाको हेरचाह तथा शिक्षामा योगदान गरिसकेकी छिन्।

जेलका बच्चाहरू आफूसँग राख्ने मात्र नभएर उनीहरूलाई आमाबुबासँग भेट्न दिने काम गरिन्। यो काम विश्वभरि कतै भएको थिएन। नेपालमा केही बालगृहले बन्दीका बालबालिकालाई लिएपछि अविभावकसँग भेट्न प्रतिबन्ध लगाउँथे।

यो कदम बालअधिकार विपरीत भएको रानामगर बताउँछिन्। ‘विश्वमै बन्दीका बालबालिकालाई अपराधी सरह व्यवहार गरिन्थ्यो या असहाय केन्द्रमा राखिन्थ्यो’ उनले भनिन्। हाल उनको संरक्षकत्वमा दुईवटा विद्यालय र १० वटा बालगृह सञ्चालनमा छन्।

अहिले मगर प्रतिनिधि सभाको उपसभामुखको भूमिकामा छिन्। समाजलाई बदल्ने मुख्य बिन्दु राजनीति भएकाले अबको यात्रामा नेपाललाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा लाग्ने बताउँछिन्। ‘नीतिगत भ्रष्टाचारकोे अन्त्यका लागि नीति बनाउँछु, त्यसपछि जनताको शिक्षा र स्वास्थ्यमा लगानी गछौं,’ उनले भने। परिवर्तनका लागि जोखिमपूर्ण यात्रा आवश्यक भएकाले आफूले जोखिमका बाटाहरू हिँडिरहेको बताउँछिन्। ‘अन्धकारमा पाइला नहाली जीवनमा क्रान्ति आउँदैन, अहिलेको परिवर्तन क्रान्तिकारी पाइला नै थियो,’ उनले भनिन्।

पुष्पा बस्नेत

समाजसेवामार्फत परिचय बनाउने अर्की महिला हुन् काठमाडौं डिल्लीबजार निवासी ४० वर्षीय पुष्पा वस्नेत। परिवारमा तीन सन्तानमध्येकी माहिँली छोरी उनी अरूभन्दा फरक स्वभावकी थिइन्। प्रतिवाद गर्ने, अन्याय नसहने र अरूको दुःख हेर्न नसक्ने उनका गुण थिए। तिनै गुण उनको जीवनयात्रामा कतै बिझाउने काँडा बने त कतै परोपकारी हात बने।

बुबा व्यापारी थिए। खान, लगाउन र शिक्षाका लागि कुनै अभाव झेल्नुपरेन। काठमाडौं लामाटारको स्कुलबाट एसएलसी दिइन्। एसएलसीमा अनुत्तीर्ण भइन्। कक्षामै उनी मात्र अनुत्तीर्ण भएको विषय परिवारकै पीडा बन्यो।

आउने÷जानेले उनी फेल भएकोबारे टिप्पणी गरिदिन्थे। यो टिप्पणी सुन्दा उनलाई नरमाइलो लाग्थ्यो। घरमा आउनेहरूको टिप्पणीबाट भाग्ने उद्देश्यले उनी नक्साल बालमन्दिरका बालबालिकालाई पढाएर बिताउन थालिन्।

अर्को वर्ष प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरिन्। त्यसपछि सेभेन एकेडेमीबाट आइए उत्तीर्ण, सेन्ट जेभियर्स कलेजबाट सोसियल वर्क विषयमा स्नातक तहमा अध्ययन गर्न सुरु गरिन्। उनको सिधा प्रतिवाद गर्ने र खुलेर बोल्ने बानी सेन्ट जेभियर्स कलेजमा स्वाभाविक भएन।

सन् २००५ तिरको कुरा थियो। स्नातक दोस्रो वर्षमा अध्ययन गर्दै थिइन्। एक दिन उनी आफन्तको विवाह छ भनेर कलेजबाट निस्किन्। यो सूचना शिक्षकले उनकी आमालाई दिए। पुष्पाकी आमाले उल्टै कलेजलाई दोष देखाइन्। आमाको टिप्पणी सुन्न नसकेपछि कलेजले पुष्पालाई एक वर्षका लागि निलम्बन ग¥यो। यो कुरा उनले घरमा सुनाइन्।

पुष्पाका बुबाले एक वर्ष कुरेर त्यही कलेज पढ्नु भनेपछि फेरि उनका लागि फुर्सद निस्कियो। एक वर्ष यत्तिकै बस्न कठिन थियो। सन् २००५ मा प्राम्भिक बाल विकास केन्द्र खोलिन्। पछि ‘पुतली घर’ नामक बालगृह खोलेर जेलका बालबालिकालाई आश्रय दिइन्।

भाटभटेनी ढल्कोमा कोठा लिएर जेलका बालबालिका राख्न सुरु गरिन्। ती बालबालिकासँगै आफू पनि बस्न सुरु गरिन्। सुरुमा दाता थिएनन्। घरकै सामान, खाद्यान्न लुकाएर लगेर बालबालिकालाई खुवाउने र स्कुल पढाइदिने काम गरिन्। ‘मैले आफ्नो गहनासमेत बेचेर बालबालिकाको हेरचाह गरें,’ उनले सुरुका दिन सम्झिँदै भनिन्। त्यसपछि उनले बालगृह खोलिन्।

सुरुमा चार जना जेलका बच्चा लिएर हेरचाह सुरु गरेकी उनले यो अवधिमा पाँच सयभन्दा बढी बालबालिकाको हेरचाह गरिसकेकी छिन्। अहिले उनीले २८ जना छोरी र दुई छोरालाई पढाइरहेकी छिन्। उनको यही कामको कदरस्वरूप सन् २०१२ सिएनएन हिरोबाट पुरस्कृत भएकी थिइन्।

सन् २०१६ मा सिएनएन सुपर हिरो पुरस्कृत भएकी थिइन्। त्यसबापत पाँच करोड बराबरको नेपाली पुरस्कार पाइन्। त्यही पैसाले उनले जेलका बालबालिकाका लागि घर बनाउने जग्गा किनिन्। पछि अमेरिकी राजदूतावासमार्फत नेतृत्व तालिम लिन अमेरिका पुगिन्। त्यहाँ एक विदेशीसँग उनको कुराकानी भयो। उनले नेपाल आएर उनको कार्यबारे ‘वेटिङ फर मामु’ नामक डकुमेन्ट्री बनाए। त्यो डकुमेन्ट्रीवापत भएको १३ करोड रुपैयाँ उनले पाइन्। यो पैसा पनि जेलकै बच्चाको आवास बनाउन  प्रयोग गरिन्।

अहिले बुढानीलकण्ठमा चारवटा आवास छन्। यी आवासमा जेलका बालबालिका खेल्छन्, हुर्कन्छन् र पढ्छन्। पुष्पाको यो समाजसेवाले सिएनएन हिरो बनेर विश्वमा नेपाललाई चिनाउन सफल भएकी हुन्।

अहिले विभिन्न अपराधमा संलग्न भएको भनी जेलमा किशोर तथा बालबालिकाका लागि काम गर्छिन्। पुष्पा भन्छिन्, ‘बालबालिका आफै अपराधी बनेका होइनन्, वातावरण दोषी हो। म उनीहरूको सुधार र शिक्षाका लागि काम गर्छु।’ उनले थप्छिन्, ‘बुबाको व्यापार समालेको भए सामानसँग सम्बन्ध हुन्थ्यो, जेलका बच्चा सम्हाल्नु भनेको मानिसको जीवनसँग सम्बन्ध छ, जुन विषय संवेदनशील छ,’ उनले भनिन्।

विष्णुमाया परियार

कुनै बेला कलेज पढ्ने पैसाको अभावले राजधानीको गार्मेन्टमा काम गरेकी विष्णुमाया परियार अहिले अमेरिकामा बस्छिन्। गोरखाको ताक्लुङ गाउँमा सन् १९७३ मा जन्मिएकी परियार हुर्किंदै गर्दा जातीय विभेद चर्को थियो।

स्कुल जाँदा पढाइमा विभेद हुन्थ्यो, गाउँमा खाना खाएपछि सुनपानी छर्किन्थे, खाना खाएको ठाउँमा गोबरले पोतिदिनुपथ्र्यो, स्कुलमा दलित भनेर जिस्काउँथे। ‘तल्लो जातकी केटी पढ्न आएकी भन्दै जिस्काउँथे,’ परियारले भनिन्।

अहिले उनका अघि विभेदी पलहरू छैनन्। गोरखामा विद्यालय तहको पढाइ सकेपछि काठमाडौंमा कक्षा १२ सम्म अध्ययन गरिन्। काठमाडौं आएपछि पैसा पठाइदिने भनेका पिसकोरको पैसा उनले पाइनन्। अरूले नै खाइदिएछन्।

 काठमाडौंमा पैसाअभाव भएपछि गार्मेन्टमा कामदारहरूलाई खाना पकाउने काम गर्थिन्। पछि पिसकोर्ससँग पुनः सम्पर्क भयोे र पैसा पाइन्। स्नातक पढ्दै गर्दा अमेरिकी नागरिक पाम रोससँग ‘युनिभर्सिटी अफ कलेज इयर इन नेपाल’ विषयक अनुसन्धानमा सहायकका रूपमा काम पाइन्। उनै पाम रोसमार्फत सन् १९९८ मा अमेरिका पुगिन्। त्यहाँ पुगेर ‘इन्टरनेसनल डेभलपमेन्ट एन्ड सोसियल वर्क’ विषयमा स्नाकोत्तर उत्तीर्ण गरिन्।

अमेरिकी बसाइकै क्रममा आफूले भोगेका विभेदका क्षणहरू सम्झिन्। आफूजस्तै अपमानमा परेका बालबालिका र महिलाको विकासमा टेवा पु¥याउने उद्देश्यले सन्् १९९८ मा नेपाल आएर दलित महिला उत्थान संघ एडवान खोलेर समाजसेवाको काम सुरु गरिन्।

यो अवधिमा उनले २५ लाख दलित तथा विपन्न बालबालिकाको पढाइका लागि सहयोग गरिसकेकी छिन्। एक लाख ५० हजारभन्दा बढी विपन्न महिलाको सशक्तीकरण, दिगो कृषि, शिक्षा, स्वास्थ्य र सचेतनाका लागि योगदान पुर्‍याइन्। ‘शिक्षा र आर्थिक सशक्तीकरण भयोे भने स्वतः विभेद हट्छ भन्ने मेरोे सोच हो,’ उनले भनिन्। परियार एडवानको संस्थापक अध्यक्ष हुन्।

यो अभियानका लागि परियारले नेपालबाट सामान लिएर अमेरिकामा बेच्थिन्। बिक्रीबाट आएको नाफा यस्ता बालबालिकाको शिक्षामा लगानी गरिन्। यो अभियान देखेपछि धेरै अमेरिकन नागरिक र निकायले स्वतः सहयोग गर्न थाले र संस्था आत्मनिर्भर बन्दै गयो।

परियार नेपाल अमेरिका दुबै ठाउँमा एकैसाथ समाजसेवामा तल्लीन छिन्। हाल उनी अमेरिकाको न्यु जर्सी राज्यकोे जर्सी सिटीअन्तर्गत हड्सनस्पिककी वरिष्ठ कार्यक्रम निर्देशकका रूपमा कार्यरत छिन्। यो संस्थाले राज्यका ६ लाख जनसंख्यालाई यौन हिंंसाविरुद्ध आकस्मिक सहायता प्रदान गर्छ।

उनले नेपाल र अमेरिका दुवै ठाउँमा समाजसेवामा तल्लीन छिन्। सन् २०२२ मा परियारबारे अमेरिकी राज्य मासाचुसेट्सकोे शिक्षा विभागले कक्षा ७ को पाठ्यक्रममा ‘छुवाछुत र दिगो विकास शीर्षकमा समावेश गरेको छ। यो विषय अहिले उक्त राज्यभरि पढाइ हुन्छ।

सन् २०२१ मा अमेरिकी प्रकाशक म्याग्रो हिलले लिसा राइट होपनद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा परियारको जीवनी समावेश गरेको छ। योे पुस्तक विश्वका एक सय देशका कलेज र विश्वविद्यालयमा पढाइ हुन्छ। उनको समाजसेवाकोे योगदानबापत अमेरिकी विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिइसकेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४० वटा पुरस्कार तथा सम्मान पाइसकेकी परियारको योगदानकोे कदर गर्दै सन् २०१५ मा अमेरिकाको केन्टुकी राज्यका मेयर ग्रेग फिसरले प्रोक्लामेसन पत्रद्वारा सेप्टेम्बर २७ लाई डा. विष्णुमाया डे घोषणा गरेका छन्। अमेरिकामा नेपालीका लागि जीवित व्यक्तिको नाममा दिवस घोषणा गरेको पहिलो हो।

सन् २०१७ मा परियारले अमेरिकाको न्यु जर्सी सहरमा रहेको सिटी हलमा नेपालको झन्डा राखेकी थिइन्। नेपाली झन्डा फहराउने विश्वमै पहिलो अमेरिकी सहर बनेको थियो। सन् २०२१ मा पनि परियारकै पहलमा दोस्र्रो पटक नेपाली झन्डा फहराएकी थिइन्।

सन् २०१९ मा अमेरिकाको जर्सी सिटी सहर र नेपालको इन्द्रावती गाउँपालिकाबिच भगिनी सहर बनाउने हस्ताक्षर उनकै पहलमा भयो। त्यतिबेला परियार जर्सी सिटीको मेयरको सल्लाहकार थिइन्। अमेरिकामा बसोेबास गरे पनि मनभित्र नेपाल र नेपालीको माया बलियोसँग बसेको हुनाले नेपालको समाजसेवामा निरन्तर लागेको उनी बताउँछिन्।  

प्रकाशित: २७ वैशाख २०८१ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App