७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सवा तीन करोडको घन्टाघर अलपत्र

सञ्चालनमा आउन नसकेको घन्टाघर। तस्बिर : योगेश रावल

टीकापुरस्थित घन्टाघर निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सवा तीन करोडभन्दा बढी लागतमा निर्माण भएको घन्टाघर सञ्चालनमा नआउँदा जीर्ण बन्दै गइरहेको छ।

सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले टीकापुर नगरपालिका १ ब्लक नं १९ मा ३ करोड २६ लाख ४२ हजार रुपैयाँको लागतमा घन्टाघर निर्माण गरेको छ। घन्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीले २०७५ फागुन १९ गते सम्झौता गरेको थियो।

सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण २०७८ मा निर्माण सम्पन्न भएको थियो। सहरी विकास तथा भवन निर्माण कार्यालयले घन्टाघर निर्माण भएपछि २०७९ वैशाख १५ गते सञ्चालनका लागि टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो।

नगरपालिकाले हस्तान्तरण भएको एक वर्षभन्दा बढी समयसम्म पनि घन्टाघर सञ्चालनका बारेमा कुनै निर्णय गर्न सकेन। उसले २०८० साउन १५ गतेको कार्यपालिका बैठकमार्फत दररेट निर्धारण गरेको थियो।

कार्यपालिका बैठकले दररेट निर्धारण गरेपछि मात्रै नगरपालिकाले पहिलोपटक २०८० साउन २४ मा सूचना प्रकाशन गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीका अनुसार घन्टाघर सञ्चालनका लागि पहिलोपटक कसैको पनि निवेदन परेन।

पहिलोपटक कसैको निवेदन नपरेपछि नगरपालिकाले २०८० भदौ ११ मा दोस्रोपटक सूचना प्रकाशन गरेको थियो। चौधरीका अनुसार दोस्रोपटक पनि भ्याटमा दर्ता नभएको एक मात्र निवेदन परेको थियो। सो निवेदनलाई अयोग्य भन्दै नगरपालिकाले २०८० कात्तिक १६ मा रद्द गरिदिएको थियो।

नगरपालिकाले घन्टाघरलगायतका संरचनाबाट आन्तरिक आय कसरी बढाउन सकिन्छ भन्नेबारेमा अध्ययन गर्न केही महिनाअघि टीकापुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख केशरबहादुर कुँवरको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो। सो समितिले काम गर्न सकेन।  

नगर प्रमुख रामलाल डगौरा थारुले लामो समयदेखि सञ्चालनमा आउन नसकेको घन्टाघर सञ्चालनको काम नयाँ ढंगले अघि बढाइएको बताए। उनले आगामी आर्थिक वर्षको सुरुवातमै सञ्चालन गर्ने गरी काम अघि बढेको जानकारी दिए। ‘१-२ दिनमै प्रक्रिया सुरु हुन्छ’, नगरप्रमुख थारुले भने, ‘नगरपालिकाको आन्तरिक समस्याका कारण समयमा सञ्चालन हुन नसकेको हो।’

घन्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । यहाँबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । २६ मिटर उचाइ रहेको यो घन्टाघरबाट टीकापुर बजार क्षेत्र अवलोकन गर्ने सकिने छ।

पहिलो तलामा रेस्टुरेन्ट सञ्चालन गर्न सकिने छ भने घन्टाघरमा प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउन्टर निर्माण गरिएको छ।

घन्टाघर सञ्चालन नहुँदा त्यहाँ प्रयोग गरिएका चारवटा घडीसमेत बन्द अवस्थामा छन्। निकै सानो आकारको घडी भएकाले समय हेर्न गाह्रो हुने बताउँदै स्थानीयले उक्त घडी फेर्न माग गर्दै आएका छन्।

प्रकाशित: २७ वैशाख २०८१ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App