७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रास्कोटमै खाद्य डिपो स्थापना, सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो

फाइल तस्बिर।

कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएसँगै खाद्यान्नको जोहो गर्नकै लागि सदरमुकाम मान्मसम्म पुग्नुपर्ने बाध्यताको अन्य भएको छ।

गाउँमै खाद्य डिपो सञ्चालनमा आएपछि सस्तोमै खाद्यान्न पाइनेमा यहाँका स्थानीय हर्षित छन्। ‘पहिले थोरै खाद्यान्न खरिद गर्न पनि सदरमुकाम नै जानुपर्ने बाध्यता थियो’ स्थानीय रास्कोट नगरपालिका-३ निवासी अम्ती सार्की भन्छन् ‘गाउँमै डिपो स्थापना भएपछि अब सजिलो हुने भो।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले खाद्य डिपो स्थापना गरेको हो। गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्ने उद्देश्यका साथ डिपो सञ्चालनमा ल्याइएको नगरका उप-प्रमुख मनीराज बरालले जानकारी दिए।

‘खाद्य डिपो सञ्चालनमा आएसँगै आम नागरिकलाई सहज खाद्यान्न आपूर्ति र उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणमा सुनिश्चितता भएको छ’ उप-प्रमुख बरालले नागरिक न्युजसँग भने।

सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले पाँचदेखि सात प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्न सक्ने उप-प्रमुख बराल बताउँछन्।

‘यस खाद्य डिपोबाट सान्नी त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका बासिन्दालाई खाद्यान्न खरिदमा सहज हुनेछ’, उनी भन्छन् ‘डिपो स्थापनाले करिब १० हजार घरधुरी लाभान्वित हुनेछन्।’

प्रकाशित: २७ वैशाख २०८१ २०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App