नक्कली नेपाली नोटसहित एकजना महिलालाई रंगेली नगरपालिका ९ स्थित दोहमना बजारबाट प्रहरीले पक्राउ गरेको छ।
सुनवर्षी नगरपालिका ५ टकुवाकी ४० वर्षीया कुरेसा खातुनलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार खातुनको साथबाट नेपाली ५ सय दरका १८ वटा नक्कली नोट बरामद भएको हो। उनीसँगै रहेका अन्य २ जना पुरुष भने फरार भएको डिएसपी बस्नेतले बताए।
खातुनसहित पहिचान नखुलेका २ जना पुरुष बोका किन्न भनेर बिहीबार दोहमना हाट बजारमा आएका थिए। रंगेली ९ की सुकुरमुनी सन्थाल सोरेनले घरमा पालेका बोका र पाठी बिक्रीका लागि बजारमा लिएर गएकी थिइन्।
खातुन र मोटरसाइकलमा रहेका दुईजनाले सोरेनसँग १२ हजार रूपैयाँमा २ वटा बोका किनेका थिए। बोका किनेर १ हजार दरका ३ वटा र ५ सय दरका १८ वटा नोट दिएको प्रहरीले जनाएको छ।
सोरेनले नोटहरू नक्कली रहेको शंका गरिन्। त्यसलगत्तै मोटरसाइकलको बीचमा २ वटा बोका राखेर २ जना पुरुषहरू फरार भएको बताउँदै डिएसपी बस्नेतले भने, ‘फरार भएका पुरुषको खोजी गरिरहेका छौं। बोका लिएर २ जना पुरुष फरार भए पनि उनीहरूसँगै रहेकी खातुनलाई प्रहरीले पक्राउ ग¥यो। उनी पनि भाग्न खोज्दै थिइन्। उनका साथमा रहेको ५ सय दरका १८ वटा नोट बरामद भएको हो।’
परीक्षण गराउँदा नोटहरू नक्कली रहेको र सबैमा एउटै नम्बर रहेको छ। विराटनगरस्थित राष्ट्र बैंकले समेत नोटहरू नक्कली रहेको पुष्टि गरेको डिएसपी बस्नेतले बताए।
उनका अनुसार १ हजार दरका नोट सक्कली रहेको र बोका लिएर फरार भएका पुरुषहरू भारतीय नागरिक हुन सक्ने अनुमान छ। प्रहरीका अनुसार उनीहरूलाई भगाउन खातुनले भूमिका खेलेको र आफू पनि भाग्न खोजेको पाइएको छ।
खातुनविरुद्ध मुद्रासम्बन्धी कसुरमा कारबाहीका लागि शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ वैशाख २०८१ १९:१० शुक्रबार