१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

अनि रोयो कर्णाली... (फोटो फिचर)

हुम्ला– कर्णालीमा हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ कोबेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट कर्णाली नदीमा जीपसहित ११ जना यात्रु बेपत्ता भएका थिए। बेपत्ता भएको तीन दिनसम्म पत्ता नलागेपछि आज बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको शव बनाएर हिन्दु परम्पराअनुसार खार्पुनाथ शिव मन्दिरमा रहेको खार्पु त्रिवेणीमा राजु श्रेष्ठ र नाम नखुलेको श्रेष्ठको साथि बाहेक अन्य नौ जनाको अन्त्येष्टी गरिएको छ।

बेपत्ता भएकाहरू नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौडा नजिकै खार्पुनाथ उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जीप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्र्स भेटिएको छ। बेपत्ताको खोजीका लागि काठमाडौंको गोताखोर टोली हुम्ला पुगेको छ। गोताखोरले पनि कर्णाली नदीमा केहि नभेटेपछि बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको पुत्ला बनाई बिहिबार दिउँसो साढे १ बजे खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक सिमकोट ८ याङगुका मणि शाही, यात्रुहरु खार्पुनाथ ५ याङचुका बसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनारको खार्पु त्रिवेणीमा, खार्पुनाथ १ पिउसकी कौरा दमाई उनका दुई वर्षीय छोराको बेकचेगौडामा र खार्पुनाथ ४ छिप्राका चन्द्र हमाल र खार्पुनाथ ४ नल्नाका नैनसिंह भण्डारीको छिप्राको दुवाडीचौरमा अन्त्येष्टी गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए। बेपत्तामध्ये काठमाडौ थानकोटका राजु श्रैष्ठ र नाम नखुलेको १ जनाको भने अन्त्येष्टी गरिएको छैन्।

त्यस्तै कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीप र बेपत्ता यात्रुको खोजीका लागि कुरिनटारबाट बुधबार घटनास्थल बालु बिसौनी कैल्याबालु पुगेको गोताखोर टोली फर्कने तयारीमा रहेको छ। कर्णाली नदीमा बुधबार र बिहिबार खोजी गर्दा पनि केही तथ्य फेला नपरेको र पानीको भेल बढेकाले बेपत्ता भएकाहरुको लास नभेटिएपछि उनीहरु फर्कने तयारी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय हुम्लाको पहल र गृह मन्त्रालयको सहयोगमा खोजीको लागि शसस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा घटनास्थल पुगेको १० जना गोताखोर टोलीले शुक्रबार फर्कने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले नागरिक न्यूजलाई बताए। गोताखोर कर्णाली नदीभित्र पसेर खोजी गरेपनि नदी बढेकोले पानीसँगै बालुवा, ढुगां र माटो आउने भएका कारण खोजी गर्न कठिन भएको प्रहरी निरीक्षक बस्नेतले बताए।

नदीको पानी चिसो र बहाब बढेकाले काम गर्न कठिन हुँदा पनि टोलीले प्रयास गर्दा पनि केहि नभेटिएपछि बस्नेतको नेतृत्वको टोली शुक्रबार फर्किने लागेको हो।

शोकमा सार्वजनिक विदा
अहिले खार्पुनाथ गाउँपालिका पुरै शोकमा डुबेको छ। गाउँपालिकाको बुधबारको आकस्मिक बैठकले १३ दिनसम्म पालिकामा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, असार १६ गते शोकसभासहित सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय एवम् विद्यालयहरुमा १६ गते १ दिन सार्वजनिक विदा दिने निर्णय गरी उपाध्यक्षको काजकिरियामा लाग्ने सबै खर्च खापुनार्थ गाउँपालिकाले व्यहोर्ने र अन्यलाई किरिया खर्च बापत जनही दश हजार दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता भीमराज शाहीले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App