२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको एसिया कप सपना साकार

अलराउन्डर गुल्सन झा र भीम सार्कीको उत्कृष्ट साझेदारी प्रेरित नेपालले एसिसी मेन्स प्रिमियर कपको विजेताका रूपमा एसिया कपको टिकट काटेको छ। एसिया कपको छनोट चरण पार गरेसँगै नेपालले टेस्ट राष्ट्र भारत र पाकिस्तानविरुद्ध खेल्ने सपना साकार पारेको छ, जुन नेपाली क्रिकेटको सफलताको अर्को एउटा गन्तव्य हो।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार आयोजित फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि ७ विकेटको सहज जितसहित एसिया कपमा पुग्ने सपना साकार पारेको हो। सन् २०१८ मा एक दिवसीय मान्यता पाएको नेपालले गत महिना मात्र आइसिसी विश्वकप क्रिकेट लिग–२ को तेस्रो स्थान पक्का गरेसँगै एक दिवसीय मान्यता जोगाउनुका साथै जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोटमा स्थान बनाइसकेको छ।  

एक दिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मको सबैभन्दा ठुलो सफलता हो। युएईले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाउन सफल भयो। खराब सुरुवात गरे पनि अलराउन्डर गुल्सन र भीम नेपालको इनिङ सम्हाल्न सफल भए। सोमबार खेल पूरा नहुँदै वर्षा भएकाले बाँकी खेल मंगलबारका लागि सरेको थियो। सोमबार नै एसिसी मेन्स प्रिमियर कपको विजेताको टुंगो लाग्नुपर्ने थियो। तर २७.३ ओभरमा युएईले ९ विकेटको क्षतिमा १०६ रन जोड्दा वर्षाका कारण खेल स्थगित भएको थियो। वर्षा नरोकिएपछि बाँकी खेल मंगलबारका लागि सारिएको थियो। मंगलबार १०६–९ बाट ब्याटिङ गरेको युएईले थप ११ रन जोड्दा सबै विकेट गुमायो। नेपालले जितका लागि १ सय १८ रनको सहज लक्ष्य पाएको थियो। अन्तिम विकेटका लागि ललित राजवंशीले जुनैद सिद्दिकीलाई १० रनमा कुशल भुर्तेलबाट क्याच गराएसँगै युएईको इनिङ ३३.१ ओभरमा सीमित भयो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार आयोजित एसिसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि ७ विकेटको सहज जितसहित एसिया कपमा पुग्ने सपना साकार पारेको हो।

सहज लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुआत भने गर्न सकेन। १ रन जोड्दा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले थप १८ रन जोड्दा अर्का ओपनर आसिफ सेखलाई गुमायो। २२ रनमा खेलिरहँदा कप्तान रोहित पौडेललाई पनि गुमाएपछि नेपाल दबाबमा परेको थियो। रोहितले मात्र १ रन जोडे। लगातार स्पिनरलाई प्रयोग गर्दै युएईले नेपालको इनिङलाई कठिन बनाउने प्रयास गरेको थियो। युएईले रोहितलाई पवेलियन फर्काएपछि ब्याटिङका लागि आएका भीमसँग गुल्सनले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरेपछि नेपालको जित निश्चित भएको थियो। यो क्रममा गुल्सनले एक दिवसीय करियरकै उत्कृष्ट ब्याटिङ गरे। उनले ८४ बलमा ३ चौका र ६ छक्काको मद्दतमा अविजित ६७ रन जोड्दा भीमले ७२ बलमा ४ चौकाको मद्दतमा अविजित ३६ रन जोडे।  

प्रशिक्षक मोन्टी देसाईले पहिलो विकेटका रूपमा कुशल पवेलियन फर्किएपछि गुल्सनलाई नयाँ भूमिकामा मैदान प्रवेश गराए। ‘ड्रेसिङ रुममा नै प्रशिक्षकले कठिन हुने भन्दै ब्याटिङ गर्नका लागि तयार रहेर बस्नु भन्नुभएको थियो। सबल पक्ष ब्याटिङलाई सिद्ध गर्न भन्नुभएको थियो, म तयार पनि भएँ,’नेपालको जित निश्चित गरेका गुल्सनले भने, ‘एसिया कप हाम्रो सपना हो, जुन पूरा भएको छ।’

नेपालसामु सुरुवातमा कसिलो बलिङ गरेका युएईका रोहन मुस्तफाले २ र आयन अफ्जल खानले १ विकेट लिए। एसिया कपमा स्थान बनाएसँगै नेपालले आयोजक पाकिस्तान र भारतसम्मिलित समूहमा प्रतिस्पर्धा गर्र्नेछ। अर्को समूहमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

प्रकाशित: २० वैशाख २०८० ००:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App