२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मोरङसँग विभागीय टोली पुलिस क्लब स्तब्ध

बुढासुब्बा गोल्डकप:

नेपाल पुलिस क्लब (रातो जर्सी) र मोरङ फुटबल संघ (आकाशे निलो) का खेलाडीहरु।

पाँच पटकको विजेता नेपाल पुलिस क्लब धरानमा जारी २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा मोरङ फुटबल सङ्घसँग पराजित भएको छ।

धरान १६ स्थित रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा कमजोर ठानिएको मोरङसँग ३–० ले स्तब्ध बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा मोरङले विभागीय टोली पुलिसविरुद्ध ३ गोल गर्‍यो। दोस्रो हाफमा महेन्द्र कार्की, उमेश कार्की र सुशिल राईले गोल गरेपछि मोरङले सेमीफाइनलमा स्थान बनायो।

खेलको ७० औं सिमन लिम्बुको फ्रिकिक प्रहारमा महेन्द्र कार्कीले हेडमार्फत पहिलो गोल गरेका थिए। पुलिसका खेलाडीहरुले मार्क नगरेको स्थितिमा डिबक्सभित्रबाट उनले हेडमार्फत सहजै बललाई जाली चुमाए।

यस्तै, ७८ औं मिनेटमा पुलिसका मानबहादुर परियारले डिबक्सभित्र मोरङका खेलाडी मौषम लिम्बुलाई लडाएपछि रेफ्री मनिष अधिकारीले मोरङलाई पेनाल्टी अवसर दिएका थिए।

पेनाल्टीमा उमेश कार्कीले पेनाल्टीमार्फत गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाएका थिए। तेस्रो गोल शुशिल राईले इञ्जुरी समयमा गरेका थिए।

जितसँगै मोरङले बुधबार पहिलो सेमिफाइनलमा आयोजक धरानको चुनौती सामना गर्नुपर्नेछ। धरानले उद्घाटन खेलमा युकेएफसी भारतलाई सडन डेथमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ।

बुढासुब्बा गोल्डकपमा पाँच पटक विजेता र ६ पटक उपविजेता रहेको पुलिसको सोमबार अनपेक्षित हार व्यहोरेको हो। खेलमा पुलिसले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। पहिलो हाफको तेस्रो मिनेटमै सन्दिप धिमालको क्रस पासमा डिबक्सभित्रबाट प्रविण थापाले बाइसाइकल प्रहार गर्न खोजे पनि सफल भएनन्।

दोस्रो हाफको खेल सुरु भए लगत्तै ४७ औं मिनेटमा सञ्जय धिमालको पासमा सुजन मगरको प्रहार माथिल्लो बारमा ठोक्किनु पुलिसको दुर्भाग्य बन्यो।

यस्तै, ५४ औं मिनेटमा प्रविण थापाको कडा प्रहार क्रस बारमा ठोक्किएर रिबान्ड हुँदा उज्जल राईको प्रहार गोलकिपरले असफल बनाइदिए। ६१ औं मिनेटमा शिशिर चौधरीको पासमा सुजन मगरको हेडलाई पनि गोलकिपरले समाते।

इञ्जुरी समयमा मोरङका खेलाडीसँग झगडा गरेपछि रेफ्रीले पुलिसका हेमन्त श्रेष्ठलाई रेडकार्ड दिँदै मैदान बाहिर पठाएका थिए। त्यसपछि १० जना खेलाडीमा सीमित पुलिसमाथि मोरङले थप दबाब बनाएको थियो।

खेलमा मोरङले विपक्षीको गोलपोष्टमा धेरै आक्रमण बुन्न सकेन। तर पाएको अवसरमा भने गोल गर्‍यो। पहिलो हाफको ३१ औं मिनेटमा शशिल राईको कडा प्रहारलाई पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले पञ्च गरेका थिए भने ३९ औं मिनेटमा पनि सनिल खड्काको प्रहारलाई किपरले नै नियन्त्रणमा लिए। खेलको म्यान अफ दि म्याच मोरङका उमेश कार्की घोषित हुँदै नगद १० हजार, ट्रफी र टिसर्ट पुरस्कार हात पारे।

म्यान अफ दि म्याच मोरङ फुटबल संघका उमेश कार्की पुरस्कार ग्रहण गर्दै।  तस्बिर: रोहित/नागरिक

प्रतियोगितामा मंगलबार चर्च ब्वाइज युनाइटेड काठमाण्डौं र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच अन्तिम क्वार्टरफाइनल खेल हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ।

प्रकाशित: २८ फाल्गुन २०८० २०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App