१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

विराट गोल्डकप : भुटानसँग पुलिस क्लब स्तब्ध

विभागीय टोली त्रिभुवन आर्मी र एनआरटी भिड्दै आज

विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।

विराटनगरको सहिद रंगशालामा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको उद्घाटन खेलमा पाहुना टोली भुटानसामु पुलिस क्लब स्तब्ध हुँदै आफ्नो पुरानो साख जोगाउन सकेन। भुटानले पुलिसलाई ३–० गोल फरकमा पराजित गरेको हो।

विभागीय टोली पुलिसले तीनपटक महेन्द्र गोल्डकप र एकपटक विराट गोलल्डकपको उपाधि जितिसकेको छ। भुटानको थिम्पु ११ ले २०३१ सालमा गोल्डकपको उपाधि चुमेको थियो।

पाहुना टोलीको अगाडि पुलिसको प्रदर्शन फितलो देखिएको थियो। सुरुवातमा दुवै टोलीले एकअर्का खेलको रणनीति बुझ्दै गर्दा पुलिसको कमजोरी पहिल्याउँदै पहिलो हाफमा २ गोलले अग्रता लिएको भुटानले दोस्रो हाफमा दबाब सिर्जना गर्दै गोलका धेरै अवसर निकाले पनि थप एक गोल गर्न भने सफल भएको थियो।

खेलको ३६औं मिनेटमा भुटानका केल्जाङ जिग्मेले गरेको कर्नर प्रहार किन्लेले टच गर्दा गोलमा परिणत भयो। अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४०औं मिनेटमा मध्यभागबाट निकालेको पासमा किन्जाङले आकर्षक गोल गर्दै दोब्बर अग्रता बनाए। ६३औं मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई ट्याकल गरेको बल बक्सभित्रबाट प्रहार गर्दा गोलमा परिणत भयो।

पहिलो हाफमा दुई गोल फर्काउनुपर्ने दबाबमा रहेको पुलिस दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो तर पुलिसका खेलाडीले थुप्रै गोल गर्ने अवसर चुकाउनुपर्दा प्रतियोगितबाट बाहिरिनु पर्‍यो।

सातौं मिनटेमा पुलिसका सञ्जीव लामाको फ्रि किक प्रहार बाहिरियो। १७औं मिनेटमा उज्ज्वल राईको डिबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार बारमा लाग्दै बाहिरियो। ३१आंै मिनेटमा पुलिसका प्रवीण थापाले डिबक्सभित्रबाट गरेको कडा प्रहार बाहिरियो। ३७औं मिनेटमा पुलिसको शिशिर चौधरीले गरेको हेडिङ प्रहार फ्रेममा पर्न सकेन।

४०औं मिनेटमा भुटनाका किन्ले गेतसनको प्रहार पोस्ट माथिबाट गयो। ७०औं मिनेटमा पुलिसका अनुराग लामिछानेको कडा प्रहार बारमाथि लाग्दै बाहिरियो।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडी भएकाले खेल आफ्नो पक्षमा आउन नसकेको बताए। उनीहरुले प्रदर्शन रामै गरे पनि नतिजा निकाल्न सकेनन्। ‘ए’ डिभिजन लिगका लागि नयाँ खेलाडी तयारी रहेको र लिगका लागि यस्तो ठूलो प्रतियोगितामा खेल्दै ‘म्याच’ खेल्दै अनुभव बटुल्ने मौका र अवसर हो। यहाँपछि सिमरा गोल्डकप र कपिलवस्तु गोल्डपको तयारीमा लाग्ने घिमिरेले बताए।

भुटानका प्रशिक्षक उगेन दोर्जेलेले खेलाडीले राम्रो प्रदर्शन गरेका कारण जित हासिल हुन सकेको बताए। पहिलो हाफमा दुई गोल गर्ने अवसर सदुपयोग गरेका कारण हामीले सहज जित निकाल्न सकेका हौं, उनले भने।

खेलको केही समय नेपाली खेलको रणनीति बुझ्न र हाम्रा खेलाडीलाई प्राकृतिक मैदानमा सेट हुन समय लागेको बताउँदै प्रशिक्षक दोर्जेलेले भने, ‘मौसमले केही सहयोग पुग्यो। हामी नियमित प्रशिक्षण चिसोमा गर्ने भएकाले पनि यहाँको तामक्रममा केही फरक परेको छ। पहिलो हाफमा २ गोलले अग्रता लिएपछि दोस्रो हाफमा दबाबमा राख्दै जित निकाल्यौं। भुटानबाट बुधबार बेलुका मात्रै यहाँ आइपुगेका हौं। नेपाल प्रवेश गर्ने क्रममा हामीले केही दुःख पायौं।’

प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङले ११ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रकाशित: १६ चैत्र २०८० १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App