२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल ‘ए’ का ब्याटर फेरि ‘फ्लप’: ११४ रनको लज्जास्पद हार

आयरल्यान्ड वुल्भ्ससँगको दोस्रो एकदिवसीय क्रिकेटमा पनि ब्याटरले निराशाजनक  प्रदर्शन गर्दा नेपाल ‘ए’ले लज्जास्पद् हार व्यहारेको छ।

बुधबार सम्पन्न पहिलो एकदिवसीय खेलमा पनि बलरले गरेको उत्कृष्ट प्रदर्शनमा घरेलु टोलीका ब्याटरले बिर्सनलायक प्रदर्शन गरेका थिए।

नेपाली बलरको उत्कृष्ट प्रदर्शन गर्दा सिंगो आइरिस टोली ३८ ओभर ३ बलमै १५७ रनमा धरासायी बनेको थियो। तर नेपाली ब्याटर आइरिस बलरसामू २५ ओभर ३ बलमै घुडा टेकेर १३६ रनमा अलआउट भएका थिए। जसमा घरेलु टोलीले २१ रनको हार ब्यहोरेको थियो।

सोही दृश्य शुक्रबारको खेलमा पनि दोहोरिएको छ। नेपाली बलरले आइरिस टोलीलाई १७४ रनमा रोकेपनि ब्याटरले झन् खराब प्रदर्शन दोहो¥याए। जम्मा ६० रनमै नेपालको सिंगो टोली अलआउट हुँदै ११४ रनको लज्जास्पद् हार ब्यहोरेको छ।

शुक्रबारको खेलमा नेपाली कप्तान विनोद भण्डारीले सुरुमा टस जितेर फिल्डिङ रोजेका थिए। जसमा नेपाली बलरहरू उत्कृष्ट बलिङ गर्दै ३८ ओभर ४ बलमै आइरिस टोलीलाई अलआउट गरेका थिए।

जसमा नेपाली बलर रिजन ढकाल र शाहब आलमले ३/३, मौसम ढकालले २ र कमलसिँह ऐरीले एक विकेट लिएका थिए। आइरिस टोलीका गेभिन होएले ५०, कप्तान नेल रकले ४५ र लियम म्याकार्थीले ३५ रन जोडेका थिए।

१७५ रनको जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोली आइरिस बलरसामू १७ ओभर पनि टिकेन। १६ ओभर ५ बलमै ६० रनमै अलआउट हुनपुग्यो। नेपाली टोलीका तर्फबाट भीम सार्कीले १७ र कप्तान भण्डारीले जोडेको १६ रनको योगदान नै ठूलो अंक रह्यो।

नेपाली टोलीलाई लज्जाजनक स्कोरमा रोक्न आइरिस बलरहरू म्याथ्यु हम्फ्रेजले ६, फिवन ह्यान्ड र थोमस मायजले २/२ विकेट लिए।

सिरिजको अन्तिम खेल अब आइतबार हुनेछ। उक्त खेल अगावै आइरिस टोलीले सिरिज जितेको छ। यसअघि तीन खेलेको टि–२० सिरिज पनि आइरिस टोलीले कब्जा जमाएको थियो। 

प्रकाशित: २३ चैत्र २०८० १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App