२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सहाना स्मृति हक्की शनिबारदेखि

छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ। नेपाल हक्की संघको आयोजनामा पाँचदिने प्रतियोगिता धुलिखेलमा हुने भएको हो। प्रतियोगिताका खेलहरू धुलिखेल खेलकुद मैदानमा हुने तय छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले प्रतियोगिताबारे जानकारी दिँदै धुलिखेलमा हक्की रंगशाला निर्माणका प्रक्रिया पनि अगाडि बढेको दाबी गरेको छ।

संघकी महासचिव सुवर्ण श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको हक्की रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी दिइन्। सोही मैदानमा हुने महिला राष्ट्रिय प्रतियोगितामा भने एक विभागीसहित सात प्रदेशका टोलीले चुनौती प्रस्तुत गर्ने भएका छन्।

प्रतियोगितामा त्रिभुवन आर्मीसहित बाग्मती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल हुने बताए।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। प्लेअर अफ द म्याचलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ।

विधागत उत्कृष्टअन्तर्गत डिफेन्डर, गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडी समान १० हजार नगदबाट पुरस्कृत हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन्। धुलिखेल नगरपालिका–१२ मा रहेको खेलमैदान उपलब्ध भएको हो।

धुलिखेल नगरपालिकाले रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि हक्की सघंलाई दिएको महासचिव श्रेष्ठले उल्लेख गरिन्। प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशले उक्त रंगशालाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको र त्यो अन्तिम चरणमा पुगेको संघको दाबी छ।

संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकुल परिस्कृत गर्दै लाने उल्लेख गर्दै प्रतियोगिताका दौरान एसियन हक्की महासंघको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि धुलिखेलमा नै सञ्चालन गर्ने भएको छ।

प्रकाशित: ११ वैशाख २०८१ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App