२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रेकर्ड राजा

छक्का ! छक्का ! छक्का ! छक्का ! छक्का ! फेरि अर्को छक्का ! 

अघिल्लो शनिबार कतारविरुद्ध नेपालका अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीले नयाँ वर्षको पहिलो दिन एकै ओभरमा छ छक्का प्रहार गर्दे संसारलाई छक्क पारे।

एकै ओभरमा छ छक्का प्रहार गर्ने उनी पहिलो खेलाडी होइनन्। दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा छ छक्का प्रहार गर्ने पाँचौँ खेलाडी हुन्। तर क्रिकेट आकाशमा उदाउँदै गरेको नेपाली टिमका यी स्टार खेलाडीले छक्काको बलमा संसारका क्रिकेट महारथीलाई नै छक्क पार्न सफल बने।

त्यसैले होला दक्षिण अफ्रिकाका चर्चित खेलाडी हर्र्सल गिब्सले दीपेन्द्रलाई बधाई दिए। गिब्सले दीपेन्द्रले रेकर्ड बनाएको भोलिपल्ट आइतबार क्रिकेट कमेन्टेटर एन्ड्य्रु लियोनार्डले आफ्नो सामाजिक सन्जालमा हालेको दीपेन्द्रसिंह ऐरीको भिडियोलाई सेयर गर्दै बधाई दिएका हुन्। उनले भिडियो सेयर गर्दै लेखेका छन्, ‘वेलकम योङ म्यान।’ गिब्सले सन् २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सका डान भान बुगीलाई एकै ओभरमा  छ छक्का हिर्काएका थिए।

नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि अन्तर्राष्ट्रिय टी–२० खेलमा युवराज सिंह र किरोन पोलार्डको नाममा रहेको कीर्तिमानको पनि बराबरी गरे। यससँगै दीपेन्द्र अन्तर्राष्ट्रिय टी–२० खेलमा एकै ओभरमा छ छक्का हान्ने पहिलो नेपाली र विश्वकै तेस्रो खेलाडी बनेका छन्।

पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए। उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरे। उनले उक्त खेलमा विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ६४ रन बनाए। जुन खेलमा नेपाली विजयी बन्यो। उनको छक्काको गुञ्जन आइपिएलको कमेन्ट्रीमा समेत सुनिएको थियो।

दीपेन्द्रको यो उत्कृष्ट खेल नेपालमा मात्र होइन संसारका अन्य देशमा पनि चर्चामा रह्यो। छिमेकी मुलुक भारतका त अधिकांश मिडियाले प्राथमिकताका साथ यो समाचार छापेका छन्।

त्यहाँका प्रतिष्ठित अनलाइन तथा पत्रपत्रिकाले भारतीय खेलाडी युवराज सिंहसँग तुलना गर्दे ऐरीलाई बधाई दिए। ‘एउटा खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा युवराज सिंहको जस्तै कमाल गर्दे आएका छन्,’ भारतीय पत्रिकामा लेखिएको छ, ‘त्यो कोही अरू हैन, नेपालका स्टार बल्लेबाज दीपेन्द्रसिंह ऐरी हुन्।’

अन्य पत्रपत्रिकामा पनि दीपेन्द्रले एक अभोरमा छ छक्का प्रहार गरेर इतिहास रचेको भन्दै खुलेर तारिफ गरेका छन्। उनीहरूलाई दीपेन्द्रलाई युवराज सिंहसँग तुलना किन पनि गरे भने ऐरीले दीपेन्द्रको एक रेकर्ड तोडेका छन् भने अर्को रेकर्डको बराबरी गरेका छन्।

यसअघि एसिया कपमा दीपेन्द्रले मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार छ छक्का हानेका थिए। उक्त खेलमा नौ बलमा हाफ सेन्चुरी बनाएर संसारलाई छक्क पारेका थिए। भारतका चर्चित खेलाडी युवराज सिंहले १२ बलमा बनाएको अर्धसतकको रेकर्ड मात्र तोडेनन् बरु अर्को तोड्न नसकिने एउटा ‘नतोडिने रेकर्ड’ पनि दीपेन्द्रकै नाममा छ।

‘वैसे तो रेकर्ड तोड्ने के लिए बनते है,’ मंगोलियाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा ५० रन बनाएपछि आलोक आनन्दले सामाजिक सन्जालमा लेखेका थिए, ‘लेकिन यह रेकर्ड टुट्ने के लिए नहीँ बना है।’

चीनको हानझाउस्थित झेजियाङ युनिभर्सिटी क्रिकेट मैदानमा मंगोलियाविरुद्ध ऐरीले नौ बलमा अर्धशतक पूरा गर्दै ट्वान्टी–२० मा सबैभन्दा छिटो अर्धशतक बनाएका हुन्। उनको यो रेकर्डले संसारभरका क्रिकेटप्रेमीलाई अझै आश्चर्यमा पारिरहेको छ। नौ बलमा उनले बनाएको अर्धशतक सोझो हिसाबमा कहिल्यै तोडिने छैन। सबैलाई थाहा छ, सोझो आठ बलमा त ४८ भन्दा बढी बन्न सक्दैन।

क्रिकेटमा धेरै कुरा सम्भव छ। तर त्यही क्रिकेटमा केही रेकर्डचाहिँ असम्भव जस्तै मानिन्छ विगतका खेलका आधारमा। जस्तो यसअघि भारतका पूर्वब्याट्सम्यान युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतकको कीर्तिमान। असम्भवजस्तै मानिएको सन् २००७ मा कायम भएको उक्त कीर्तिमान १६ वर्षसम्म अटुट रह्यो तर रेकर्ड तोडिनैका लागि बन्छ भनेजस्तै सिंहको ‘राजा रेकर्ड’ दीपेन्द्रले तोडिदिए।

नेपालका खेलाडी ऐरीले नौ बलमा बनाएको अर्ध शतकचाहिँ अब तोडिन नसक्ने धेरैको अनुमान छ। यसको केही कारण पनि छ। केही अपवादबाहेक कसैले आठवटै बलमा छक्काछक्का हाने पनि ५० रन बनाउन सक्दैन, ४८ मात्र बन्छ। नौ बल खेले लगत्तै त्यो रेकर्ड ऐरीको बराबरीको हुन्छ। तसर्थ सम्भवतः तोडिँदैन। ‘जसले जतिसुकै छक्का प्रहार गरे पनि आठ बलमा अर्धशतक बन्दैन,’ सामाजिक सन्जालमा अमित जयसवाल लेख्छन्, ‘नौ बल खेलेपछि बराबरी होला तर तोडिन मुस्किल पर्छ।’

क्रिकेटका नो बललगायतका अन्य नियमले उक्त रेकर्ड तोडिन सक्ला–नसक्ला तर सीधा हिसाबमा कहिल्यै नतोडिने उनी बताउँछन्।

छिमेकी मुलुक भारतका मिडियामा त यो रेकर्डले निकै स्थान पायोे। क्रिकेटमा नेपालको नाम मुस्किलले लिइने भारतीय मिडियाका खेल पृष्ठ नेपाली खेलाडीले बनाएका रेकर्डका समाचारले भरिए। कतिपयले मङ्गोलिया कमजोर देश भएकाले नेपालले रेकर्ड बनाउन पाएकोसमेत लेखे। धेरैले नेपाली टोलीले निकै राम्रो प्रदर्शन गरेको लेखे। ‘सानो बच्चासँग खेले पनि त्यति धेरै छक्का र त्यति धेरै रन बनाउन मुस्किल पर्छ,’ भारतीय पत्रकार शुभंकर मिश्र भन्छन्, ‘कमजोर टिमभन्दा पनि उत्कृष्ट नतिजा स्वागतयोग्य छ।’

भारतका चर्चित क्रिकेट कमेन्टेटरले हर्ष भोगलेले अस्ट्रेलिया र भारतबीचको खेलको कमेन्ट्री गरिरहेको समयमा नेपालको कीर्तिमानी रेकर्डबारे पनि चर्चा गरेका थिए। ‘नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा ५० रन बनाए,’ उनले भने, ‘१२ बलमा ५० रन बनाएका युवराज सिंहले पनि यो थाहा पाएर गर्व गरे होलान्।’

ब्याटिङमा अब्बल उनी छक्काको भरमा मात्र हैन, बलिङ र फिल्डिङमा पनि सानदार प्रदर्शनसहित उत्कृष्ट अलराउन्डर बन्दै संसारलाई छक्क बनाउन सफल छन्। उनको खेलसँगै उनको स्तर पनि निकै माथि उकासिएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० को नयाँ वरीयतामा अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन्। त्यसै गरी ब्याटिङतर्फको विश्व वरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्।

हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका दिपेन्द्रसँग क्रिकेटको आकाशमा चम्कन सक्ने क्षमता अझै धेरै छ। क्रिकेटको माध्यमबाट नेपाललाई संसारमा चिनाउन सफल रहेका दीपेन्द्रलाई उनको उत्कृष्ट खेलका कारण संसारबाट बधाईको ओइरो आइरहेको छ।

सन् २००० मा जन्मेका क्रिकेटका यी २४ वर्षीय नायकलाई आगामी दिनमा अनेकौँ रेकर्ड कायम गर्दै नेपाललाई संसारमा चिनाउन् भन्ने शुभकामना र बधाई !

प्रकाशित: ११ वैशाख २०८१ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App